Comments Add Comment

के तपाईको बच्चा पनि भर्चुअल संसारमा बन्दी बन्दैछन् ?

अहिले तपाईका बच्चालाई खुला छाड्नुहोस् त, के गर्छन् ? मोवाइल माग्छन् । गेम खेल्छन् । भिडियो हेर्छन् ।

डिजिटल युगका बच्चा जो परे, उनीहरु मोवाइल, ल्यापटप, ट्याबलेट, टिभी आदिमै झुम्मिन्छन् । यी ग्याजेट्स कसरी चलाउने ? हामीले सिकाइरहनुपर्दैन । यी ग्याजेट्समा के कस्ता सेवा-विधा छन् ? हामीले बताइरहनुपर्दैन । उनीहरुलाई यसको अथाह ज्ञान छ । किनभने उनीहरु दिनरात त्यही ग्याजेट्सका सम्पर्कमा हुन्छन् । ग्याजेट्समै अभ्यस्त हुन्छन् ।

तपाई हामी सोच्छौं, छोराछोरी प्रविधिमा अगाडि छन् । उनीहरु नयाँ नयाँ उपकरण सजिलै चलाउन सक्छन् । एक हदसम्म यो सोचाई ठिकै पनि हो । तर, यि विद्युतिय उपकरणसँग तपाई हाम्रो बच्चा नजानिदो ढंगले यसरी लहसिदैछ कि, त्यसबाट बाहिर निकाल्न ठूलो चुनौती हुनेछ । जसरी लागुऔषधको कुलतमा फसेका छोराछोरीलाई बाहिरी समाजमा ल्याउन कठिन हुन्छ । ठिक उसैगरी स्मार्टफोन लगायतको लतमा फस्दै गएका छोराछोरीलाई परिवार, समाजसँग जोड्न गाह्रो हुनेछ ।

किनभने स्मार्टफोनमा उनीहरुले उपयोगी कुरा मात्र हेर्दैनन् । स्वस्थ्य मनोरञ्जन मात्र लिदैनन् । अहिले कति हिंस्रक सामाग्रीहरु त्यहाँ राखिएका छन् । यस्ता सामाग्री, जसले उनीहरुको बाल-मस्तिष्कलाई नराम्ररी असर पुर्‍याइदिन्छ । चाहे पोर्न सामाग्रीको कुरा गर्नुहोस् वा हिंस्रक ।

तपाईले सुन्नुभयो होला केही समयअघि एक खेल प्रचलित थियो, अनलाइन गेम । यस खेलले बच्चालाई कुनै चुनौती सामना गर्नका लागि उक्साउँथ्यो । त्यही उक्साहटमा लागेर कतिले ज्यान समेत गुमाए । छिमेकी भारतमै यस किसिमको घटना घटेको थियो ।

यसको अर्थ के हो भने, बच्चाहरु अहिले सोसल मिडिया वा विविध उपकरणमा अभ्यस्त मात्र भएका छैनन्, लिप्त हुँदैछन् । सोझै भनौं, उनीहरु यसको एडिक्सनमा फस्दैछन् । कुनैपनि कुराको लत आफैमा राम्रो होइन । यसले उनीहरुलाई बाहिरी समाजबाट टाढा पुर्‍याउँछ ।

तपाईले हेक्का राख्नुभएको छ ? अहिलेका बच्चाहरु परिवार, समाजमा उति घुलमिल हुँदैनन् । उनीहरु एकोहोरिएका छन् । कोठाभित्रै बसेर घण्टौ विताइदिन्छन् । यसका लागि उनीहरुलाई केवल स्मार्टफोन, ल्यापटप वा यस्तै कुनै उपकरण भए पुग्छ । उनीहरु भर्चुअल संसारमा यति मग्न हुन्छन् कि उनले आफु, आफ्ना परिवार, समाज सबैलाई भुल्छन् ।

यसको जटिलता के छ ? यी बालबच्चाहरु असामाजिक बन्दै जानेछन् । उनीहरु परिवारमा समेत घुलमिल हुन सक्दैनन् । परिवारका सदस्यसँग खुलेर भावना साझेदार गर्न असमर्थ हुन्छन् । आफ्नो दुखसुख साट्न सक्दैनन् । सामाजिक व्यवहार कमजोर हुन्छ । उनीहरु घर-परिवारभित्र पनि एक्लो बन्दी झै बन्न पुग्छन् ।

हो त, तपाई/हाम्रा बालबच्चा बन्दी बन्दैछन् । सामाजिक सञ्जालभित्र बाँधिदैछन् । स्मार्टफोनलगायतले उनीहरुको बालापन खोस्दैछ । उनीहरु भर्चुअल संसारभित्र बन्दी बन्दैछन् ।

नपत्याए छोराछोरीलाई नियाल्नुहोस् त, उनीहरु के तपाईसँग खुलेर रमाउँछ ? के उनीहरुलाई घरायसी कामकाजबारे जानकारी छ ? के उनीहरुले कुनै सामाजिक काममा सहभागिता जनाएका छन् ? के उनीहरुले आफ्नै पहलमा कुनै साथी बनाएका छन् ? के उनीहरु बाहिरी खेलकुदमा लगाव राख्छन् ?

संभवत यी प्रश्नहरुको जवाफ सकारात्मक आउँदैन । यसको अर्थ के भने, बच्चा परिवारबाट टाढिदै गएका छन् । असामाजिक बन्दै गएका छन् ।

गल्ती तपाई/हाम्रै हो । जब हामी घर पुग्छौं, फेसबुकमा झुन्डन्छौं । ट्वीटरमा मग्न हुन्छौं । युट्युव वा कुनै अनलाइन सामाग्रीमा भुलिन्छौं । हामी जे गर्छौं, त्यो बच्चाले सिक्ने नै भयो । हामी मोबाइलमा झुन्डिएर उनीहरुलाई ‘मोबाइल खेलाउनु हुँदैन’ भन्नु हास्यस्पद हुन्छ ।

जब हामी यसरी मोवाइल, टिभी आदिमा आफुलाई भुलाउन थाल्छौं, बच्चाहरुसँग बोल्ने, खेल्ने, रमाउने साथी हुँदैनन् । के घरमा पुगेर मोवाइल खेलाउन भन्दा छोराछोरीसँग रमाउनु राम्रो होइन ?

तपाईलाई थाहा हुनुपर्छ, यसरी ग्याजेट्समा लम्पट भएपछि बच्चाको शारीरिक सक्रियता घट्छ । उनीहरुको शरीरको समुचित विकास हुँदैन । व्यायाम पुग्दैन । यसले मोटोपन बढ्छ । मधुमेह लाग्छ ।

उनीहरुको रचनात्मक क्षमता पनि कमजोर हुन्छ । उनीहरुको मस्तिष्कले कतिपय कुरा ग्रहण नै गर्न नसक्ने अवस्था आउँछ । यस्ता थुप्रै जटिलतातर्फ उन्मुख भइरहेका छन्, तपाई, हाम्रा छोराछोरी ।

अब के गर्ने ?

बच्चाका लागि समय दिनुपर्छ । बच्चासँग धेरैभन्दा धेरै समय बिताउने अभ्यास गर्नुपर्छ । उनीहरुलाई बाहिरी खेलकुदमा प्रेरित गर्नुपर्छ । सामाजिक काममा सहभागी गराउनुपर्छ । घर-परिवारको काममा खटाउनुपर्छ । मोवाइल, ल्यापटप, टिभी आदिको पहुँच सीमित गराइदिनुपर्छ ।

यी कुराहरु भनेजति सजिलै हुँदैनन् । बच्चाले हठात आफ्नो बानी व्यवहार परिवर्तन पनि गर्दैनन् । त्यसैले यसका लागि अभिभावकले उनीहरुसँग धेरै समय विताउनुपर्छ । बच्चासँग खेल्नुपर्छ । बच्चाका खातिर बच्चा बन्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment