Comments Add Comment

इन्जिनियरको चुनावी कर्मकाण्डः दलीय समूह, दास मानसिकता

नेपाली इन्जिनियर माझ चुनावी गर्मी छाएको छ । आगामी मंसिर २८ मा हुने नेपाल इन्जिनियर्स एशोसिएसन (नेइए) को ३२ औं कार्यकारीको चुनावका लागि व्यापक प्रचार–प्रसार चलिरहेको छ । नेतृत्वका लागि मंसिर २८ मा चुनाव हुने भए पनि देशको इञ्जिनियरिङ दिमाग सबै काम छोडेर चुनावी चलखेलमा लागेको असोज २८ भन्दा पहिलेबाटै हो ।

पहिलोपटक देशको संघीय संरचनाअनुसार हुन लागेको यो चुनावबाट एशोसिएसनको केन्द्रीय र सात प्रादेशिक कार्यसमितिहरु चुनिने छन् । सबै विधाका नेपाली इन्जिनियरहरु र आर्किटेक्टहरुको प्रतिनिधित्व गर्ने दाबी छ नेपाल इन्जिनियर्स एशोसिएसनको । तर, आफ्नो यो दाबीलाई अद्यावधिक र सार्थक बनाएर इन्जिनियर समुदायको अधिकतम हिस्सालाई समेट्न कत्तिको सकेको छ नेइएले भन्ने प्रश्न उठेको पनि धेरै भइसकेको छ ।

नेइए नेपाली इन्जिनियरहरुको ट्रेड युनियन हो । अन्य पेशाका यस्ता संघसंस्थाहरु आफ्ना सदस्यहरुको हकहितका सवालमा जति जागरुक र जुझारु देखिन्छन्, त्यति जुझारु नेइए छैन भन्ने आम बुझाई नेपाली इन्जिनियरहरुको छ । नेपाली समाजमा जुन सशक्त र इज्जतदार उपस्थिति नेपाल मेडिकल एशोसिएसन वा नेपाल बार एशोसिएसनको छ, त्यसको दाँजोमा ईन्जिनियर्स एशोसिएसनको उपस्थिति नगण्य लाग्छ । अरु यस्ता पेशागत संगठनहरुले राज्यको निति निर्माण तहमै प्रभाव पार्न सक्ने क्षमता आर्जन गरिसकेका छन्, तर स्थापनाको लामो समयपछि पनि इन्जिनियर्स एशोसिएसनसँग भने त्यस्तो क्षमता छैन ।

इन्जिनियरहरु थोरै हुने र रोजगारीका लागि कुनै पनि समस्या झेल्नुनपर्ने जमानाका इन्जिनियरहरुद्वारा स्थापित संस्था अहिले पनि त्यही जमानामै अड्किरहेको भान हुन्छ । त्यो जमानाका इन्जिनियरहरु लगभग सबैले विदेशमा पढेका थिए भने अहिले देशभित्रै उत्पादन हुने इन्जिनियरहरुको संख्या देश बाहिरबाट आउने भन्दा धेरै भइसकेको छ ।

समाजको जागरुकता बढेको छ, समाजले इन्जिनियरहरुलाई हिजोजस्तो सम्मानको आँखाले मात्र नहेरी आलोचनात्मक आँखाले हेर्न थालेको छ । र, दुःखका साथ भन्नुपर्छ, अहिले वास्तवमा इन्जिनियरहरुप्रतिको सामाजिक दृष्टिकोण घुसखोर र कमिशनखोरका रुपमा मात्र स्थापित हुँदै गइरहेको छ । यो अवस्थामा नयाँ सोच, नयाँ योजना, नयाँ शैली र नयाँ सक्रियताको आवश्यकता देखिन्छ ।

दुःखको कुरा, त्यो सम्भावना यो चुनावले पनि देखाएको छैन । यसपटक पनि कर्मकाण्डी चुनाव, कर्मकाण्डी गतिविधिहरु र कर्मकाण्डी कार्यकालकै सम्भावना देखिन्छ ।

नेपाली इन्जिनियरहरु अत्यन्त नराम्रोसँग राजनीतिकरुपमा विभाजित छन् । विगतदेखि एसोसिएसनका चुनावहरु दलीय समूहका प्रतिस्पर्धाका रुपमा सम्पन्न हुँदै आएका छन् । विगतमा ५/६ समूहसम्म हुन्थे चुनावी प्रतिस्पर्धामा, स्वतन्त्र उम्मेदवारहरु विरलै देखिएका छन् अहिलेसम्म । ठूला वामपन्थी दलहरुको एकताका कारण प्रतिस्पर्धी समूहहरुको संख्या कम भएको छ यसपटक । देशव्यापीरुपमा मुख्यतः दुई समूह मैदानमा छन्, नेपाली कांग्रेस समर्थकहरु ‘प्रजातान्त्रिक समूह’का नाममा र नेकपा समर्थकहरु ‘पेशागत समूह’का नाममा ।

आफूलाई गैरदलीय र गैरराजनीतिक दाबी गर्ने इन्जिनियर समाज नेपालले केन्द्रीय समितिका कोषाध्यक्ष र दुई सदस्य पदमा उम्मेदवारी दिएको छ भने प्रदेश नं ३ मा भने सबै पदहरुमा उम्मेदवारी दिएको छ । अरु प्रदेशमा भने दुई समूहमात्रै देखिएका छन् ।

डा. वसन्त गौतम

यसरी राजनीतिक दलहरुको जोडबलमा र उनीहरुलेनै तय गरिदिएका एजेण्डामा संसदीय चुनावकै झल्को दिने गरी इन्जिनियर समुदायलाई पार्टीगत रुपमा ध्रुवीकरण गरेर लडिने चुनाव इन्जिनियरहरुको नभएर पार्टीकै हुन जान्छ । इञ्जिनियर्स एशोसिएसनले आफूलाई एउटा स्वतन्त्र बौद्धिक थिंक ट्यांकका रुपमा स्थापित गर्नुपर्ने थियो । तर, जुन समूहले कब्जा गरे पनि यो सधैंभरि पेशागत मुद्दामा भन्दा पनि राजनीतिक गतिविधिमै सीमित हुँदै आएको छ । राजनीति गर्नेहरु सजिलै २ र २ जोड्दा ५ हुन्छ वा ३ हुन्छ भनेर झूट बोलिदिन सक्छन् । तर, त्यो सुविधा इन्जिनियरसँग हुँदैन । उसको पेशागत धर्म नै यही हो कि उसले २ र २ जोड्दा ४ हुन्छ भन्नैपर्छ ।

तर, विडम्बना, हामी नेपाली इन्जिनियरहरुले यतिखेर २ र २ जोड्दा ५ हुन्छ भन्ने झूटलाई प्रतिवाद गर्न सकिरहेका छैनौं । हामी नेताको झूटको बोलीमा लोली मिलाउने नीरिह समूहमात्रै बनेका छौं । कथित ‘पेशागत’ वा ‘प्रजातान्त्रिक’ समूहहरु निश्चित दलविशेषका ह्विप पालना गर्ने दास संयन्त्र मात्र हुन् र यस्ता दास संयन्त्रहरुबाट जन्मिने नेइएको नेतृत्व पनि अर्को दास संयन्त्र नै बन्ने कुरामा कुनै शंका छैन ।

युवा पुस्ता पूरै विकर्षित छ नेइएबाट । केही संख्याहरु केलाऊँदा यो स्पष्ट हुन्छ । इन्जिनयरिङ्ग पेशाको नियमनकारी निकाय नेपाल इञ्जिनियरिङ्ग परिषदमा ५० हजारभन्दा बढी इन्जिनियरहरु दर्ता भएका छन् । इन्जिनियरहरुको ठूलो संख्या विगत २० वर्षमा उत्पादन भएका कारण अहिले पेशागत रुपमा सकृय इन्जिनियरहरुको संख्या यो भन्दा २, ३ हजारले मात्रै कम हुनुपर्छ ।

इन्जिनयर्स एशोसिएसनको सदस्य संख्या भने करीब २७ हजारमात्र छ, यसमा पनि धेरैले आफ्नो सदस्यता नवीकरण गरेका छैनन् । आगामी चुनावका लागि नेइएको निर्वाचन समितिद्वारा प्रकाशित अन्तिम मतदाता सूचि १७ हजार १५४ जनाको छ । देशको इन्जिनियरिङ्ग समुदायको आधा हिस्सा नेइएको सदस्य बन्नै नचाहनु र सदस्य बनेकाहरुमा पनि झण्डै आधाले नवीकरण गर्नै नचाहनुले राम्रो संकेत गर्दैन । नवीकरण भएकामा पनि कतिपय चुनावमा उठ्ने ब्यक्ति र समूहहरुले आफैंले पैसा तिरेर नवीकरण गरिदिएकासमेत छन् । यो प्रवृत्ति जारी रहेमा अर्को चुनावसम्म नेइएको मतदाता संख्या अझ घट्न सक्छ । नेइए यसरी ‘खातापिता’ बूढा इन्जिनियरहरुको क्लबका रुपमा सीमित हुनु गम्भीर बिडम्बना हो ।

कुल १७ हजार १५४ मतदातामध्ये १३ हजार प्रदेश नं ३ मा छन् । त्यसमा पनि विशेष गरी काठमाण्डौं उपत्यकामा छन् । यति ठूलो संख्या एउटै भेगमा थुप्रिनुले हाम्रो राज्यको चरम केन्द्रीकृत स्वरुपलाई पनि छर्लङ्ग पारेको छ । गण्डकी प्रदेशमा मतदाता संख्या १ हजार ३ सय छ भने बाँकी प्रदेशहरुमा केही सयको हाराहारीमा मात्र छन् मतदाता ।

चुनावमा उठेको एक समूहले ‘गण्डकी प्रदेश जसरी पनि कब्जा गर्नुपर्छ !’ भन्दै गण्डकी प्रदेशमा मत खसाल्ने गरी अन्यत्रका केही सय इन्जिनियरको ‘नामसारी’ गरेकाले गण्डकी प्रदेशमा मतदाता संख्या बढेको भन्ने चर्चा पनि छ इन्जिनियर वृत्तमा ।

नेपालमै पढेका र विद्यार्थी जीवनमा कथित विद्यार्थी राजनीतिमा खाईखेली गरेकाहरुमा भने एउटा आकर्षण देखिन्छ नेइएप्रति । नेइए पेशागत हक हितका रचनात्मक काम गर्ने नभई दलीय राजनीति गर्ने थलो हो भन्ने मान्यतालाई स्थापित गर्न सघाएको छ यसले । नेइएलाई प्रभावशाली नेता र मन्त्रीका नजरमा पर्नका लागि माध्यम बनाइन्छ । यसैले नेइएलाई कुनै गतिलो ‘कमाऊ’ परियोजनाको ठूलो पद वा कुनै राजनीतिक नियुक्ति पड्काउने ‘स्प्रिङबोर्ड’ भने पनि हुन्छ ।

इञ्जिनियरिङ्ग अध्ययन संस्थानका बहालवाला डिन र विभिन्न क्याम्पसका क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखहरु आफैं उम्मेदवारका रुपमा मैदानमा ओर्लिनुले नेपालका इन्जिनयरिङ शैक्षिक संस्थाहरुमा विद्यार्थी राजनीतिमात्र होइन, चर्को प्राध्यापक राजनीति पनि छ भन्ने स्पष्ट हुन्छ ।

युवा पुस्ताका इन्जिनियरहरु विकर्षित हुनुको कारण नेइए पेशागत गतिविधिमा न्यूनतम र राजनीतिक काममा अधिकतम लाग्नु हो । पढाइ सकिने बित्तिकै युवा पुस्तालाई जागिरको चिन्ता हुन्छ । यतिखेर इन्जिनियरहरुको बेरोजगारी एउटा ठूलो समस्या बनिसकेको छ ।

निरन्तरको राजनीतिक अस्थिरता र न्यून विकास–निर्माण गतिविधिका कारण देशमा आवश्यक संख्यामा इञ्जिनियरिङ्गसँग सम्बन्धित रोजगारीहरु सृजना हुन सकेका छैनन् । युवा पुस्ताका इञ्जिनयरहरुको ठूलो संख्या यसैले विदेश पलायनको मनस्थितिमा हुन्छ । सरकारी क्षेत्र नेपालभित्र सबैभन्दा धेरै इन्जिनियरहरु खपत गर्ने क्षेत्र हो । तर, उत्पादित इन्जिनियरहरुको संख्याको दाँजोमा उपलब्ध अवसर ज्यादै कम छन् । देशको औद्योगिक गतिविधि खासै बलियो हुन नसकेको हुँदा निजी क्षेत्रले झन् सीमित संख्यामा मात्र इन्जिनियरहरु खपत गर्न सकेको छ ।

उचित आम्दानी र सम्मानसहितको रोजगारीको सम्भावना देशमा नदेखेपछि नेपाली इन्जिनियरहरुको ठूलो संख्या विदेशिएको छ । विदेशमा नेपाली इन्जिनियरहरुले राम्रो छवि बनाएका छन् र राम्रै कमाइ पनि गरिरहेका छन् । यसरी देशबाहिर रहेका इन्जिनियरहरुको संख्या नेपालमै कार्यरत इन्जिनियरहरुको संख्याको हाराहारीमै पुगिसकेको वा बढी भैसकको सहजै अनुमान गर्न सकिन्छ ।

देशका विभिन्न इञ्जिनियरिङ्ग कलेजहरुबाट अब निक्लने नव इन्जिनियरहरुमा विदेश पलायनको दर अझ उच्च हुने देखिन्छ । विदेशमै पढेकाहरु पनि सकेसम्म फर्कने छैनन् । नयाँ इन्जिनियरहरुको यो उच्च बेरोजगारी दरको अन्त्य गर्न राज्यको नीतिगत तहमै हस्तक्षेप गर्ने आँट देखाउन सक्नुपर्छ नेइएले ।

नेइएको अर्को बिडम्बना भनेको यसले देश बाहिर बसेका इन्जिनियरहरुलाई विल्कुल समेट्न सकेको छैन । केही समय अघिसम्म कतार, बैंकक, जापान, आदिमा नेइएका शाखा समितिहरु थिए । ती देशमा बसेका सदस्यहरुले नेइएको चुनावमा मत समेत खसाल्न पाउँथे । यसरी समितिहरु हुनु र चुनावमा समेत मत हाल्न पाउनुले विदेशमा रहेका नेपाली इन्जिनियरहरुलाई नेइएसँग जोडिइरहने अवसर दिएको थियो । अर्कोतिर, ती विकसित देशका इञ्जिनियरिङ्ग पेशागत संस्थाहरुसँग नेइएलाई जोड्न पनि यस्ता समितिहरुले पुलको काम गरेका थिए । यसले नेइएको क्षितिज फराकिलो पारेको थियो र नेइएको इज्जत बढाएको थियो ।

तर, अहिले ‘कानूनी’ कारण देखाऊँदै विदेशस्थित समितिहरुको अस्तित्वलाई समाप्त पारिएको छ र विदेशमा रहेका सदस्यहरुले चुनावमा मत दिन नपाउने गराइएको छ । यसले विदेशमा रहेका नेपाली इन्जिनियरहरुको ठूलो समूहलाई नेइएसँग सम्बन्धविच्छेद गर्न भड्काएको छ । यो समस्या समाधान गर्न कुनै बाटो खोज्न नसकिने थिएन । तर, नेइएको संस्थापनका रुपमा रहेका व्यक्तिहरुमा त्यो चाहना देखिएन । उनीहरुको चाहना विदेशमा बसेका इन्जिनियरहरु सकेसम्म नेइएसँग जोडिँदै नजोडिउन् भन्ने देखियो ।

इन्जिनियरहरु जस्तो उच्च प्राविधिक जनशक्तिको संस्थाले देश विदेशमा रहेका सकेसम्म धेरै इन्जिनियरहरुलाई समेट्न सक्नुपर्छ । र, सूचना प्रविधिको यो जमानामा एउटा अनलाइन प्रणाली तयार गरेर जो जहाँसुकै बसेको भए पनि सदस्य बन्न, सदस्यता नवीकरण गर्न र चुनावमा आफ्नो मत प्रयोग गर्न सक्ने बनाउनु कुनै ठूलो कुरा होइन । तर, नेइएका अहिलेसम्मका कुनै पनि नेतृत्वले त्यसमा चासो देखाएका छैनन् ।

नेइएको यसअघिको चुनावमा विद्युतीय मतदान (इ–भोटिङ्ग) हुनुपर्छ भन्ने आवाज पनि उठ्यो । तर, नेइएका दिग्गजहरु तयार भएनन् र अनेक निहुँ पारेर ई–भोटिङ्गलाई रोकियो । यसपटक पनि ई–भोटिङ्ग नहुने निश्चित छ । सदस्यहरुको नवीकरण आफैंले गरिदिएर नवीकरण भएको परिचयपत्रसमेत आफैंले पोको पारेर राखेकाले मतदानका दिन थुप्रै चलखेल हुने स्पष्ट छ । ई–भोटिङ्गमा गएमा यस्ता चलखेल गर्न सजिलो नहुने अनुमान गरेका होलान् चुनाव जित्न कस्सिएका साथीहरुले । तर, इन्जिनियरहरुले नै प्रविधिलाई यसरी अस्वीकार गरेपछि समाजमा के सन्देश जान्छ होला भनेर सोच्ने चेष्टा अलिकति पनि गरिएको छैन ।

आधुनिक इञ्जिनियरिङ्ग कोरा प्रविधिमात्र होइन, यो त प्रविधि, व्यवस्थापन र अर्थतन्त्रको मिहीन संयोजन हो । हाम्रो विकास र समृद्धिको यात्रा अब ब्यापक इञ्जिनियरिङको यात्रा हो । यतिखेर देशका थुप्रै समस्याहरु, थुप्रै मुद्दाहरुमा इञ्जिनियरिङ्ग प्रत्यक्षरुपमा जोडिएको छन् । चाहे त्यो भूकम्पपछिको पुनर्निर्माण होस् वा निजगढ विमानस्थलको मुद्दा होस् वा पानीजहाज र रेलको मुद्दा होस् वा फाष्ट ट्रयाकको विवाद होस् वा उत्तरी नाकाहरुको सञ्चालन होस् वा काठमाण्डौंको यातायात व्यवस्थापन होस् । इञ्जिनियरिङ थिंक ट्रयांकका रुपमा नेइएले यी मुद्दाहरुमा समग्र नेपाली इन्जिनियरहरुको एकीकृत आवाज र स्पष्ट विश्लेषण र समाधानमुखी दृष्टिकोण पेश गर्न सक्नुपर्छ । भूकम्पलगत्तै भूकम्पले गरेको क्षति मूल्यांकनमा नेइएको सकृयता नेपाली इन्जिनियरहरुले गर्व गर्न लायक थियो । तर, त्यसपछाडिका दिनमा त्यो सक्रियता देखिएन । नेइएले पुनर्निर्माणमा स्वयंसेवी अभियान अगाडि लान सक्थ्यो, पुनर्निर्माणमा सरकारको चरम सुस्तता र दलहरुको राजनीतिक खिचातानीका विरुद्ध खबरदारी गर्न सक्थ्यो र नेइएको थोरै सकृयताले पनि सरकारलाई धेरै दबाव दिन सक्थ्यो ।

यसैले यो चुनावको डिलमा उभिएर विचार गर्दा पनि विगतकै चुनावझैं अर्को एक कर्मकाण्डी कार्यकालभन्दा बढीको आशा गर्न सक्ने स्थिति छैन । तर कामना गर्छु, म गलत भएको प्रमाणित होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment