Comments Add Comment

सिड्नीमा आयोजित नेपाल फेस्टिवल बिबादित, आयोजकले माफी मागे

सिड्नी / गत शनिबार अस्ट्रेलियाको सिड्नीमा आयोजित ‘नेपाल फेस्टिवल’ कार्यक्रम बिबादित बनेको छ । कार्यक्रममा आयोजक गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई यहाँका नेपाली समुदाय नै विभाजित गरेको भन्दै विभिन्न आरोपसमेत लागेको छ ।

कार्यक्रममा एकजना कलाकारले ‘हट्ने होइन, डट्ने नेपालीको बानी हुन्छ, विश्वको कुनाकाप्चा हेर त्यहाँ राजारानी हुन्छ’ भन्ने गीत गाएको विषयसमेत विवादित भएको छ । पञ्चायतको अन्त्यतिर चर्चित रहेको स्वदेशगान प्रस्तुत भएपछि अस्ट्रेलियाको नेपाली समुदाय नै विभाजित भएको हो ।

यसपटकको नेपाल फेस्टिवलमा अष्ट्रेलियाका सबै समाजिक संघसंस्थाले मिलेर सहकार्य गरेका थिए । तर, केही कमजोरीका कारण आयोजकलाई नेपाली समाज विभाजित गरेको अरोप लागेको छ ।

कार्यक्रमको औपचारिक समारोह नै पञ्चायती शैलीको भएको आलोचना एनआरएले व्यहोरेको छ । मूलप्रवाहका सञ्चार माध्यमलाई प्रवेश पासको व्यवस्था पनि नहुनु दुःखद भएको पत्रकारहरुले बताएका छन् ।

फेस्टिवलमा सहभागी भएका एनआरएनको केन्द्रीय कार्यसमितका सदस्य तथा ओसियन रिजनका संयोजक धर्मराज अधिकारीलाई सम्बोधनको अवसर नदिइएको र नेपालबाट परराष्ट्रमनत्री वा पर्यटन मन्त्री वामपन्थी भएकैले सहभागी गराउन पहल नगरेको आरोप पनि लगाइएको छ ।

यता, आयोजकले केही कमजोरीहरु भएको स्वीकार गर्दै क्षमतायाचना गरेका छन् ।

मंगलबार एनअारएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा फेस्टिवलका संयोजक नन्द गुरुङले वक्तव्य प्रकाशित गरी एक कलाकारले नेपालको संविधान र लोकतन्त्रविरुद्ध हुने गीत प्रस्तुत गरेकोमा दुःख व्यक्त गरेका हुन् ।

फेस्टिवलमा नेपाली खाना, भेषभुसा तथा नेपाल चिनाउने’नेपाल घर’ को निकै प्रशंसा भएको थियो । नेपाल घर स्वयम्भूको आकारमा बनेको थियो र घरभित्र डोको नाङलोदेखि ढिकीजाातोसम्मको नेपाली ग्रामीण जीवन झल्काउने वस्तुहरु राखिएका थिए ।

अस्ट्रेलियाका अध्यागमन मन्त्री डेभिड कोल्मनसहित उच्च नेताहरु तथा अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको पनि उपस्थित रहेको थियो ।

शनिबार मेल्बर्न-सिड्नीको आन्तरिक हवाइ सेवामा समस्या आएपछि एनआरएनका पूर्वअध्यक्ष शेष घले र जमुना घले फेस्टिवलमा भाग लिन पहिलो पटक स्थलमार्गबाटै दिउँसो सिड्नी आइपुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment