Comments Add Comment

विराटनगरबाट माउन्टेन फ्लाइट सुरु, ९ हजार ९ सयमा यात्रा गर्न पाइने

८ मंसिर, विराटनगर । आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गर्दै विराटनगरबाट व्यावसायीक रुपमा पर्वतीय उडान (माउन्टेन फ्लाइट) सुरु भएको छ । प्रदेश नं. १ को अस्थायी राजधानी विराटनगरबाट निजी क्षेत्रको पहलमा पहिलो पटक व्यावसायीक माउन्टेन फ्लाइट सुरु गरिएको हो ।

विराटनगरका पर्यटन व्यवसायीहरुको पहलमा शनिबारबाट शुरु गरिएको माउन्टेन फ्लाइटमा प्रदेश नं. एकका मुख्यमन्त्री शेरधन राईसहित मन्त्रीहरु, प्रदेश सरकारका प्रमुख सचिव, त्यसैगरी विभिन्न मन्त्रालयका सचिवहरु, पर्यटन व्यवसायीसहितको टोलीले प्रदेश १ मा रहेका सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मकालु आदि हिमशिखरहरु अवलोकन गरेका छन् ।

यति एयरलाइन्सको सीआरजे जेट स्ट्रिमको २३ सिटे विमानले माउन्टेन फ्लाइट गरिएको थियो । विशेषगरी भारत र बंगलादेशका पर्यटकसमेतलाई लक्षित गरी काठमाडौंभन्दा सस्तो दरमा माउन्टेन फ्लाइटको साप्ताहिक उडान गर्ने योजना छ । पर्यटन व्यवसायीहरु आवद्ध ‘विराट होलिडेज’ नामक संस्थाको पहलमा विराटनगर विमानस्थलबाट चार्टर्ड विमानमार्फत हप्ताको एक दिन शनिबार माउन्टेन फ्लाइट गराइने छ ।

विराट होलिडेजका अध्यक्ष भविषकुमार श्रेष्ठका अनुसार साप्ताहिकरुपमा गरिने माउन्टेन फ्लाइटका लागि यति एयरलाइन्ससँग साझेदारी गरिएको छ । कुल ५५ मिनेटको उडान अवधि रहेको माउन्टेन फ्लाइटका लागि यति एयरलाइन्सलाई प्रतिउडान १ लाख ८० हजार दिने सहमति भएको छ ।

विराटनगर ट्राभल्स एसोसियसनका अध्यक्ष फडिन्द्र अधिकारीका अनुसार यात्रुले ९ हजार ९ सय रुपैयाँमा विराटनगरबाट माउन्टेन फ्लाइट गर्न पाउनेछन् । त्यसमा प्रदेश १ भित्र पर्ने आठ हजार मिटरमाथिका हिमश्रृंखला अवलोकन गर्न पाइने छ । प्रदेश १ मा रहेका सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, कञ्चनजंघा, मकालु आदि हिमशिखरहरु सहजै अवलोकन गर्न सकिन्छ ।

विराटनगरबाट शुरु भएको माउन्टेन फ्लाइट काठमाडौंबाट हुनेभन्दा सस्तो हो । काठमाडौंबाट माउन्टेन फ्लाइटका लागि प्रति यात्रु ११ हजार ६३५ रुपैयाँ तिर्नुपर्छ ।

समृद्धिमा सहयोग पुग्ने विश्वास

विराटनगरबाट माउन्टेन फ्लाइटको उडानमा सरिक भएपछि मुख्यमन्त्री शेरधन राईले प्रदेशको बिकासका लागि पर्यटन क्षेत्र महत्वपूर्ण रहेको बताए । उनले वाह्य र आन्तरिक पर्यटक भित्राउन विराटनगरबाट शुरु भएको माउन्टेन फ्लाइट कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।

प्रदेशभित्र रहेका पर्यटन क्षेत्रको प्रवद्र्धन र बिकास गरी त्यसबाट प्रदेशलाई समृद्धिको यात्रामा अघि बढ्न पनि सहयोग पुग्ने उनले जानकारी दिए । निजी क्षेत्रको सहयोगमा प्रदेशको बिकास गर्न सरकारले चाहेको बताउँदै उनले प्रदेश सरकारको बिकासको योजनालाई साझा बनाएर अघि बढ्न आवश्यक रहेकोमा जोड समेत दिए ।

मुख्यमन्त्री राईले भने, ‘प्रदेशमा धेरै पर्यटक लोभ्याउने पर्यटकीय स्थल र गन्तव्य रहेका छन्, त्यसको विकास र प्रवद्र्धन गर्न सरकार लाग्नेछ, पर्यटन बिकासको माध्यमबाट सरकार यस प्रदेशसको समृद्धिको बाटोमा अघि बढ्ने छ ।’

उनले शनिबारबाट शुरु भएको माउन्टेन फ्लाइटको उडान अब कुनै पनि अवस्थामा नरोकिने र यसलाई नियमित गर्नका लागि प्रदेश सरकारले सम्बन्धित एयरलाइन्स कम्पनीसँग पनि कुरा गर्ने आश्वासनसमेत दिए ।

नियमित गर्न चुनौती

कार्यक्रममा विराटनगर ट्राभल्स एसोसियसनका अध्यक्ष फडिन्द्र अधिकारीले विराटनगरबाट माउन्टेन फ्लाइटको उडानलाई व्यवसायीक रुपमा नियमित गर्न चुनौती रहेको बताए । उनले आन्तरिक पर्यटनको भरमा मात्र उडानलाई नियमित गर्न सम्भाव नहुने भन्दै वाह्य पर्यटक आकर्षित गर्न प्रदेश सरकारको तर्फबाट आवश्यक नीतिका साथै यसको मार्केटिङका लागि सहयोग आवश्यक रहेको बताए ।

विराटनगर ट्राभल्स एसोसियसनका महासचिव भागवत नेपालका अनुसार शनिवारबाट शुरु गरिएको माउन्टेन फ्लाइटका तीनवटा उडानका लागि अग्रिम बुकिङ भइसकेको जानकारी दिए । उनले यात्रुको चापलाई हेरेर साप्ताहिक रुपमा शनिबारमात्र गरिने माउन्टेन फ्लाइटलाई शुक्रबार पनि गर्ने योजना रहेको बताए ।

महासचिव नेपालले विराटनगरबाट लुक्लाका लागि सीधा उडान नहुँदा समस्या भएकाले विराटनगरबाट लुक्लाको उडान भएको खण्डमा वाह्य पर्यटक भित्राउन सहज हुने जानकारी दिए । माउन्टेन फ्लाइट नियमित गर्न भारतको सिक्किम, बंगाल र विहार तथा बंगलादेशका पर्यटकलाई सम्पर्कमा ल्याउन त्यहिँको ट्राभल्स एशोसिएसनसँग कुरा गरिएको छ ।

प्रदेश १ मामात्रै अहिले १४ वटा विमानस्थल छन् । जसमध्ये लुक्काका लागि मात्रै सरकारले उडान अनुमति दिएमा विराटनगरबाट दैनिक पाँचवटा माउन्टेन फ्लाइट हुनसक्ने व्यवसायीहरुको अनुमान छ । काठमाडौं–लुक्लाका लागि अहिले दैनिक ५० उडान हुने गरेपनि अझै अभाव देखिँदै आएको व्यवसायीहरु बताउँछन् ।

पहिलो चरणमा भारतका बिहार, बंगाल र सिक्किमका ट्राभल्स एशोसिएशनमार्फत त्यहाँका पर्यटक भित्र्याउन सम्पर्क गरिसकिएको र बारम्बार उडान हुने अवस्थाले क्रमशः यात्रु पूर्ति हुने आशा राखिएको छ ।

प्रदेश सरकार गठन भए पश्चात प्रदेश १ सरकारले समेत विराटनगरबाट माउन्टेन फ्लाइटको सम्भावना रहेको बताउँदै पहल गरेको थियो । तर, लामो समय हुँदासम्म केही नभएपछि व्यवसायीहरुले चार्टरमा माउन्टेन फ्लाइटको सुरुवातसँगै चुनौति लिएकोे विराट होलिडेजका अध्यक्ष श्रेष्ठले बताए ।

२०७३ सालमा एउटा माउण्टेन फ्लाइट विराटनगरबाट गराइएको थियो । उद्योग संगठन मोरङले त्यसबेला आयोजना गरेको विराट एक्स्पोको समयमा पर्यटन व्यवसायीले माउन्टेन फ्लाइट गराएको थियो । त्यसयता माउन्टेन फ्लाइट नियमित हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment