Comments Add Comment

केही दिनमा मेलम्चीको पानी आउँदैछ ?

१२ मंसिर, काठमाडौं । सरकार कहाँ छ भन्नेलाई जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘केही दिनमा मेलम्ची आउँछ, त्यसले जवाफ दिन्छ सरकार कहाँ छ ।’

काठमाडौंबासीले मेलम्चीको पानी आश गरेको वर्षौ भइसक्यो । मेलम्चीको पानी आउने आशमा वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा चुपचाप यात्रा गरेको पनि केही वर्ष भइसक्यो । तर, मेलम्चीको पानी अझैसम्म आएको छैन ।

मुलुकको कार्यकारी प्रमुखले ‘केही दिनमै मेलम्ची आउँछ’ भनेपछि जनता उत्साहित नहुने कुरै भएन ।

तर, प्रश्न छ, यो केही दिन भनेको कति हो ? एक हप्ता, एक महिना वा एक वर्ष ?

यसको उत्तर स्वयंम सरकारसँग पनि छैन । गएको दशैंमा सुन्दरीजलमा पानी झार्ने योजना असफल भएपछि मेलम्ची खानेपानी आयोजनाले नयाँ मिति तोक्न सकेको छैन ।

यद्यपि काम भने आफैं गतिमा भइरहेको छ । खानेपानी मन्त्रालयका एक उच्च अधिकारीका अनुसार अहिलेको रफ्तारमा काम हुने हो भने मेलम्ची आउन अझै केही महिना लाग्छ । ‘हामीले कम्तिमा एक सय दिन त अझै सुरुङ र ड्याम साइटमै काम गर्नुपर्नेछ’ एक अधिकारीले भने,’त्यो पनि बीचमा ठेकदारले बखेडा झिक्नु भएन ।’

मेलम्ची आयोजनाको काम समयमा कहिल्यै पुरा नहुनुको एउटा प्रमुख कारण हो ठेकदार । उसले अनेक बाहानामा काममा ढिलाई गर्ने गरेको अधिकारीहरु बताउँछन् ।

सुरुङ र ड्यामको काममा प्राविधिक कठिनाई आउँदैन भनेर ठोकुवा गर्ने अवस्था हुन्न । उनले भने, ‘कार्ययोजना अनुसार नै सुन्दरीजलमै पानी झार्न पनि कम्तिमा ३ महिना त लाग्छ ।’

अहिले सुरुङमार्ग सर्फेस फिनिसिङ र सतहमा लाइनिङ (क्रंक्रिट ढलानसहित फिनिसिङ) को काम भइरहेको छ ।

आयोजनाका अनुसार किलोमिटर मात्रै सर्फेस फिनिसिङ र ३ किलोमिटर भुइँको लाइनिङ गर्न बाँकी छ ।

यो काम सक्न मात्रै कम्तिमा एक महिना लाग्छ । आयोजनाका एक अधिकारी भन्छन्, ‘अहिले नरम चट्टान भएका ठाउँमा सुरुङ फिनिसिङको काम भइरहेको छ । त्यसैले यहाँ अन्यत्र भन्दा ढिला हुन्छ तर, एक महिनामा यो काम सकिन्छ ।’

योसँगसँगै सुरुङमार्गमा भेन्टिलेसन राख्नका लागि पनि छेड्ने काम भइरहेको छ । एक ठाउँमा ४ इन्चको प्वाल पारेर त्यसलाई ठूलो पार्ने काम भइरहेको छ । सुरुङमार्गमा पानी हालेपछि हावा बाहिर जान सक्ने गरी ‘एयर भेन्ट’ राख्नुपर्छ । तीन ठाउँमा यस्ता एयर भेन्ट राख्नुपर्छ । त्यसका लागि सुरुङबाट माथिल्लो भागमा प्वाल पार्नुपर्छ र भेन्टिलेसनको संरचना तयार गर्नुपर्छ ।

दुई ठाउँमा गेट लगाएर अडिट टनेलहरु थुन्ने काम भइरहेको छ । अन्य ठाउँमा पनि फिनिसिङको काम सकिएपछि अडिट टनेलहरु थुन्ने काम सुरु हुनेछ । भेन्टिलेसन र अडिट टनेल थुन्न चाहिने सबै उपकरण र सामानहरु आइसकेको छ ।

मेलम्ची थुनेर सुरुङमा पानी हाल्ने प्रयोजनका लागि आवश्यक प्रायः सबै संरचना तयार भइसकेको छ ।

एउटा अस्थायी ड्यामको काम बाँकी छ । त्यो काम गर्न त्यो एक-दुई हप्ताको समय नै काफी हुने भएकाले आयोजनाले अन्य जटिल काममै ध्यान दिइरहेको आयोजना प्रमुख सूर्यराज कँडेलले अनलाइनखबरलाई बताए ।

उनले जतिसक्दो छिटो काठमाडौंमा मेलम्चीको पानी ल्याउन सबै काम समानान्तार रुपमा भइरहेको भन्दै सबै परिस्थिति अनुकुल रहेमा धेरै समय नलाग्ने बताए ।

तर, उनले कहिले काठमाडौंमा पानी झार्ने गरी आयोजनाले काम गरिरहेको छ भन्नेबारे केही खुलाएनन् ।

आयोजनाको सुरुङभित्र अनलाइन मनिटरिङ गर्न सीसी क्यामेरा जडानका लागि तयारी सुरु भएको कँडेलले बताए । त्यसका लागि कम्पनी छनोटको प्रक्रिया अन्तिम चरणमा रहेको उनले बताए । यस्तै सुरुङभित्रका सबै काम सकिएपछि पनि टेस्टिङ कमिसनिङ -सुरुङको निर्माणको गुणस्तर र त्रुटीको परीक्षण)का लागि एक महिनाजति समय लाग्ने आयोजना प्रमुखको भनाइ छ । यदि यो टेस्टिङमा केही गम्भीर समस्या देखिए त्यसको पनि मर्मत गर्नुपर्ने हुन्छ ।

यो सबै काम सकाएपछि सुरुङमार्गमा पानी हाल्न सकिन्छ । तर, सुन्दरीजलमा झरेको पानी घरघरमा पुर्‍याउन सजिलो छैन । सुन्दरीजलमा पानी झरेपछि एक महिनाभन्दा बढी समय त पाइपलाइन सफा गर्न नै लाग्छ ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट काठमाडौंमा खानेपानी ल्याउने यस आयोजनाको २६ किलोमिटर सुरुङ तीन खण्डमा विभाजन गरेर सन् २०१० को जुन महिनादेखि खन्न थालिएको थियो । सुरुङ खन्ने काम सकिए पनि त्यसभित्रका मसिना तर, जटिल काम बाँकी नै छन् । सरकारले इटालियन कम्पनी सीएमसीसँग ७ अर्ब ७१ करोडमा सुरुङ र इन्टेक निर्माण गर्ने गरी सम्झौता गरेको थियो । आयोजनाका अनसार यो कामका लागि ८ अर्ब ५९ करोड रुपैयाँ खर्च हुनेछ ।

इटालियन कम्पनीले २०१४ बाट मेलम्चीको सुरुङ निर्माणको जिम्मा पाएको थियो । यसअघि चिनीयाँ ठेकेदार कम्पनी चाइना फिफि्टन रेल्वे ब्युरोले ढिलासुस्ती गरेको भन्दै सरकारले सीएमसीलाई सुरुङ निर्माणको जिम्मा दिएको थियो ।

२०१३ को सुरुमै सुरुङ निर्माण सक्ने गरी २००९ मा ठेक्का पाएको चिनियाँ ठेकेदारले झन्डै चार वर्षमा जम्मा साढे ६ किमीमात्र सुरुङ निर्माण गरेपछि सीएमसी आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment