Comments Add Comment

चेलिबेटीले न्याय पाउने आशा हरायोः रेखा थापा

१२ मंसिर, रौतहट । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या भएको चार महिना बितिसक्दा पनि अपराधी पक्राउ पर्न नसक्नुले देशमा चेलिबेटीहरुले न्याय पाउने आशा हराउँदै गएको अभिनेत्री रेखा थापाले बताएकी छिन् ।

सिङ्गो राष्ट्र नै एकजुट भएर एउटी बालिकाको लागि न्याय माग्दासमेत अपराधी कानून भन्दा माथि रहनुले सबैलाई लज्जित बनाएको उनले बताइन ।

देशभरीबाट एउटै स्वरले नागरिकले न्यायका लागि अपील गर्दासमेत सरकारले दोषीलाई पक्राउसमेत गर्न नसक्नु दुःखद भएको उनको भनाइ छ ।

क्रुरतापूर्वक हत्या गर्ने हत्यारालाई राज्यबाट कारबाही नहुनु अत्यन्तै चिन्तनीय विषय भएको बताउँदै अभिनेत्री थापाले निर्मला एउटा ज्वलन्त उदाहरण मात्रै भएको र देशमा दिनदिनै कयौं चेलीवेटीहरु बलात्कारको शिकार भइ अनाहकमा ज्यान गुमाउन विवश रहेको बताइन् ।

जघन्य अपराधमा संलग्न हुनेलाई प्रहरीले पक्राउ गर्न नसक्नुले नै यस्ता घटनाहरुले प्रश्रय पाएको उनको दाबी छ ।

सदरमुकाम गौरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ‘छोरीका निम्ति स्वणिर्र्म नेपा महाअभियान’की अभियन्ता थापाले छोरीमाथि हुने विभिन्न खाले अपराधिक गतिविधिको प्रमुख कारण अशिक्षा एवं सेल्फ डिफेन्स नहुनु भएको बताइन् ।

प्रदेश सरकारको बेटी बचाउ, बेटी पढाउ कार्यक्रमका लागि अभिनेत्री थापा रौतहट आएकी हुन । प्रदेश सरकारको कार्यक्रम अन्तर्गत रेखा फाउण्डेशनद्वारा रौतहटको परोहा नगरपालिकामा संकल्प सभा कार्यक्रम हुँदैछ ।

आत्मनिर्भर, आत्मरक्षाको लागि चेलीलाई प्रशिक्षित बनाउनका लागि सबैभन्दा पहिले हातमा कलम र किताब दिइ विद्यालयको अध्ययनमा पठाएर आत्मनिर्भर बनाएमा मात्रै छोरीमाथिको हिंसा न्यूनिकरण हुने उनको भनाइ छ ।

अभिनेत्री थापाले छोरी राम्ररी शिक्षित भएमा परिवार सुखी हुनुका साथै घरपरिवार शिक्षित भइ बाल विवाहको अन्त्य हुने र शिक्षित समाज बन्न सक्ने दावी समेत गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment