Comments Add Comment

घान्द्रुकदेखि पुनहिलसम्मकाे पदयात्रा मार्गमा सराेकारवालाकाे चासाे

१० मंसिर, काठमाडाैं । कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थान हुँदै म्याग्दी जिल्लाको पुनहिलसम्मको पदयात्रा मार्गको प्रवद्र्धन र संरक्षणमा यस क्षेत्रका सरोकारवालाले चासो देखाएका छन् ।

जथाभावी बाटो खन्ने क्रमसँगै पदयात्रा मार्ग छोटिँदै गएको वास्तविकतामा गाउँपालिका, नेपाल पर्यटन बोर्डजस्ता सरोकारवाला निकायले यसको प्रवद्र्धन र विकासमा चासो दिएका हुन् ।

अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकबाट टाडापानी, घोरेपानी हुँदै म्याग्दीको पुनहिल पुगिन्छ । हरिया जङ्गलको बीचबाट चाँदीजस्तै टलक्क टल्कने हिमाल हेर्दै पदयात्रा गर्न सकिनु यस मार्गको विशेषता भएको अन्नपूर्ण गाउँपालिका प्रमुख युवराज कुँवरले बताए ।

यो पदयात्रा मार्गमा आउने पर्यटक पोखराबाट नयाँपुल–वीरेठाँटी, घान्द्रुकबाट घोरपानी हुँदै पुनहिल पुग्छन् भने अर्कोबाटो उल्लेरी–तिखेढुङ्गा–घोरेपानी हुँदै पुनहिल पुग्दछन् ।

हिमाली दृश्यावलोकनसहित गुरुङ र मगर संस्कृति नियाल्दै पदयात्रा गर्न सकिने यस मार्गमा पर्यटकले तीनदेखि चार दिन बिताउने गरेको पाइन्छ ।

पर्यटकको बढ्दो आकर्षणलाई दृष्टिगत गरी गाउँपालिकाले पदयात्रा मार्गको स्तरोन्नति, होटल व्यवस्थापनलगायतका विषयलाई प्राथमिकतामा राखी अघि बढेको कुँवरले जानकारी दिए ।

तीन दिनको पदयात्रा गरिने यस मार्गको अन्तिम गन्तव्य पुनहिल हो । समुद्री सतहबाट तीन हजार २१० मिटर उचाइमा रहेको यस स्थानबाट आँखाले अन्नपूर्ण, धौलागिरि हिमाल नियाल्न सकिन्छ ।

त्यस्तै यहाँबाट बाह्रपिकअन्तर्गत पर्ने नीलगिरि अन्नपूर्ण प्रथम आकर्षक देखिन्छ । यहाँबाट सबैभन्दा नजिकै देखिने ठूलो हिमाल अन्नपूर्ण साउथ हो भने हिउँचुली, माछापुच्छ्रे हिमाल पनि यहाँबाट देखिन्छ ।

पछिल्ला वर्षमा विदेशी मात्र नभई नेपाली युवामा पनि पदयात्राप्रति आकर्षण बढेको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले बताए ।

उनका अनुसार पदयात्रा पर्यटनमा बढिरहेको आकर्षणलाई दृष्टिगत गरी बोर्डले विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम अघि बढाएको छ ।

पदयात्रा मार्गको अवस्था एवं त्यहाँ पर्यटकले पाएका सेवा सुविधालगायतका विषयमा अध्ययन अनुसन्धान गर्ने गरी घान्द्रुक–टाडापानी–घोरेपानी हुँदै पुनहिलसम्म आजैदेखि बोर्डका प्रतिनिधिसहित सञ्चारकर्मीको अध्ययन भ्रमण गराउन लागिएको उनले जानकारी दिए ।

विश्वको प्रख्यात पर्यटक लोन्ली प्लानेटले नेपालमा घुम्नै पर्ने १० पर्यटकीय गन्तव्यका रुपमा घान्द्रुक–घोरेपानी–पुनहिललाई सूचीकृत गरेसँगै पछिल्ला समयमा अत्यधिक पर्यटक यस मार्गमा पुग्ने गरेका छन् ।

यस वर्षको दशैँपछि दैनिक ठूलो सङ्ख्यामा पर्यटक यस पदयात्रा मार्गमा पुग्ने गरेको जनाइएको छ । स्वदेशी पर्यटकका साथै चीन, मलेसिया, बेल्जियम, इटाली, जर्मन, इजरायललगायतका देशबाट यस मार्गमा पदयात्रा लागि पर्यटक आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment