Comments Add Comment

निर्मला हत्या घटनामा राष्ट्रसंघले अनुगमन गर्ने

१५ मंसिर, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट प्रकाशित पत्रिकाहरुमा आजबाट सुरु हुन लागेको एसिया प्यासिफिक सम्मेलन र त्यससँग सम्बन्धित समाचारहरु प्राथमिकतामा परेका छन् ।

त्यससँगै कुकुरले रक्तदान गरेको, तराई मधेस फास्ट ट्र्याक निर्माणमा सेनाले गरेको प्रस्ताव र निर्मला हत्या घटनामा राष्ट्रसंघले अनुगमन गर्नेलगायतका समाचारलाई पनि पत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् ।

कान्तिपुर दैनिकका अनुसार महिला हिंसाविरुद्ध संयुक्त राष्ट्रसंघीय विशेषदूत डुब्रभ्का सिमोनोभिचले निर्मला पन्तको हत्या घटनामा राष्ट्रसंघले अनुगमन गर्ने बताएकी छन् । निर्मला प्रकरणबारे सरकारी अधिकारीहरुसँगको भेटमा के कुरा भयो भन्ने कान्तिपुरको प्रश्नमा उनले भनेकी छन्, ‘यस मामलामा थप जानकारीका लागि अनुरोध गरेकी छु । यसबारे अनुगमन गर्ने बताएकी छु ।

कान्तिपुर दैनिकका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका निवर्तमान कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ ।

म्याग्दीमा आपतकालीन खोज र उद्धारका लागि एक वडा एक हेलिप्याड बनाउने तयारी गरिएको, कांग्रेसमा चुनाव प्रणाली बदल्नेबारे छलफल चलेको लगायतका समाचार पनि कान्तिपुरले छापेको छ ।

कुकुरले गर्‍यो दर्जनौंपटक रक्तदान

गोरखापत्र दैनिकमा कुकुरले पनि दर्जनौंपटक रक्तदान गरेको रोचक लाग्ने खबर छापिएको छ ।

ललितपुर भैंसेपाटीस्थित स्नेहा केयर सेन्टरमा रहेको एक जर्मन सेर्फड पोथी कुकुरले तीन वर्षको अवधिमा दर्जनौंपटक रक्तदान गरेको समाचारमा उल्लेख छ । उक्त कुकुरको नाम ‘कोपिला’ हो । त्यसले रक्तदान गरेर अरु धेरै कुुकुरको ज्यान जोगाएको छ ।

मानिसको जस्तो कुकुरको रक्त समूह हुँदैन । त्यसैले एउटा कुकुरको रगत पहिलोपटक दिँदा प्रायः अर्को कुकुरलाई मिल्छ, त्यसले गर्दा कुकुरलाई रगत दिने गरिन्छ ।

गोरखापत्रमा नेपाल र म्यानमारबीच व्यापार तथा लगानी सम्झौता भएको समाचार मुख्य प्राथमिकताका साथ छापिएको छ ।

गाईं-भैंसी पाल्नेका दिन आए

गाई-भैंसी पालेर मनग्गै कमाइरहेकाहरुको कथा अन्नपूर्ण पोष्ट दैनिकको मुख्य समाचार बनेको छ । यो महोत्तरीको खबर हो ।

जिल्ला दूध उत्पादक सहकारी लिमिटेड गौशाला र साना किसान कृषि सहकारी संस्था कान्तिबजारको लगानीमा १२ लाखमा गत साउन ३१ गते दूध संकलन केन्द्र स्थापना भएपछि तीन सय किसान लाभान्वित भएका छन् । पहिले स्थानीय किसानहरुलाई दूध बेच्न समस्या थियो । अहिले कान्तिबजार, भरतपुर, कालिपुर, बटौवाका किसानहरुले सहकारीमा दूध बेचेरै १७ लाखभन्दा बढी रुपैयाँ भित्राएका छन् ।

त्यसैले महोत्तरी गौशाला नगरपालिका १२ कान्तिबजारकी ३२ वर्षीय प्रमिलादेवी महतो खुसी हुँदै भन्छिन्, ‘भैंसी पालेको थिएँ । साँझ बिहान गरी १२/१४ लिटर दूध दिन्थ्यो । तर, दूध बेच्नै समस्या थियो, अब भने गाईंभैंसी पाल्नेका दिन आए ।’

अन्नपूर्णले काठमाडौं महानगरमा ८० प्रतिशत शिक्षक हाटा (हाजिर गर्ने, टाप ठोक्ने) पाइएको समाचारलाई पनि पहिलो पृष्ठमा स्थान दिएको छ ।

नागरिक दैनिकले नेपाली सेनाले डिपिआरबिनै फास्ट ट्र्याक निर्माण अघि बढाएको समाचारलाई मुख्य प्राथमिकता दिएर छापेको छ । फास्ट ट्र्याक निर्माणको जिम्मा पाएको नेपाली सेनाले अहिले ट्र्याक खोल्ने काम गरिरहेको छ ।

समाचारमा लेखिएअनुसार विगतमा भारतीय कम्पनी आइएल एन्ड एफएसले बनाएको डिपिआरको मूल्य निकै बढी तोकेपछि सेनाले उक्त डिपिआर खरिद गर्न अस्वीकार गरेको थियो । त्यो डिपिआर खरिद नगरेपछि यतिखेर सेनासँग फास्ट ट्र्याकको नयाँ डिपिआर छैन ।

सेनाले दक्षिण कोरियाको सोसुङ्ग इन्जिनियरिङ कन्सल्टेन्सीलाई डिपिआर तयार गर्न लगाएको छ ।

नागरिक दैनिकले एसिया प्यासिफिक सम्मेलनमा भाग लिन काठमाडौं आएकी फिलिपिन्सकी उपराष्ट्रपति मारिया लेनोर रोब्रेडोको अन्तरवार्ता पनि छापेको छ ।

नेपाल समाचार पत्रले एक आईएनजिओले आयोजना गरेको एसिया प्यासिफिक सम्मेलनका कारण नेकपाको सचिवालय बैठक स्थगित भएको, राजधानी दैनिकले प्रशासनिक प्रयोजनका लागि ७५३ वटै स्थानीय तहको भौगोलिक वर्गीकरण गर्न लागिएको र नयाँ पत्रिका दैनिकले अंग प्रत्यारोपणको नालीबेली छापेको छ । कुन अंग दान गर्न मिल्छ, कसरी र कतिखेर अंगदान गर्ने, नेपालमा अंग दान गर्ने चर्चित व्यक्तिहरु कोको हुन् लगायतका विषय समाचारमा समेटिएको छ ।

हेर्नहोस् आजका पत्रिकाका फ्रन्ट पेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment