Comments Add Comment

मापसे गर्नेलाई छुटाउन उपप्रधानमन्त्रीको अगाडि प्रदर्शन !

११ मंसिर, मोरङ । कटहरी गाउँपालिका १ महेशपुरमा मादक पदार्थ सेवन (मापसे) चेकजाच गर्ने क्रममा प्रहरी र स्थानीयबास बीच सोमबार राति झडप भयो । झडपमा संलग्न भएको आरोपमा प्रहरी हवल्दारसहति ३ जनालाई प्रहरीले नियन्त्रणमा लियो ।

मंगलबार स्थानीय वासिन्दाले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल विराटनगर आएको बेला उनकै अगाडि प्रदर्शन गरेर पक्राउ परेकाहरुलाई छुटाउन माग गरे ।
वडाअध्यक्ष र केही स्थानीयले पक्राउ परेका व्यक्तिलाई छोड्नुपर्ने मागसहित प्रहरीविरुद्ध नाराबाजी गरेका हुन् ।

मन्त्री पोखरेल सहभागी हुने वीरेन्द्र सभा गृहको गेट अगाडि प्रदर्शन गरेपछि प्रहरीले स्थानीयलाई हटाएर पोखरेल र प्रदेश मुख्यमन्त्री शेरधन राईको गाडी कार्यक्रम स्थलमा प्रवेश गराएको थियो ।

यो पनि पढ्नुहोस विराटनगर सभागृहमा उपप्रधानमन्त्री पोखरेल आउँदा नाराबाजी

सोमबार साँझ झडपका क्रममा स्थानीय बासिन्दा समेत रहेका प्रहरी हवल्दार सवदनारायण चौधरी, अनन्तराम चौधरी, जोगनारायण चौधरीलाई पक्राउ गरेको थियो । सवदनारायण प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा कार्यरत छन् । पक्राउ परेकाहरुको कोशी अञ्चल अस्पताल विराटनगरमा स्वास्थ्य परीक्षण गराउँदा मापसे गरेको रिपोर्ट आएको प्रहरीको भनँइ छ ।

मापसे गरी ड्युटीमा रहेका प्रहरीसँग झगडा गरेपछि तीनै जना विरुद्ध प्रहरीले मंगलबार अभद्र व्यवहारको मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालय मोरङबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिए ।

झडपमा जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान रोजन राई घाइते भएका छन् । स्थानीय बासिन्दाले वियरको बोतल प्रहार गर्दा टाउकोमा चोट लागेपछि चार टाँका लगाइएको थियो । स्थानीयले ढुंगा प्रहार गर्दा प्रहरीका ना १ झ ९२० नम्बरको गाडीको अगाडिको सीसा फुटेको छ ।

चेकजाँचमा खटिएको प्रहरी टोलीसंग मापसे गरेर आएका स्थानीयले विवाद गरेपछि सामान्य धरपकडको स्थिति सिर्जना भएको बताउदै प्रहरी उपरीक्षक केसीले विवाद गर्नेहरुमाथि म्याद थप गरी अनुसन्धान सुरु गरिएको बताए ।

बसिरहेका बेला प्रहरीले कुटपीट गर्‍यो : स्थानीयवासी

सडकमा बसिरहेका बेला प्रहरीले दुर्व्यवहार गरेपछि विरोध गरेको स्थानीयको भनाइ छ । सामान्य विवादमा घर घर पसेर महिलामाथि पनि कुटपिट गरेको कटहरी गाउँपालिका १ का वडा अध्यक्ष कपुरलाल माझीले बतँए ।

पक्राउ परेकाहरुलाई छाड्न माग गर्दै स्थानीयबासी मंगलबार जिल्ला प्रहरी कार्यालय पुगेका थिए । तर कार्यालयमा प्रहरीको लाठीचार्ज गरेको अध्यक्ष माझी बताए ।

प्रहरीले ड्युटी र चेकजाँचका नाममा गाउँमा पसेर ज्यादती मच्चाएको आदिवासी जनजाति महासंघ मोरङका पूर्वअध्यक्ष देवराज चौधरीले बताए ।

मापसे चेकजाँचका नाममा प्रहरी अनधिकृत लाभ लिने गरेको बताउदै उनले स्थानीय बासिन्दामाथि प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गरेको बताए । प्रहरी टोलीले घरघरमा पुगेर महिला, वृद्ध, वृद्धा तथा बालबालिकामाथि दुव्र्यवहार गर्दै लाट्ठी चार्ज गरेको उनको आरोप छ ।

मोरङका प्रहरी प्रमुखलाई घटनाको वास्तविकता बताउन जनप्रतिनिधिसहित स्थानीय बासिन्दा जिल्ला प्रहरी कार्यालयमा आउँदा मंगलबार पनि प्रहरीले लाठी हानेको चौधरीको भनाइ छ । प्रहरीले वडाअध्यक्ष कपुरलाल माझी, वडा सदस्य गंगा राय र ६५ वर्षीय वृद्धा पवनीदेवी चौधरीमाथि दुव्र्यवहार गरेको स्थानीयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment