Comments Add Comment

गृहमन्त्रीसामू विष खान खोज्ने पूर्वलडाकूको अवस्था कस्तो छ ?

७ मंसिर, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सामुन्ने विष सेवनको प्रयास गरेका पूर्वमाओवादी लडाकू कुलप्रसाद भट्टराईको नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।

आईसीयूमा उपचाररत उनले अस्पतालमै अनसन सुरु गरेका छन् । भट्टराईले विभिन्न माग राखी त्यहीँ अनसन सुरु गरेका हुन् ।

भट्टराईका कुरुवा तथा द्वन्द्व पीडित नरवीर दमाईले शुक्रबार बिहानदेखि उनले केही नखाएको जानकारी दिए । ‘बिहान चिकित्सकहरुले सुप खुवाउँदा हुन्छ भनेपछि मलाई सुप लिएर भित्र जान दिइएको थियो’, नरवीरले अनलाइनखबरसँग भने, ‘तर, उहाँले खान मान्नु भएन । माग पूरा नहुञ्जेल अनशन बस्छु भन्नु भयो ।’

के भएको थियो गृहमन्त्रालयमा ?

पूर्वलडाकू भट्टराईसहित केही द्वन्द्वपीडित शुक्रबार गृहमन्त्री बादललाई भेट्न सिंहदरबार पुगेका थिए । त्यसअघि पनि पटकपटक गृहमन्त्रीसँग भेटेर आफूहरुको स्वास्थ्य उपचारको दीर्घकालिन व्यवस्थापन गरिदिन उनीहरुले माग राख्दै आएका थिए ।

दशैंअघि नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयसँग भेटेरै पनि उनीहरुले आफ्नो समस्या राखेका थिए । शुक्रबार भट्टराई गृहमन्त्रीलाई भेट्न सिंहदरबारस्थित उनको कार्यकक्षमा पुगे । जानुअघि उनले थोरै विष सेवन गरेको पाइएको छ ।

बादललाई भेट्ने बित्तिकै उनले औषधि गर्दागर्दै आफू ऋणमा डुबिसकेको तर, निको हुन नसकेको सुनाए । लरबराउँदो स्वरमा गुनासो गर्दागर्दै उनले एक्कासी भने, ‘औषधि किन्ने पैसा पनि बाँकी छैन । अब बाँचेर के अर्थ ?’ त्यति भन्नासाथ उनले गोजीमा रहेको विष निकालेर मुखमा हाल्ने प्रयास गरे ।

तर, त्यो देख्ने वित्तिकै नजिकै रहेका सशस्त्र प्रहरीका अधिकारीले उनलाई रोके । त्यसपछि उनलाई घिस्याउँदै बाहिर निकालियो र वीर हस्पिटल लगियो । उनले तरकारीमा हालिने विषादी बोकेका थिए । विषादी कम घातक भएकाले उनलाई पूर्ण असर गरिसकेको थिएन ।

यस्तो छ माग

नरविर दमार्इ ।

जनयुद्धमा घाइते बनेकाहरुले ‘जनयुद्ध तथा जनआन्दोलन घाइते व्यवस्थापन सरोकार समिति’ नाममा संगठन बनाएका छन् । समितिले ३ बुँदे माग राखेको छ । नरविर भन्छन्, ‘पहिलो कुरा त हाम्रो समस्याको दीर्घकालिन व्यवस्थापन हुनु पर्‍यो । दोस्रो, जीवन निर्वाह भत्ता वृद्धि गराइदिनु पर्छ । तेस्रो, उपचार पूर्णतः निःशुल्क हुनुपर्छ ।’

‘हामीले बालुवाटार गएर प्रधानमन्त्रीलाई भेटनौं कि मन्त्रीलाई भेटेनौं कि’, उनले भावुक हुँदै भने, ‘सबैलाई हाम्रो समस्या थाहा छ । तर, उहाँहरु मौन हुनुहुन्छ ।’

हाल स्वास्थ्य मन्त्रालयबाट सिफारिस लिएपछि वीर हस्पिटलमा द्वन्द्व पीडितहरुले निःशुल्क उपचार पाइरहेका छन् । ‘तर, यसका लागि काठमाडौंमा बस्नु पर्‍यो । खानु पर्‍यो । फार्मेसीबाट हरेक औषधि खरिद गर्नु पर्छ । कसरी सक्नु ?’ उनी प्रश्न गर्छन् ।

गृहमन्त्रालयले आवश्यक पहल नगर्दा आफूहरुको अवस्था फेरिन नसकेको उनको गुनासो थियो । हाल २०० जना द्वन्द्व पीडितको राजधानीमा उपचार भइरहेको छ तर, उनीहरुमध्ये अधिकांश जग्गा, घर धितो राखेर उपचार गरिरहेको दमाई बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment