Comments Add Comment

रोल्पा डायरीको अन्तिम पन्ना 

यो ‘सलाम रोल्पा’ मा छुटेको पन्ना हो ।

‘अग्रगामी छलाङ’ का लागि निकै सुझबुझ किसिमले तारतम्य मिलाउनु आवश्यक थियो ।

र, बडो ‘कुशलतापूर्वक’ मिलाइयो पनि ।

अन्तर्राष्ट्रिय क्षेत्रमा ‘रिम’ सम्बद्ध पार्टीहरू तथा भारतका माओवादी सङ्ठनहरूले प्रचण्डलाई नपत्याएर गौरवलाई नेता मान्ने गरेको पीडास्वरूप गौरव पक्राउको चाँजोपाँजो मिलाइसकेपछि, नयाँ जनवादी क्रान्ति सम्पन्न नहोउन्जेल दायाँबायाँ  गर्न पाइँदैन भन्ने कमरेड किरणको अडानलाई सिलिगुडीमा व्यवस्थित गरेपछि, क्रान्तिकारी धारवालाको बहुमतलाई पटना पक्राउ प्रकरणबाट मिलान गरिसकेपछि, र विचार र सङ्गठनमा बाबुरामले भनेअनुसार जाने तारतम्य मिलेपछि राहतको लामो सास फेराइका साथ चुनवाङ बैठकका नाममा रुवावासीको घतलाग्दो ऐतिहासिक नाटक मञ्चन भयो ।

दिल्लीमा बडे म्याडमहरूले कपाल लुछालुछ गरेको घटना पनि बिर्सिने कुरा स्वतः हुने नै भयो । त्यसपछि  एरिस्टोटलको विरेचन सिद्धान्तका झैँ सबै विरेचित भएर “रूपान्तरण”  को नयाँ अभियान आरम्भ भयो । यही “महान् रूपान्तरण” पछि नयाँ जनवादी गणतन्त्रको स्थानमा “लोकतान्त्रिक गणतन्त्र” मा जाने ‘महान्’ विचार संश्लेषित भएको थियो ।

यसका लागि केन्द्रीय आधारक्षेत्र, त्यसमा पनि रोल्पाको चित्त बुझाउनु आवश्यक थियो । पहिलेदेखि नै खटरपटर पर्ने कमरेड अनन्त र बिप्लवबीच तालमेल मिलाउनु पनि आवश्यक थियो । दुवै तीव्र महत्वाकाङ्क्षी, यसै परे प्रचण्डपछिको म नै हुँ भन्ने खालका थिए ।  ‘शान्तिप्रक्रिया’ पछि दुवै बाबुरामले मन पराएका पात्र थिए ।

खरिपाटी बैठकपछि  ‘कान्तिपुर’ दैनिकमा बाबुरामले पार्टीमा आफूलाई मन पर्ने युवा नेता  भनेर अनन्त, बिप्लव र गङ्गा श्रेष्ठको नाम  लिएको कुरा पनि सबैलाई थाहा भएको कुरा हो  ।

सिलिगुडीमा कमरेड किरणलाई  लामै किसिमले व्यवस्थित गरेपछि अनन्त पुर्वी कमान्डमा तैनाथ गरिए । सोझा दिवाकर, बिप्लवले सधैँ कचकच गरेर हैरान पारिएका दिवाकरलाई आधार इलाकीय कमान्डबाट सुदूर पश्चिममा ठेलियो । त्यसपछि बिप्लवले स्यायी समितिको हकदारसहित आधारइलाकीय कमान्डको जिम्मेवारी पाउनु अनौठो कुरा थिएन ।

डा. ऋषिराज बराल

चाँजोपाँजो मिलाउने क्रममा बाबुरामका माथिल्लो तहका मान्छे एक तह नझर्ने, तर अरूले क्रान्तिकारी स्पिरिट देखाउँदै एक तह तल झर्नु पर्ने ‘क्रान्तिकारी अभियान’ पनि तारतम्यकै उपज थियो । यस अभियानपछि अब पोलिटब्युरो केन्द्रीय समिति सबैतिर ‘रूपान्तरित प्रचण्ड-बाबुरामहरू’ को बहुमत हुने नै भयो । अलिकति रुकुमले असन्तुष्टि जनायो । “ममाथि बम प्रहार गर्न खोजिएको थियो, फुयुज पारिदिएँ” भनेर प्रचण्डले जनपरिषद्को बैठकमा उद्घोष गरे । ज-जसले असन्तुष्टि जनाएका थिए, ती किनारा लागे । प्रभाकरलाई त धेरैपल्ट कान समातेर उठबस गर्न लगाइयो ।

त्यसपछि आरम्भ भयो अँध्यारो सुरुङयात्रा ।

चुनवाङ बैठक समापनको भोलिपल्ट सहिद परिवारसित भेटघाट गर्ने कार्यक्रम थियो ।  “पार्टी फुट्ने भयो भनेर हामी बडो पीडामा थियौँ, सहिदको रगत खेर जान्छ कि भन्ने लागेको थियो… पार्टी एकताबद्ध भएको सुन्दा खुसी लाग्यो”— जे सिकाइएको थियो, सहिद परिवारले त्यही भन्यो ।

नाटक गर्न सिपालु प्रचण्डले पनि गला भरिएको जस्तो स्वर पारे, रुन लागेजस्तो अभिनय गरेर सहिद परिवारलाई मख्ख पारे— “हामी दुस्मनको ढाडमा टेकेर ठाउकोमा हान्न लागिरहेछौँ, कमरेडहरू ! धोका हुने छैन, हामी एकताबद्ध छौँ” । पार्टीले नयाँ जनवादी क्रान्ति छाडेर बुर्जुवा बहुदलीय व्यवस्था,’लोकतान्त्रिक गणतन्त्र’ को दिशा तय गरेको भित्री निर्णयचाहिँ सहिद परिवारलाई सुनाएनन् उनले । भित्री गाँठी कुरा त धेरैलाई सुनाएनन् उनले । “दुस्मनको ढाडमा टेकेर ठाउकोमा हान्ने” भनिएको थियो सबैलाई ।  कार्यनीतिमा मात्र नभएर रणनीतिक उद्देश्यमा नै दिल्लीमा सम्झौता भैसकेको रहेछ । सबै कुरा दिल्लीमा तय भएर उतै ‘महान् रूपान्तरण’ को एक चरण पूरा गरेर चुनवाङमा त नाटक मन्चन गरिएको मात्रै रहेछ ।

सहिद परिवारको भेटघाटको दृश्य सम्पन्न गरेपछि केन्द्रीय सदस्यहरूले सामूहिक फोटो खिच्ने कार्यक्रम पनि सम्पन्न भयो । अब सबै कमरेडलाई क्रान्तिकारी भाव र उत्साह दिन सांस्कृतिक कार्यक्रम देखाउने भनियो । केन्द्रीय टोली ‘सामना परिवार’  र आधारइलाकीय ‘प्रतिरोध सांस्कृतिक परिवार’ यसका लागि तयार पारियो ।  कार्यक्रम बैठकस्थलभन्दा अलिमाथि सम्म ठाउँमा गर्ने निधोसहित कलाकारहरू त्यसको तयारीमा लागे  । कपडाले बेरेर कामचलाउ मञ्च बनाइयो ।

भर्खरै खारा मोर्चाको असफलताको पीडा थियो । प्रचण्ड स्वयंले  कमान्ड गरेको यो मोर्चामा सारै ठूलो नोक्सानी भएको थियो । तयारी प्रशिक्षणको टेप नै बाबुराममार्फत दुस्मनको हात परेकोले हार भयो  भन्ने चर्चा तलदेखि माथिसम्म फैलिएको थियो । युद्ध मोर्चामा आन्तरिक  तालमेलको अभाव र केही मात्रामा रुकुम-रोल्पाको आन्तरिक द्वन्द्व  हारको एउटा कारण थियो । पासाङको कायरताका कारण हारियो भन्ने टिप्पणी पनि व्याप्त थियो । वास्तवमा खारा मोर्चा जित्दाजित्दै हारेको मोर्चा थियो । कमरेड जित गुमाएको गणेशपुर मोर्चापछि असाध्यै पीडा गराउने मोर्चा थियो खारा मोर्चा । गणेशपुर मोर्चाको पनि सही किसिमले समीक्षा भएको छैन, गर्नु आवश्यक छ ।

कलाकार दीपा कमरेडको बसाइ सानी छोरीका कारण पाख्रिन दाइ-भाउजूका साथ हुन्थ्यो । अभिभावकको भूमिकामा उहाँहरू हुनुहुन्थ्यो । दीपाका जीवनसाथी कमरेड प्रशान्त खारा मोर्चामा सहिद हुनुभयो । पाख्रिन दाजुभाउजूसितै बसेकी दीपा र सानी छोरीको पीडालाई पाख्रिन दाइले नजिकैबाट बोध गरेर सामान्यीकरण गर्नुभयो र तयार पार्नुभयो अपेरा युद्धभूमिबाट फर्किँदा

भर्खरै जीवनसाथी गुमाएकी दीपाका लागि त्यो अभिनय गर्नु साच्चिकै पीडादायी थियो । तर, उनले कुशलतापूर्वक यो कार्य गरिन् । त्यो अपेराले त्यति सारो प्रभावित पार्नुका पछाडि विषयवस्तुको गाम्भीर्य त थियो नै, दीपाको सजीव अभिनय  पनि थियो । पूर्वीय साहित्य सिद्धान्तमा रस सिद्धान्तले भनेझैँ  रसनिष्पत्तिको सामान्यीकरण भएको थियो त्यहाँ । सबै रुनु स्वाभाविक थियो । यो चाहिँ असली रुवाइ थियो– चुनवाङ बैठकको जस्तो रुवाइ होइन  ।

प्रचण्ड-बाबुरामले सबै भारतलाई बुझाइसकेका रहेछन् भन्ने कुरा हामी इमान्दार भनौँदाले  बुझ्न  सकेनौँ । उल्टै, युद्धभूमिबाट फर्किँदा  अपेराले भनेझैँ “लड्नैपर्छ यो अन्तिम युद्ध तिमीले” भनेर प्रचण्डप्रति आशावादी र विश्वस्त बनिरहेका थियौं  । कति सारो श्रद्धावाद ! कस्तो एकोहोरो इमानदारी !

सो कार्यक्रमका प्रस्तुतिहरू सबै प्रभावकारी थिए । माथि दुस्मनको हवाइजहाजले चक्कर मारिरहेको अवस्था र अचानक बदली भएर पानी पर्लाजस्तो भएर हावा चलेको मौसममा गरिएको त्यो कार्यक्रम साँच्चिकै  ऐतिहासिक थियो । कार्यक्रमले एक किसिमको उदात्त भावेगको निर्माण गरेको थियो ।

सो कार्यक्रमको अडियो-भिडियोको सम्पादनका साथ तयार पारेर वितरण गर्ने जिम्मा पूर्ण घर्तीलाई दिइएको थियो । उनलाई सांस्कृतिक मोर्चाको यस विभागको जिम्मेवारी पनि थियो । उनले यो काम प्रचण्डपुत्र प्रकाशको बाहुलीको सहयोगका साथ सम्पन्न गरेको भन्ने थाहा भयो  ।  तर, सो कार्यक्रमको अडियो र भिडियोमा त्यति प्रभावकारी अपेरा युद्धभूमिबाट फर्किँदाका  स्रस्टा खुसीराम पाख्रिनको एक झलक अनुहार देखाउनु आवश्यक ठानिएन  । कार्यक्रमको उद्देश्य,   उदघोषकको आवाज र अनुहार पनि  गायब पारेर गजबको सम्पादन गरिएछ ।  सो कार्यक्रमको सञ्चालन मैले (त्यतिबेरका सांस्कृतिक मोर्चाका केन्द्रीय महासचिव  ऋषिराज बरालले) गरेको थिएँ । पाख्रिन र बराल दुवै श्रव्यदृश्यबाट ‘आउट‘ भए/गरिए छन्  ।

पार्टीभित्र जनयुद्धलाई विसजर्न गर्ने तारतम्य मिलाइसकिएको रहेछ । तलकालाई थाहा दिइएन । एक थरी, खास गरेर आधारइलाकीय अहङ्कारी मानसिकता र असहिंष्णु प्रवृत्ति बोकेकाहरूले “टाउको जोगाउन यी सहरबाट गाउँ पसेका” भनेर जनयुद्धमा होमिएका बुद्धिजीवीहरूप्रति नमीठो टिप्पणी गरे पनि, “सहरी सुखसुविधा र जागिर छाडेर हामी युद्धमा होमिएका हौँ, बुद्धिजीवीहरू कलम र चक-डस्टर मात्र होइन, आवश्यक पर्यो  भने बन्दुक पनि समात्न सक्छन्”  भन्ने गर्ववोध थियो हामीमा ।

प्रचण्ड-बाबुरामले सबै भारतलाई बुझाइसकेका रहेछन् भन्ने कुरा हामी इमान्दार भनौँदाले  बुझ्न  सकेनौँ । उल्टै, युद्धभूमिबाट फर्किँदा  अपेराले भनेझैँ “लड्नैपर्छ यो अन्तिम युद्ध तिमीले” भनेर प्रचण्डप्रति आशावादी र विश्वस्त बनिरहेका थियौं  । कति सारो श्रद्धावाद ! कस्तो एकोहोरो इमानदारी !

नेपालको माओवादी आन्दोलन अहिले जेजस्तो स्थितिमा भए पनि हिजोका दिनमा विश्वलाई आकर्षित गर्न यो सक्षम भएको थियो । यसले नेपाली उत्पीडित जनतामा आशा र विश्वास जगाएको थियो  । होमिएका थिए मान्छे—“मरे सहिद, बाँचे संसार” भनेर ।

माओवादी आन्दोलनका पक्षमा जनमत निर्माण गर्न दरिलो  भूमिका खेल्ने र  त्यसलाई अन्तर्राष्ट्रियकरण गर्न र आवश्यक पर्दा एक हातमा कलम र एक हातमा बन्दुक लिएर युद्ध मोर्चामा लामबद्ध हुन तछाडमछाड गर्नेहरूको  इतिहास हो—माओवादी सांस्कृतिक मोर्चाको इतिहास । बलिदानको गौरवमय इतिहास गाँसिएको छ, लेखककलाकारहरूको इतिहाससित  । कृष्ण सेन, हर्षबहादुर शाही, चुनु गुरुङ, शिव श्रेष्ठ, शारदा श्रेष्ठ, च्याङ्वा लामा, डि कौडिन्य, रोहित कोइराला लगायत थुप्रैको बलिदानीपूर्ण इतिहासको अर्को नाम हो माओवादी सांस्कृतिक मोर्चा । उदात्तपूर्ण  र गौरवमय इतिहासका संवाहकहरू उपभोक्तावादका माध्यम हुन सक्तैनन् ।

अहिले विभिन्न कारणबस विभिन्न समूहमा विभाजित भएका भए पनि, सबैका आ-आफ्ना सीमा र समस्या भए पनि, कोही क्रन्तिचेतले उत्प्रेरित भएर र कोही वाध्यात्मक किसिमले भए पनि,  हिजोका ती अप्ठयारा र आँधीमय दिनमा युद्ध मोर्चामा होमिएर माओवादी आन्दोलनलाई सांस्कृतिक मोर्चाका तर्फबाट वैचारिक तथा भौतिक किसिमले ऊर्जावान बनाउने कृष्ण सेन, खुसिराम पाख्रिन, ऋषिराज बराल, माइला लामा, ईश्वरचन्द्र ज्ञवाली लगायतका सांस्कृतिककर्मीहरूको  योगदानको कदर गर्नु आवश्यक छ । यी घरपरिवार सबै कुरा छाडेर युद्ध मोर्चामा होमिएका स्रष्टाहरू हुन् भनेर हामीले बुझ्नु आवश्यक छ ।

युद्धमा नहिँडे पनि त्यो भन्दा गहकिलो गरी कलम चलाउने पूर्णविराम नेपालको माओवादी सांस्कृतिक आन्दोलनको एउटा धरोहर हुन् ! उनको इतिहासलाई बिर्सनु सारै ठूलो बेइमानी हो । यी सबै पौरखी हातहरूको इतिहासलाई लत्याएर अहिले राम्रो, वैज्ञानिक र उन्नत इतिहास लेख्छु भनेर कसैले पनि अहङ्कार नगरे  हुन्छ । यो जगबिना क्रान्तिकारी सांस्कृतिक आन्दोलनको कुरा गर्नु हावामा महल बनाउनु मात्र हो । लु  स्युनले भनेझैँ प्रतिभाको निर्माण गर्ने कुरा निकै गारो छ ।

हामीले हाम्रा नेताहरूलाई असाध्यै विश्वास गर्यौं  ।  धोका देलान् भनेर सोच्दा पनि सोचेनौँ । पार्टीको ‘रणनीतिक आक्रमण’ को चरण घोषणाका साथ आएको “ढाडमा टेकेर टाउकोमा प्रहार” गर्ने भन्ने नीतिप्रति अविश्वास गर्ने कुरा भएन । “ढाडमा टेकेर टाउकोमा  हान्ने” भनाइको अर्थ त अर्कै रहेछ  । थाहै नपाई हामी अँध्यारो सुरुङभित्र पसेछौँ । जब होसमा आयौँ,  समय अर्कै भइसकेको थियो । स्थिति अर्कै बनिसकेको थियो ।

प्रियजनहरू ! आगो निभेको छैन र निभ्नेवाला पनि छैन ।

हामी खाजा-सामलको जोरजाम गर्दैछौं  ।

मरेका छैनन् सपनाहरू  ।

सम्झन्छु चारू मजुमदारले भनेको– “जो आफू पनि सपना देख्दैन र अरूलाई सपना देख्न सक्ने बनाउँदैन, ऊ क्रान्तिकारी हुन सक्तैन ।

सत्य यही हो ।

अन्तिम पन्नाको एउटा अनुच्छेद अझै बाँकी छ…  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment