Comments Add Comment

नेकपाका असन्तुष्ट नेताहरु जिल्ला जिल्लामा जाने

१४ मंसिर, काठमाडौं । पार्टीभित्रको पक्षपात र व्यक्तिवादी एकाधिकारविरुद्ध पार्टी नेतृत्वलाई लिखित पत्र बुझाएका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरुले आफ्नो अभियानलाई जिल्ला तहमा विस्तार गर्ने भएका छन् ।

जगन्नाथ खतिवडा, ठाकुर गैरे, रामकुमारी झाँक्री, डा. बिजय पौडेल, सहितका १८ केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । बिहीबार काठमाडौंमा बसेको समिक्षा बैठकले देशभरबाट सकारात्मक प्रतिक्रिया आएको भन्दै अभियानलाई विस्तार गर्ने निर्णय गरेको हो ।

महासचिव बिष्णु पौडेलमार्फत दुवै अध्यक्षलाई बुझाइएको दस्तावेजको पक्षमा उभिने केन्द्रीय सदस्यको संख्या पनि बढेको छ । पछिल्लो समय सीता गिरी, दिलु पन्त, कृष्ण खनाल, पीएल श्रेष्ठ लगायतले अभियानमा हस्ताक्षर गरेका छन् ।

यसमा पूर्व एमालेतर्फका नेताहरुको मात्र हस्ताक्षर छ । पूर्वमाओवादी खेमाका नेताहरुले पनि यो एजेण्डामा आफूहरुको पनि समर्थन रहेको बताएका छन् ।

उनीहरुले सचिवालय र स्थायी कमिटीका सबैनेताहरुलाई भेटेर लिखित एजेण्डामाथि छलफल गरेका छन् । उनीहरुले अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल,झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग भेट गरेका छन् ।

सबै नेताहरुले पार्टी निर्माणका लागि केन्द्रीय सदस्यहरुले उठाएको चासो जायज रहेको प्रतिक्रिया दिएको खतिवडाले बताए । उनले आफूहरुले पार्टी निर्माण र शुद्धिकरणका लागि उठाएका एजेण्डामा देशभरका कार्यकर्ताबाट सकारात्मक प्रतिक्रिया पाएको भन्दै अभियानलाई ७७ जिल्लामै बिस्तार गरिने समेत बताए ।

खतिवडाले भने, ‘धेरै साथीहरु हस्ताक्षर गर्दै हुनुहुन्छ । कतिपयले विभिन्न कारणले हस्ताक्षर गर्न नसके पनि हाम्रो पूर्ण साथ छ भन्नुभएको छ । हाम्रो यो एजेण्डा कुनै गुट वा व्यक्तिको असन्तुष्टि नभएर देशभरका लाखौं कार्यकर्ताको मनको कुरा हो भन्नेमा सबै सहमत हुनुहुन्छ । कसले एजेण्डा उठायो भन्ने आधारमा कतिपय साथीहरु नकारात्मक बने पनि विषवस्तु सबैका साझा हुन् ।’

हस्ताक्षरकर्ता केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री तथा अर्का पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट्न समय मागेका छन् । तर, तीन÷चार दिनदेखि समय माग्दा पनि प्रधानमन्त्रीको समय नमिलेको केन्द्रीय सदस्य ठाकुर गैरेले बताए ।

सचिवलाय सदस्यहरु ईश्वर पोखरेल र रामवहादुर थापा बादलले पनि समय दिएका छैनन् ।

स्रोतका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली हस्ताक्षर अभियानप्रति असन्तुष्ट छन् । हस्ताक्षर गर्नेहरु विगतमा पूर्वएमालेमा ओली विरोधी खेमामा रहेका कारण पनि अभियानलाई आफूविरुद्ध केन्द्रित रहेको अर्थमा ओलीले लिएका छन् ।

प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लहाकार तथा नेकपा स्थायी कमिटी सदस्य बिष्णु रिमालले एक टेलिभिजन अन्तवार्तामा हस्ताक्षरकर्ताको बिगत कोट्याउँदै उनीहरु एकैखाले भएको टिप्पणी गरेका थिए । माधव नेपाल प्रधानमन्त्री भएका बेला एकपटक ५६ जनाले हस्ताक्षर गरे जस्तै अहिलेको हस्ताक्षर अभियानलाई लिइएको ओली निकट एक नेताले बताए ।

तर, असन्तुष्ट केन्द्रीय सदस्यहरुले भने रिमालको टिप्पणीप्रति आपत्ति जनाएका थिए । हस्ताक्षरकर्ताहरु माधव नेपाल पक्षका भए पनि नेपाल स्वयंले उनीहरुलाई लिखित रुपमा नजान भनेका थिए । बरिष्ठ नेता झलनाथ खनाल लगायतले पनि लिखित रुपमा नगएको भए हुन्थ्यो भन्ने आशय प्रकट गरेपनि एजेण्डा भने पार्टीको हितका लागि नै रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment