Comments Add Comment

छापामा आजः साइकल गतिमा जनकपुर रेल, ३५ किलोमिटर पार गर्न डेढ घन्टा !

११ मंसिर । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित सबै राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा पेन्सनसहितको सामाजिक सुरक्षा योजना कार्यक्रम परेको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकको योगदानमा स्थापना गरेको सामाजिक सुरक्षा कोषबाट वृद्ध अवस्था, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुरक्षा योजना कार्यक्रम सुरु गरेको हो । निजी क्षेत्रमा हाल ३५ लाख श्रमिक कार्यरत रहेको अनुमान छ ।

समाचार अनुसार ६० वर्ष नाघेपछि अब श्रमिकहरुले आजीवन पेन्सन पाउने छन् भने व्यवसायजन्य रोग तथा दुर्घटनाको सबै खर्च भुक्तानी हुनेछ ।

पत्रपत्रिकाहरुकै पहिलो पृष्ठमा महालेखाले आईएनजीओको सम्पत्ति छानबिन थालेको, शान्ति प्रक्रियाको बहस बैंककमा भएको, पूर्वउपराष्ट्रपति परमानन्द झाले ६७ हजार बेरुजु फस्र्योटमा आनाकानी गरेकोलगायत समाचार छन् ।

पेन्सनसहितको सामाजिक सुरक्षा योजना कार्यक्रम सुरु भएकोलाई मुख्य समाचार बनाएको कान्तिपुरले गैरसरकारी संस्थाको कार्यक्रमलाई सरकारले बजेट दिएको लेखेको छ । समाचार अनुसार युनिभर्सल पिस फेडेरेसनले राजधानीमा गर्न लागेको एसिया प्यायासिफिक समिटका लागि अर्थ मन्त्रालयसँग तीन सरकारी निकायले साढे ३२ करोड रुपैयाँ मागेका हुन् । त्यसमा २ करोड भने निकासा भइसकेको छ ।

प्रदेश २ को प्रदेशसभा बैठकले सार्वजनिक प्रशासनका लागि करारमा कर्मचारी भर्ना विधेयक बहुमतले पारित गरेकोलाई पनि कान्तिपुरले पहिलो पृष्ठमा ‘कभरेज’ गरेको छ ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका दिदी मनीषा तथा बहिनी सरस्वतीले घटनापछि व्यहोरेको पीडालाई कान्तिपुरले एंकर बनाएको छ ।

अन्नपूर्णले श्रम स्वीकृतिको सास्तीमाथि मुख्य समाचार लेखेको छ । अन्नपूर्णका अनुसार, श्रम स्वीकृतिका लागि ताहाचलस्थित श्रम कार्यालयमा पुग्ने सेवाग्राहीले काम फत्ते गर्न निकै ठूलो संघर्ष गर्नुपर्छ ।

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन भन्दै थाइल्यान्डको राजधानी बैंककमा सत्तारुढ र विपक्षी दलका नेताहरु छलफलमा बसेको खबर पनि अन्नपूर्णमा पढ्न सकिन्छ ।

द्वन्द्वपीडित साझा चौतारीले स्वीस सरकारको आर्थिक व्यवस्थापनामा बैंककमा नेकपा र कांग्रेस नेताबीच छलफल गराएको हो ।

छलफलमा दुई मन्त्रीसहित सात नेता सहभागी भएको समाचारमा उल्लेख छ । मन्त्री वर्षमान पुन, मात्रिका यादव, नेकपा स्थायी समिति सदस्य भीम रावल, जनार्दन शर्मा र हरिबोल गजुरेल तथा कांग्रेसका तर्फबाट डा. मीनेन्द्र रिजाल र रमेश लेखक सहभागी छन् ।

छलफलमा राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार सुवोधराज प्याकुरेल पनि सहभागी छन् ।

नयाँ पत्रिकाले सेना–प्रहरी जागिरमा घट्दो आकर्षणको तथ्यांक प्रस्तुत गरेको छ । निजामतीमा ५४८ नासु माग्दा ७६ हजार ३ सय ९९ आवेदन परेकोमा प्रहरीमा ५२४ असई माग्दा १४ हजार ४ सय ८९ मात्रै आवेदन परेको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ ।

प्रहरी जवानमा सबैभन्दा कम आवेदन पर्ने गरेका छन् भने अन्यमा यसको तुलनामा केही बढी आकर्षण देखिएको छ ।

नयाँ पत्रिकामै जनपुर रेलबारेको अर्को खबर पनि छ ।

नयाँ पत्रिका लैख्छ ‘हाइस्पिड’ रेल सञ्चालनमा जापान, चीन र फ्रान्सबीच तीव्र प्रतिस्पर्धा छ । जापानले हालसम्म सबैभन्दा तीव्र गतिमा गुड्ने रेल सञ्चालनमा ल्याएको छ । सो रेल प्रतिघण्टा ६ सय ३ किलोमिटर गुड्छ । विश्व तीव्र गतिको रेलको प्रतिस्पर्धामा रहेका बेला नेपालमा भने पुरानै प्रविधिको रेल भित्र्याइएको छ ।

सन् २०१९ को सुरुबाट जनकपुपर–जयनगर रेल सञ्चालन गर्ने तयारी भइरहेको छ । तर यो रेलको गति निकै सुस्त हुनेछ । पुरानो न्यारोगेज (२.६ फिट ट्रयाक) रेलवे विस्थापित गरी झण्डै चारपछि सञ्चालनमा आउन लागेको ब्रोडगेज रेल्वेमा गुड्ने रेलको गति साइकलको भन्दा बढी हुँदैन ।

नयाँ पत्रिका आफ्नो समाचारको अगाडि लेख्छ– प्रतिघण्टा १ सय किलोमिटरको गतिमा गुड्ने डिजाइन बनाइए पनि सो रेलमार्गमा प्रतिघण्टा औसत ४५ किलोमिटर गतिमा रेल चलाउन सकिने नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

राजधानीले १७ सहसचिवसहित १८९ कर्मचारीको सरुवा गरेको लेखेको छ भने गोरखापत्रमा संसदको गाडी खरिदमा अर्थले अंकुश लगाएको समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment