Comments Add Comment

प्रचण्डलाई भेटे अमेरिकी राजदूतले

११ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले भेटवार्ता गरेका छन् । मंगलवार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, नेपालमा अमेरिकी लगानी, आपसी सहयोग र सहकार्यबारे छलफल भएको थियो ।

अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा अमेरिकी सरकार र जनताको महत्वपूर्ण भूमिका रहेको बताएको उनको सचिवालयले जनाएको छ । प्रचण्डले नेपाल आर्थिक समृद्धिको युगमा प्रवेश गरेकाले सबैको सहयोग र सदभाव आवश्यक रहेको औंल्याएका थिए । अध्यक्ष प्रचण्डले जलविद्युत, पर्यटन र कृषिमा आधारित उद्योग समृद्ध नेपालका प्राथमिकता भएको पनि जानकारी गराए ।

रेण्डी डब्लु बेरी नेपालका लागि अमेरिकी राजदूतको जिम्मेवारीसहित हालै नेपाल आएका थिए । उनलाई प्रचण्डले कार्यसफलताको शुभकामना दिएका थिए । राजदूत बेरीलाई प्रचण्डले भनेको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भनेको छ, ‘तपाईंको कार्यकालमा नेपाल र अमेरिकाको सम्बन्ध अझै प्रगाढ बन्ने मैले विश्वास लिएको छु ।’

अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय भएको बताएका थिए ।

राजदूत बेरीले मिलिनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत नेपालको पूर्वाधारमा लगानीका लागि स्थायी सरकार बलियो आधार भएको बताए । उनले नेपालको शान्तिपूर्ण लोकतान्त्रिक रुपान्तरण उत्तम रहेको बताउँँदै देशको आर्थिक विकासका लागि अहिले उचित अवसर भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment