Comments Add Comment

पूर्वप्रधानमन्त्री वाजपेयीकी छोरीद्वारा सरकारी सुविधा त्याग

९ मंसिर, काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री एवम् भाजपाका दिवंगत नेता अटलविहारी वाजपेयीकी धर्मपुत्री नमिता भट्टाचार्यले सरकारी सुविधा फिर्ता गरिदिन सरकारलाई आग्रह गरेकी छिन् । उनले प्रधानमन्त्री कार्यालयमा पत्र लेखेर सरकारले दिएका सबै सुविधा फिर्ता गरिदिन आग्रह गरेकी हुन् ।

उनले पत्रमा आफ्नो परिवार खर्च पुर्‍याउन सक्ने क्षमतामा रहेकाले सरकारी सेवा सुविधा आवश्यक नरहेको उल्लेख गरेको भारतीय समाचार च्यानल एबीपीले जनाएको छ । नमिताले सेवा सुविधा लिएर सरकारलाई भार पार्न नचाहेको बताएकी छन् ।

पत्रमार्फत् उनले कृष्ण मेनन मार्गको सरकारी आवास छाडेर निजी घरमा सर्न चाहेको बताएकी छन् । उनले सुरक्षामा खटिएको टोली पनि फिर्ता गरिदिन सरकारलाई भनेकी छन् ।

भारतमा पूर्वप्रधानमन्त्रीको परिवारलाई बिभिन्न प्रकारका सेवा सुविधा छ, जसमा सुरक्षा पनि सामेल छ । त्यसबाहेक पूर्वप्रधानमन्त्रीको परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य उपचार, सरकारी कर्मचारी, घरेलु विमान टिकट, रेलमा निःशुल्क यात्रा गर्न पाउने सुविधा छ ।

वाजपेयीको परिवारमा धर्मपुत्री नमिता भट्टाचार्य, ज्वाइँ रन्जन भट्टाचार्य र नातीनी निहारिकासहित अन्य केही सदस्यहरु पनि छन् ।

भारतका पूर्वप्रधानमन्त्रीको परिवारलाई आजीवन सेवासुविधा दिने निर्णय वाजपेयी नेतृत्वको सरकारले नै गरेको थियो ।

तीन पटक भारतका प्रधानमन्त्री बनेका वाजपेयीको निधन गत साउन अन्तिम साता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment