Comments Add Comment

मुस्कानले बनाउँछ जीवनलाई मधुर

अहिलेको भागदौड र व्यस्तताले भरिएको जीवनले मानिसहरुको अनुहारको हाँसो छिनेर लगेको छ । हामी देख्न सक्छौं अधिकांश मानिसहरुको जीवन दुःख निराशा र तनावले घेरिएकोको छ ।

तर, के तपाईंलाई थाहा छ कि यी सबै समस्याहरुको एकै ओखती छ । र, ओखती हो, मुस्कान ।

सुन्दर मुस्कानले मानिसको सुन्दरतालाई त बढाउने मात्रै होइन व्यक्तित्वलाई पनि निखार्छ । मुस्कानले सामान्य अनुहारलाई पनि चम्किलो र असाधारण देखाइदिन्छ ।

तपाई आफै कल्पनुहोस् त, मुस्कुराइरहेको मान्छे आफैमा कति कोमल, कति चञ्चल, कति कन्चन, कति रसिलो देखिन्छ । जबकी रिसाएको, क्रोधित भएको मान्छेको रुपरंग भयानक हुन्छ । कठोर हुन्छ ।

त्यसैगरी मुस्कानले मानिसको स्वास्थ्यलाई पनि धेरै राम्रो बनाउँछ । मुस्कानले मानिसको आत्मविश्वास र मैत्रीपूर्ण व्यक्तित्वको बारेमा पनि अरुलाई अवगत गराउँछ ।

मुस्कानको यो खजाना हरेक मानिससँग हुन्छ । मात्रै आवश्यकता हुन्छ खुसी रहने र यसलाई अपनाउने ।

स्वस्थ रहन र तनावबाट मुक्त हुनको लागि मुस्कानले हामीलाई मद्धत गर्छ । मनोचिकित्सकका अनुसार मुस्कानले सम्बन्धलाई मजबुत बनाउँछ । कहिलेकाँही बाटोमा हिँड्दै गर्दा जब कुनै अन्जान मानिसको अनुहार हामीलाई देखेर मुस्कुराउँछ त्यतिखेर उनीहरुसँग कुनै सम्बन्ध नभए पनि आत्मिय लाग्छ ।

मुस्कान त्यतिखेर मात्रै पूर्ण हुन्छ जब त्यो दिलबाट सुरु भएर ओठ हुँदै आँखाबाट झल्किएर अरु कसैको अनुहारमा ज्योती बनेर चम्किन्छ ।

मुस्कान कस्ता-कस्ता हुन्छन् ?

यो प्रश्न सुनेर तपाईलाई अचम्म लाग्यो होला । सोच्दै हुनुहुन्छ कि, ‘मुस्कानको पनि प्रकार हुन्छ ?’

जरुर हुन्छ । कुनै विचित्रको मान्छे देख्नुभयो भने पनि तपाईको ओंठमा आश्चर्य मिश्रति मुस्कान देखिन्छ । कोही मान्छे अचानक हिलोमा लड्यो भने तपाई विस्मयको मुस्कान छर्नुहुन्छ । कोही मान्छेले लोभलाग्दो प्रगति हासिल गर्‍यो भने तपाई गर्वले मुस्कुराउनुहुन्छ ।

प्रायजसो मुस्कान सच्चा र मनदेखि नै आँउछ । मुस्कुराहटको हाम्रो विचार र भावनाहरुसँग गहिरो सम्बन्ध हुन्छ । अरुको राम्रो गुणमा ध्यान दिएर हेर्ने हो भने हामीलाई मुस्कुराउन कुनै समस्या हुँदैन ।

सँधै मुस्कुराउन भन्दा पहिले सहज हुने कोसिस गर्नुहोस् होइन भने मुस्कान नक्कली देखिन्छ । जब मुस्कान मनदेखि नै निस्कन्छ त्यखिखेर आँखामा चमक हुन्छ र अरुलाई यो बुझ्न बेर लाग्दैन कि यो मुस्कान सच्चा हो र मनदेखि कै हो ।

यस्ता पनि हुन्छन् मानिसहरु

तर, केही मानिसहरुको लागि मुस्कुराउनु सजिलो हुँदैन । उनीहरुलाई मुस्कुराउन आँउदैन भन्ने त हुँदैन तर उनीहरु गम्भिर माहौलमा हुर्केबढेका हुन्छन् र उनीहरुलाई सानैदेखि गम्भिर बन्न जोड दिइन्छ । यस्तोमा उनीहरु मनमा प्रेम हुँदाहुँदै पनि मुस्कुराएर कुरा गर्न पाँउदैनन् ।

यस बाहेक केही मानिसहरु लजालु स्वभावका हुन्छन् । यसैकारण मुस्कुराउनु उनीहरुको लागि सजिलो हुँदैन । फेरि मानिसहरुको स्वभाव पनि फरकफरक हुन्छ । कोही धेरै मुस्कुराउँछन् भने कोही कम । तर, एक सानो कोसिस त गर्न सकिन्छ ।

यदि तपाईं मुस्कुराएर कसैलाई बोलाउनु हुन्छ भने भने उनीहरु पनि तपाईंलाई कदर गर्नेछन् र आफू पनि मुस्कुराउँछन् । त्यतिखेर मुस्कुराउनु तपाईंको लागि सजिलो हुन्छ

यस्तो मुस्कानबाट रहनुहोस् सावधान

भनिन्छ हरेक मुस्कान सच्चा हुँदैन र यो सत्य पनि हो । केही मुस्कान बनावटी र कुटिल पनि हुन्छन् ।

स्वार्थी, कपटी, धोकेबाज मानिसहरु लोभ्याउनको लागि राम्रो मुस्कान दिन सक्छन् तर, उनीहरुको मुस्कान खोक्रो हुन्छ ।

यसैले हरेक मुस्कानको अर्थ बुझ्नुहोस् र अगाडिको मानिस कसरी मुस्कुराइरहेको छ भन्ने बुझ्नुहोस् । कँही कसैको कुटिल मुस्कान तपाईंलाई अपमानित बनाउन, लज्जित बनाउन वा तपाईंको उपहास उडाउनको लागि त होइन ? यस्तो मुस्कानबाट सँधै सावधान रहनुहोस् ।

मुस्कानको विशेषता

मुस्कानको विशेषता नै यो हो कि यसको माध्यमबाट तपाईं केही पनि नबोली आफ्नो मनको भावनाहरु अरुको अगाडि व्यक्त गर्न सक्नुहुन्छ ।

कसैको रिसाएको अनुहार देखेर तपाईंलाई पनि नराम्रो लाग्न सक्छ र निराशा छाँउछ । तर, कसैको मुस्कुराएको अनुहारले तपाईंलाई खुसी र ताजापन दिन्छ ।

यदि हामी अरुसँग कुरा गर्दा तनाव महसुस गरिरहेका छौं भने एक मुस्कानले तनाव टाढा गर्न सकिन्छ । मुस्कानको बललेे हामी निराशा वा तनावको सामना सजिलै गर्न सक्छौं ।

यदि कोहीले तपाईंलाई मुस्कुराएरै कुनै सल्लाह वा केही सुझाव दिन्छन् भने तपाईं त्यसलाई खुसीखुसी मान्नुहुन्छ । तर, कसैले रिसाएर दिएको सल्लाहको असर विपरित हुन्छ । तनावपुर्ण माहौलमा मुस्कुराहटले धेरै भ्रमहरुलाई पनि टाढा बनाइदिन्छ ।

 

मुस्कुराउने बहाना

खुसी रहनको लागि तपाईं यस्ता मानिसको सम्पर्कमा रहनुहोस् जो हंसमुख होउन । कसैसँग लडाईझगडा गर्नबाट बच्नुहोस् ।

सकरात्मक सोच राख्नुहोस् यसले तनाव टाढा भगाउँछ ।

आफ्नो परिवार वा मिल्ने साथीहरुसँग कँही घुम्न जानुहोस् । यसले आनन्द र उर्जावान महसुस हुन्छ ।

शरीरलाई पोषक तत्वको धेरै आवश्यकता हुन्छ । त्यसैले दिनमा १-२ पटक धेरै भोजन गर्नुको सट्टा ५-६ पटक थोरै थोरै खानुहोस् ।

खाना सँधै सन्तुलित र पौष्टिक खानुहोस् किनभने खुसी रहनको लागि खानुभन्दा राम्रो कुनै अरु उपाय छैन । यस बाहेक भरपुर निन्द्रा लिनुहोस् ।

मुस्कान बनाउनुहोस् सुन्दर

मुस्कानले हाम्रो शरीरलाई उत्तेजना र भयबाट टाढा राख्छ । खुलेर हाँस्नाले रक्तनली खुल्छ र रगत राम्रोसँग शरीरको अन्य भागमा पुग्छ । हाँसोले हाम्रो रोगप्रतिरोधी क्षमतालाई पनि बढाउँछ ।

सुन्दर मुस्कानको लागि सुन्दर दाँत हुन आवश्यक छ । र, यो तब मात्रै सम्भव छ जब तपाईंको दाँत सफा र सुन्दर देखिन्छ ।

यसको लागि नियमित ब्रस गर्नुपर्छ र टुथपेस्ट पनि राम्रो हुनुपर्छ । यसो त बजारमा केयौं टुथपेस्ट पाइन्छ तर राम्रो नतिजाको लागि थोरै बढी खर्च गर्दा केही बिग्रँदैन । त्यसैले राम्रो टुथपेस्टले दिनको दुईपटक नियमित ब्रस गर्नुहोस् र सँधै मुस्कुराउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment