Comments Add Comment

अमर न्यौपानेको अनुभवः पुस्तक विमोचनमा के बोल्ने ?

१५ मंसिर, काठमाडौं । कुनै पनि पुस्तक विमोचनको तयारी भव्य हुने गर्छ । दर्शकको उपस्थिति बाक्लिने क्रमसँगै मञ्च तातिन थाल्छ । मञ्चमा प्रमुख अतिथि लगायत वक्ताहरू पुग्छन् । र, त्यस्तै वक्ता भएर धेरैपटक बोलेका छन्, उपन्यासकार अमर न्यौपानेले पनि ।

पुस्तक विमोचन समारोहहरुमा वक्ता हुँदाको अनुभव सुनाउँदै न्यौपाने भन्छन्, ‘किताबमाथि बोल्नु साह्रै गाह्रो काम हो ।’

विमोचनमा उपस्थित वक्ताहरुले पुस्तकको सवल र दुर्बल दुवै पक्ष मिहीन ढङ्गले स्रोता र आम पाठकसामु राखिदिनुपर्छ र त्यसमा इमान्दारिता चाहिन्छ भन्ने न्यौपानेको बुझाइ छ । वक्ताले के बोलिदेलान् भन्ने उत्सुकता उपस्थित सबैमा हुने र सबभन्दा बढी उत्सुकताचाहिँ लेखकमै हुने उनी बताउँछन् ।

विमोचनको सीमा र शक्ति

पहिलोपटक न्यौपाने खण्डकाव्य ‘कृष्ण’ को विमोचनमा वक्ता बनेका थिए । कृष्ण धरावसीले कृष्णलाई ‘राधा’ उपन्यासमा भिलेन बनाएका थिए भने कुमार भट्टराईले ‘कृष्ण’मा हिरो । त्यो किताबमाथि रजनी ढकाल र आफूले बोलेको न्यौपाने सम्झन्छन् ।

विमोचनमा उनी सकारात्म वा नकारात्मक नभएर शक्ति र सीमा भनेर बोल्छन् । यसको सीमा यो हो, शक्ति पक्ष यो हो भनेर छुट्याउँछन् । उनी भन्छन्, ‘सीमा भनेको सीमाना हो, लक्ष्मण रेखा हो । देशको सीमाना हुन्छ, मान्छेको पनि सीमा हुन्छ । त्यही सीमाभित्र अटाएर बोल्ने हो ।’

‘कृष्ण’देखि ‘काठमाण्डौंमा एकदिन’सम्मका विमोचनमा न्यौपाने वक्ता बनेका छन् । सुरुवाती चरणमा मञ्चमा उभिँदाको मनस्थिति फरक थियो । ‘कृष्ण’ खण्डकाब्यमा ८ वर्ष अघि उनले बोलेका थिए । भर्खर नेपाली साहित्यमा उदाउँदै गरेका उनी वक्ता भएर उभिइँदा डराएका थिए । लेखकीय अहम सानो थियो । उनी भन्छन्, ‘अहिले लेखनको अहम झल्किन खोजेझैं लाग्छ ।’

पहिला कमैले चिन्थे, अहिले सबैले चिन्छन् । पहिला बोल्दा तयारी धेरै गर्थे । अहिले तयारी छिटो हुन्छ । बोल्नलाई बोलाउने सबैले प्रेमपुर्वक बोलाएका हुन्छन् । पहिले लेखकभन्दा कितावमाथि धारण बनाएर बोल्थे । ‘नयाँ लेखकका किताबमाथि बोल्न अलि अप्ठ्यारो लाग्छ’, न्यौपाने भन्छन्, ‘पुरानाको हकमा भने भने पहिला लेखकप्रति धारणा बन्ने रहेछ ।’

उनी पुस्तक पढ्दा चिन्ह लगाएर पढ्छन् । मन परेको लाइनहरूमा दोहोरो अण्डरलाइन गर्छन्, वाक्य नबुझिए प्रश्न चिन्ह बनाउछन् । खड्किएको कुरा पेजकै दायाँबायाँ लेख्छन् । कसैको ओपनिङ कमजोर पाउछन्, कहीँ एण्डिङ साह्रै कमजोर लाग्छ । तर, जति केरकार गर्छन्, त्यसको १५ प्रतिशत पनि बोल्दैनन् वक्ता भएर मञ्चमा पुगेपछि । ‘काठमाडांैमा एकदिन’, ‘ऐलानी’, ‘छाउघर’ लगायतका पुस्तकको हकमा त्यही भयो । मञ्चमा उभिएर उनी बढीमा ‘यस्तो गरिदिएको भए, त्यसो गरेको भए अझ राम्रो हुन्थ्यो’ भन्छन् ।

पहिलोपटक किताबले संसार हेरेको विमोचन एउटा पूजा हो, त्यसको आँखामा धुलो लगाउनुहुँदैन । अन्तरक्रियाहरूमा त्यसका सीमा संख्या बढ्दै जान्छन् । बौद्धिक पाठकले किताबका कमीकमजोरी खुट्याउँदै जान्छन् । ‘पाठकहरूको हातमा पुगेर बहस चलोस्’, न्यौपाने भन्छन्, ‘विमोचनमै नकारात्मक बोल्नुपर्छ भन्ने मलाई लाग्दैन ।’

उनलाई लाग्छ- लेखक खुशी बनुन्, ‘मास’लाई ‘मोटिभेशन’ होस्, प्रकाशकले पनि किताब बेचुन् र पाठकले पढ्न पाउन् । बिषेशतः लेखकलाई उर्जावान बनाउन वक्ताले ध्यान दिनैपर्छ भन्ने न्यौपानेको तर्क छ ।

आलोचना कम

विमोचनका वक्ताले पुस्तक सबैभन्दा पहिला पढ्नुपर्छ । ध्यानपूर्वक किताव पढेपछि कसरी, के बोल्ने भनेर तयारी गर्नुपर्छ । त्यसक्रममा न्यौपाने किताबलाई दुई भागमा बाँडफाँड गर्छन् र विमोचनमा ९८ प्रतिशत सकारात्मक टिप्पणी गर्छन् र २ प्रतिशत त्यसका सीमाका विषयमा बोल्छन् । ‘पुस्तक विमोचन भनेको लेखकको लागि उत्सव हो’, उनी भन्छन्, ‘त्यो दिन आलोचना होइन, प्रोत्साहन हुने किसिमले पुस्तकमाथि बोलिदिनुपर्छ ।’

लेखकको निम्ति जहिल्यै प्यारो हुन्छ आफ्नो कृति । त्यसको प्रशंसा गरिदियो भने किताबको कमजोरी लुकायो भनेर कत्तिले व्यङ्ग्य गर्छन् । वक्ताको रुपमा न्यौपाने ती कुराहरू सुनिदिन्छन् । बहस हुने ठाउँमा मात्र उनी दोहोरो कुरा गर्छन् । उनी किताबका कमजोरीहरु विमोचनमा भन्दा लेखकलाई भन्न रुचाउँछन् । कति वक्ताले किताबमाथि उल्टोसुल्टो पनि बोलि दिन्छन् । तर, न्यौपाने त्यस किसिमको भाषा बोल्न चाहन्नन् ।

विमोचनमा वक्ता भएपछि लेखकलाई उत्साहित पार्ने र प्रकाशकलाई किताबको बिक्री बढाउने हिसाबले बोलिदिनुपर्ने हुन्छ । त्यसक्रममा मञ्चमा उभिएर बोल्दा न्यौपाने दर्शक/स्रोता कसरी प्रभावित हुन्छन् भन्ने कुरामा जहिल्यै ख्याल राख्छन् । मञ्चमा बोल्नु आफैमा जटिल काम हो । त्यसमा पनि किताबमाथि बोल्नु निकै चुनौतीपूर्ण हुन्छ । त्यसकारण विमोचनमा अत्यन्त कम सहभागी हुन्छन्, उनी ।

औपचारिकतामा हृदयको कुरा बोल्न कमै पाइन्छ । त्यहाँ अत्यन्त संयमित भएर दिमागले बोल्नुपर्छ । अनौपचारिकतामा भने बिना दकस सत्य बोल्न पाइने न्यौपानेको अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment