Comments Add Comment

टी–१० क्रिकेटको रोमाञ्चकता र सन्दीपको उत्कृष्टता

१२ मंसिर, काठमाडौं । क्रिकेट परिवारको कान्छो सदस्यका रुपमा जन्म भएको छ टी–१० । गत वर्ष यूएईले पहिलोपटक चार दिने टि–१० लिग आयोजना गरेको थियो । यसपालि लिगलाई आईसीसीले समेत मान्यता दिएपछि चर्चा बढेको छ ।

नेपालका सन्दीप लामिछाने पनि यो संस्करणमा जोडिएकाले नेपालीहरु माझ टी–१० बारे चासो तीव्र छ ।

थोरै समयभित्र अत्यधिक रोमाञ्चकता दिने उद्देश्यले टी–१० आरम्भ गरिएको हो । यो टी–२० वा एकदिवसीय क्रिकेटकै स्वरुपमा खेलाइन्छ, खाली ओभर मात्रै कम ।
१० ओभर मात्र ब्याटिङ गर्न पाइने हुनाले ब्याट्सम्यानहरुले धोवी चुटाई गर्नुको बिकल्प हुँदैन । प्रत्येक बललाई उनीहरु बाउन्ड्री कटाउन खोज्छन् । यसो गर्दा आउट हुने खतरा पनि उत्तिकै हुन्छ र, टी–१० को रोमाञ्चकता नै यही हो ।

अफगानिस्तानका मोहम्मद सहजादले उद्घाटन म्याचमै १६ बलमा ७६ रन हानेर यो लिगको पारो तताइदिए । उनले खेलेका १६ बलमा १४ वटा बाउन्ड्री (८ छक्का, ६ चौका) प्रहार गरेका थिए । टी–१० नभएको भए यस्तो खालको इनिङको सायदै कल्पना गर्न सकिन्थ्यो । लक्ष्य थोरै भएकाले उनी शतक बनाउन भने चुके ।

ब्याट्सम्यान मात्र होइन, बलरका लागि पनि अवसर छ टी–१० मा । ब्याट्सम्यानले हरेक बलमा रिस्क लिने भएकाले उनीहरुले सजिलै विकेट चट्काउन पाउँछन् । यही संस्करणमा पाकिस्तानी बलर अमिर यामिनले लगातार चार बलमा विकेट लिए भने अन्य दुई बलरले ह्याट्रिक पूरा गरिसकेका छन् ।

यो लिग धेरै लामो छैन । पहिलो संस्करण ४ दिनको थियो भने यसपाली ११ दिनको । २१ नोभेम्बरबाट सुरु भएको दोस्रो संस्करणको फाइनल २ डिसेम्बरमा खेलाइने छ ।

प्रतियोगितामा ८ टिम सहभागी छन् । अन्य टी–२० क्रिकेट लिगहरुमा अधिकतम ४ जना मात्रै विदेशी खेलाडी अन्तिम ११ मा राख्न पाइने गरेकोमा यो प्रतियोगितामा त्यस्तो बन्देज छैन । त्यसैले हरेक टिममा धेरै देशका खेलाडीहरु मिसिएका छन् । भारतीय खेलाडीहरु भने कम संख्यामा छन् । त्यस्तै अष्ट्रृेलिया, साउथ अफ्रिका, ईंग्ल्यान्डका थुप्रै स्टार खेलाडी यसमा छैनन् ।

सन्दीपको प्रदर्शन

नेपाली बलर सन्दीप लामिछानेलाई ३० हजार डलर (३० लाख रुपैयाँभन्दा बढी) पारिश्रमिक दिएर केरला नाइट्सले खरिद गरेको थियो । उनले प्रतियोगितामा आफ्नो प्रभाव देखाइरहेका छन् ।

सन्दीपको टिमले अहिलेसम्म ४ खेल खेलेको छ, जसमध्ये दुई जित, एक हार र एकमा अंक बाँडेको छ । पहिलो तीन खेलमा सन्दीपको प्रदर्शन उत्कृष्ट रह्यो । चौथोमा भने उनी चुके । पहिलो खेलमा सन्दीपले ३ विकेट लिँदै केरला नाइट्सलाई जित दिलाएका थिए । दोस्रो र तेस्रो उनले क्रमशः २ र १ विकेट लिए । तेस्रो म्याचमा केरलाको तर्फबाट विकेट लिने बलर उनी मात्रै थिए ।

अहिलेसम्म ६ विकेट लिइसकेका सन्दीप विकेटटेकरको लिस्टमा चौथो नम्बरमा छन् । उनीभन्दा माथि रहेका ३ जनाले पनि ६ विकेट नै लिए पनि उनीहरु भन्दा सन्दीपको इकोनोमी राम्रो छ । चौंथो म्याचमा विकेट लिन सकेको भए उनी पहिलो स्थानमा उक्लिने थिए । केरला नाइट्सका लागि सर्वाधिक विकेट लिने बलर भने सन्दीप नै हुन् ।

अहिले छोटो फम्र्याटको क्रिकेटमा विश्वकै उत्कृष्ट स्पिनर मानिने अफगानिस्तानका रसिद खानले ३ म्याचमा दुई विकेट मात्र लिन सकेको अवस्थामा सन्दीपको प्रदर्शन उत्साहजनक छ । यद्यपि चौंथो म्याचले उनको इकोनोमी बिगारेको छ । सो म्याचमा उनले २ ओभरमा २८ रन खर्चेका थिए ।

केरला नाइट्स अघिल्लो संस्करणको विजेता हो । यसपालि भने अंक तालिकामा पछाडि छ । यद्यपि, सेमिफाइनलमा पुग्ने सम्भावना टरिसकेको छैन । केरलाले अब भोलि र पर्सि दुई म्याच खेल्न बाँकी छ । टिमको प्रमुख बलरका रुपमा देखिएका छन् सन्दीप ।

चारवटै खेलमा उनले मात्रै सम्पूर्ण कोटा बलिङ गर्न पाएका छन् । विश्व क्रिकेटका हस्तीहरुले पनि उनको तारिफ गरिरहेका छन् । यदि आगामी म्याचहरुमा राम्रो प्रदर्शन गरेर टिमलाई माथि उकाल्न सकेको खण्डमा सन्दीपको नाम थप चम्किनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment