Comments Add Comment

अमेरिकीको औसत आयु घट्यो, औषधिको बढ्दो प्रयोग प्रमुख चुनौती

१४ मंसिर, अमेरिका । औषधिको अत्यधिक प्रयोग र आत्महत्याका कारण मृत्युदर बढेसँगै संयुक्तराज्य अमेरिकामा औसत आयु यसवर्ष पुनः घटेको छ ।

अमेरिकी सरकारको एक प्रतिवेदनमा सन् २०१७ मा औषधिको बढी प्रयोगका कारण ७० हजारभन्दा बढीको मृत्यु भएको उल्लेख छ ।

सन् २०१६ को तुलनामा औषधिको बढी प्रयोगमा ९ दशमलब ६ प्रतिशतले वृद्धि भएको छ भने आत्महत्यामा ३ दशमलब ७ प्रतिशत बढेको छ ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार अमेरिकामा औसत आयु सन् २०१६ को तुलनामा शून्य दशमलब १ ले कमी आएको छ अर्थात् औसत आयु ७८ दशमलब ६ वर्ष भएको छ ।

अमेरिकामा पछिल्ला वर्षहरुमा अफिमको प्रयोग बढेको, दुखाइ कम गर्ने औषधिको प्रयोग बढेको तथा हेरोइन र फेन्टानाइलजस्ता लागूपदार्थको प्रयोग बढेको छ ।

एक दशकपछि सन् २०१५ मा अमेरिकी औसत आयुमा पहिलोपटक कमी आएको थियो, र यसको प्रमुख कारणमा औषधिको अतिरिक्त प्रयोग (ओभरडोज) मानिएको छ ।

समग्रमा, सन् २०१४ देखि नै औसत आयु घट्ने प्रवृत्ति रहेको तथ्यांकले पुष्टि गरेको छ । राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का विश्लेषक रोबर्ट एन्डरसनका अनुसार सन् २०१४ देखि हालसम्म औसत आयुमा शून्य दशमलव ३ प्रतिशतले कमी आइसकेको छ ।

‘औसत आयु घट्दो क्रममा रहेकाले हामीलाई चिन्ता लागेको छ,’ एन्डरसनले बताए । यस किसिमको प्रवृत्ति सन् १९१८ को विनाशकारी फ्लू र पहिलो विश्वयुद्धमा पनि देखिएको थिएन ।

सीडीसीको सन् १९९९–२०१७ को अवधिको अत्यधिक औषधि सेवनबाट भएको मृत्युको विश्लेषणले सन् २०१७ मा मात्र ७० हजार २३७ जनाको औषधिको ओभरडोजकै कारण मृत्यु भएको छ । अधिकांश यो मृत्यु अप्राकृतिक देखिएको छ ।

सन् २०१६ मा सन् २०१५ को तुलनामा २१.६ प्रतिशत बढी मानिसको मृत्यु औषधिको ओभरडोजका कारण भएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment