Comments Add Comment

आजका पत्रपत्रिकाः मदिरामा कडाइ, अस्ट्रेलियाको खर्चमा प्रदेश ३ को योजना

१२ मंसिर, काठमाडौं । राजधानीबाट आज प्रकाशित सबै राष्ट्रिय दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा सामाजिक सुरक्षा कार्यक्रम परेको छ । सरकारले मंगलबारबाट शुरु गरेको कार्यक्रमबारे पत्रपत्रिकाहरुले विभिन्न जोड–कोणहरुबाट चर्चा–परिचर्चा गरेका छन् ।

संसदीय सुनुवाइ समितिबाट यसअघि अस्वीकृत भएका दीपकराज जोशीको नाम न्यायपरिषदले पुनः प्रधानन्यायाधीशका लागि संवैधानिक परिषदमा सिफारिस गरेको छ । आजका पत्रपत्रिकाहरुले यो विषयलाई पनि नछुटाइकन पहिलो पृष्ठमा कभरेज गरेका छन् ।

पत्रपत्रिकाहरुकै पहिलो पृष्ठमा सरकारले मदिरा उत्पादन, बिक्री, सेवन र विज्ञापनमा कडाइ गर्ने भएको, प्रदेश ३ ले आवधिक योजना बनाउन अस्ट्रेलियाली लगानी भित्र्याएको, आन्तरिक विवादले नेकपाको बैठक फेरि स्थगित भएकोलगायत समाचार छन् ।

मुख पृष्ठमा सुनसरीको खनारस्थित एक उद्योगबाट काम सकेर बाहिरिँदै गरेका मजदुरहरुको तस्वीर छापेको कान्तिपुरले सामाजिक सुरक्षा कार्यक्रम लागू गर्न सरकारले स्थायी संयन्त्र बनाएको लेखेको छ । समाचार अनुसार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहने सामाजिक सुरक्षा कोष स्वायत्त निकाय हुनेछ ।

कान्तिपुरमै सरकारले मदिरा उत्पादन, बिक्री, सेवन र विज्ञापनमा कडाइ गर्ने भएको अर्को खबर पनि छ ।

यसका लागि मदिरा उत्पादन र बिक्री वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश–२०७५ जारी गर्ने तयारी भइरहेको समाचारमा उल्लेख छ ।

गृह मन्त्रालयले तयार पारेको आदेश मस्यौदा अनुसार इजाजत प्राप्त बिक्रेताले दिउँसो ४ बजेदेखि राति ९ बजेसम्म मात्र मदिरा बेच्न पाउनेछन् । व्यवसायीले भने यसको चर्को विरोध गरेका छन् ।

‘के हो सामाजिक सुरक्षा ?’ शीर्षक दिएर सामाजिक सुरक्षा कार्यक्रमको फेहरिस्त पस्केको नयाँ पत्रिकाले प्रधानन्यायाधीशमा दीपकराज जोशी फेरि सिफारिस भएकोदेखि उपत्यकामा ५ सयभन्दा बढी सीसीटीभी राख्न लागिएको सम्मका खबर  लेखेको छ ।

नक्कली रसिद बनाएर मालपोत कार्यालय चाबहिलका कर्मचारीले लाखौं राजस्व हिनामिना गरेकोलाई पनि नयाँ पत्रिकाले पहिलो पृष्ठमा समेटेको छ ।

सामाजिक सुरक्षा कार्यक्रमको समाचारलाई प्रमुख समाचार बनाएको अन्नपूर्णले अस्ट्रेलियाको खर्चमा प्रदेश ३ ले आवधिक योजना बनाउन लागेको लेखेको छ ।

‘प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको आवधिक योजना बनाउन अस्ट्रेलियाली लगानी भित्र्याएका छन्’, अन्नपूर्णले समाचारको लिड लाइनमा लेखेको छ, ‘यसबारे उनले संघीय अर्थ मन्त्रालय तथा प्रदेश मन्त्रिपरिषदलाई समेत थाहा दिएका छैनन् ।’

समाचार अनुसार प्रदेश ३ को नीति तथा योजना आयोगले १५ वर्षे पूर्वाधार योजना बनाउँदै छ । यो काममा अस्ट्रेलियको डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेडको पैसा खर्च भइरहेको छ । उसले एसिया फाउन्डेसनमार्फत् लगानी गरेको हो ।

पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सार्क सम्मेलनमा निम्ता गर्ने भएकोदेखि आमाहरुको फुटबल क्रेजसम्मका खबर अन्नपूर्णमा छापिएका छन् ।

राजधानीले आन्तरिक विवादले नेकपा बैठक फेरि स्थगित भएको लेखेको छ भने गोरखापत्रमा कसुरदार फेला नपरे मुल्तबीमा दण्ड जरिवाना हुने समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment