Comments Add Comment

‘महिलाद्वारा नै महिलामाथि हिंसा’

९ मंसिर, डोटी । दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले महिलाहरुले नै महिलामाथी हिंसा गर्ने गरेको बताएकी छन् ।

‘सासुले बुहारीमाथी, बुहारीले सासुमाथि, सौताले सौतामाथि, नन्दले भाउजुमाथि, भाउजुले नन्दमाथि हिंसा गरिरहेका छन्,’ नगर प्रमुख मलासीले भनिन्, ‘महिला हिंसाका घटना न्यून गर्नका लागि महिलाहरुलाई सचेत गराउन जरुरी रहेको छ ।’

उनले आफू नगरपालिकाको प्रमुख भएर आएपछि नगरपालिकाको न्यायिक समितिमा लैङ्गकि हिंसा सम्बन्धी ४१ उजुरी गरेको जानकारी गराइन् । लैङ्गकि हिंसामा परेका उजुरीहरुमा अधिकांश महिलाले महिलामाथि हिंसा गरेको आरोप रहेको मलासीले जानकारी दिइन् । ‘न्यायिक समितिमा परेका उजुरीहरुमध्ये २० जति किनारा लागेका छन्,’ मलासीले भनिन्, ‘महिला-महिलाबीच भएका हिंसाका घटनाका उजुरीहरु किनारा लगाउन पनि समस्या भएको छ ।’

लैङ्गकि हिंसा बिरुद्धको १६ दिने अभियानको पहिलो दिनको अवसर पारी अखिल नेपाल महिला संघ डोटीले आयोजना गरेको ‘महिला हिंसा र न्यूनिकरणका उपाय’ बिषयक बहस कार्यक्रममा बोल्दै नगर प्रमुख मलासीले महिलाहरुलाई सचेत गराउनका लागि आफूले प्रत्येक वडामा अन्तरक्रिया कार्यक्रम गर्ने सोच वनाएको बताइन् । उनले थपिन्, ‘वडास्तरमा अन्तरक्रिया भइसकेपछि हिंसा पीडित महिलाहरु र सम्बन्धित सरोकारवालाहरुबीच नगरस्तरीय खुला बहस चलाउनेछौं ।’

कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रीय सचिव एवं पूर्व संबिधानसभा सदस्य गौरी ओलीले संबिधान र अन्य कानूनहरुमा महिलामाथि हुने भेद्भाव अन्त्य गर्ने व्यवस्था गरेको बताउँदै बनेका कानूनहरुको प्रभावकारी कार्यान्वयन हुनु पर्नेमा जोड दिइन् । ‘कानून त हामीले बनाएका छौं तर त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेन भने कुनै अर्थ हुँदो रहेनछ,’ ओलीले भनिन्, ‘त्यसकारण कानूनको प्रभावकारी कार्यान्वयनका लागि दवाव दिनु आजको आवश्यकता हो ।’

नेपाल महिला संघकी केन्द्रीय सदस्य प्रशिस महराले महिलामाथी हुने हिंसा रोक्नका लागि महिलाहरुलाई आत्मनिर्भर बनाउनु पर्ने बताइन् । ‘जबसम्म महिलाहरु आफ्ना सामान्य आवश्यकताहरुका लागि पनि पुरुषमा भर पर्नु पर्ने अवस्था रहन्छ तवसम्म महिला हिंसाका घटनाहरुमा कमी आउन गार्‍हो छ,’ महराले भनिन्, ‘त्यसैले महिलाहरुलाई उत्पादनमुलक क्षेत्रमा जोड्नु जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment