Comments Add Comment

सुनिल र रञ्जना अन्तिम आठमा

१४ मंसिर, काठमाडौं । नेपालका सुनिल जोशी र रञ्जना भट्ट दोस्रो दक्षिण एशियाली यु–२१ ब्याडमिन्टन च्याम्पियनसिपको अन्तिम आठमा प्रवेश गरेका छन् ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा सुनिलले पुरुष एकलमा मालदिभ्सका निबाल अहमदलाई २१–१२ र २१–१५ को सेटमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । यस्तै महिला एकलतर्फ रञ्जनाले बंगलादेशकी उर्मी अख्तरलाई २१–१९ र २१–१८ को सेटमा हराउँदै क्वार्टरफाइनलमा पुग्न सफल भइन् ।

हलचोकस्थित एपीएफको कभर्डहलमा भएको खेलमा नेपालका प्रिन्स दाहाल, प्रफुल महर्जन र नविन श्रेष्ठले पनि जित हात पारेका छन् । प्रिन्सले श्रीलंकाका भिरेन नेतासिंघेलाई २१–९ र २१–१६ को सेटमा, प्रफुलले माल्दिभ्सका मोहम्मद राफाहलाई २१–४ र २१–८ तथा नविनले बंगलादेशका गौरव सिंहलाई २१–१७ र २१–७ ले पराजित गर्न सफल भए ।

महिला एकलतर्फ भने रञ्जनाबाहेक अन्य नेपाली खेलाडीले आफ्नो यात्रालाई अगाडि बढाउन सकेनन् । महिला एकलतर्फ रशिला महर्जन भारतकी माल्भिका बान्सोदसँग २१–१० र २१–१२, जेशिका गुरुङ श्रीलंकाकी दिल्मी दियाससँग २१–८ र २१–१५ ले तथा सुनैना मुखिया श्रीलंका कै हसिनी अम्बालङओडेजसँग २१–८ र २१–९ को सेटमा पराजित हुन पुगिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment