Comments Add Comment

फेवा किनारको लिटरेचर फेस्टिभलः काठमाडौंभन्दा पोखरा महंगो !

१५ मंसिर, पोखरा । भारतीय चर्चित लेखक उदय प्रकाशलाई पोखरामै भेट्न पाइएला भन्ने धेरै साहित्य पारखीलाई कल्पनासम्म थिएन । छतरीवाली लड्की, वाल्ज अफ दिल्ली, मोहनदासजस्ता मानक आख्यान लेखेका कथाकार उदय प्रकाश पोखरामा भेटिएनन् मात्र, विश्व साहित्य र आख्यानका विषयमा अन्तरंग गरे ।
पत्रकार तथा लेखक यज्ञशद्वारा अनुवादित नेलकटर पोखरामै लोकापर्ण भयो । आˆना पि्रय लेखकसँगको यो ऐतिहासिक भेटलाई धेरैले मोबाइकलमा कैद गरे, सेल्फी लिए ।

अर्का भारतीय इतिहासकार रामचन्द्र  गुहा फेवाताल किनारमा गम्भीर बहसमा थिए । इन्डिया आˆटर गान्धी, मेकर्स अफ मोडर्न इन्डिया जस्ता चर्चित पुस्तक लेखेका गुहालाई आँखै अगाडि सुन्ने मौका सजिलै मिल्नेवाला थिएन ।

‘उदय प्रकाश, रामचन्द्र गुहाजस्ता लेखकलाई भेट्न पाइन्छ, उनका विचार र धारणा सुन्न पाइन्छ, अन्तरंग कुराकानी गर्न पाइन्छ भन्ने कल्पनासम्म गरेको थिइन्,’ पोखराका रघुनाथ अधिकारीले भने, ‘उनलाई भेट्नकै लागि भनेर भारतसम्म साइत निकाल्नुपथ्र्यो होला वा हाम्रो पहुँचमै नहुन पनि सक्थे ।’

उदय प्रकाश र रामचन्द्र गुहाजस्ता विदेशी लेखकसँगै नेपालमा घगडान लेखक, कलाकार, राजनीतिज्ञ, वुद्धिजीवी पोखरा फेवातल किनारमा भेटिन्थे । मन परेका लेखक अमर न्यौपाने, वुद्धिसागरलाई आँखामा आँखा मिलाउँदै गफ गर्ने मौकालाई गुमाउन चाहिनन्, मोनिका रानाभाट । उनले सेल्फी लिइन् र फेसबुकमा पोस्ट गरिन् ।

महानायकको संज्ञा पाएका राजेश हमालदेखि लोडसेडिङको अन्त्य गरी नायक बनेका प्रशासक कुलमान घिसिङ, नेता गगन थापासम्म यही फेवा किनारमा भेटिए । शिक्षाविद् केदारभक्त माथेमा, आख्यान पुरुष ध्रुबचन्द्र गौतम, कवि वैरागी काइँला, गायक रामेश, बौद्धिक हरि शर्मा, युवा संगीतज्ञ लोचन रिजाल, महजोडीसम्मको मन्थन र प्रस्तुतिले फेवा किनार विचार, विमर्श गर्ने गम्भीर थलोसँगै साहित्यमय बन्यो ।

नारायण वाग्ले, खगेन्द्र संग्रौला, युग पाठक, नयनराज पाण्डे, कवि तीर्थ श्रेष्ठ, नवरराज पराजुली, सरीता तिवारी, सवित्री गौतम, गनेस पौडेल, कुमार नगरकोटीसम्मलाई एउटै मञ्चमा गुञ्जिए । ‘नयाँ, पुराना लेखक, साहित्यकार, राजनीतिककर्मीलाई एउटै मञ्चमा देख्न, सुन्न, अन्तरंग छलफल र विमर्श गर्न पाउनु सानो कुरा होइन,’ युवा नेता नेत्र चापागाईं भन्छन् ।

फेवा आँगनमा देशविदेशका लेखक जम्मा हुने थलो बन्यो, नेपाल लिटरेचर फेस्टिभल । २०७२ र २०७३ सालमा बुकवर्म फाउन्डेसनले पोखरामा लगातार लिटरेचर फेस्टिभल गर्‍यो । भूकम्पपछि पोखरामा भएको फेस्टिभलले ०७४ निरन्तरता पाएन । यस वर्ष फेरि पोखरामै सातौं लिटरेचर फेस्टिभलको तयारी सुरु भएको छ । यही पुस ७ देखि १० गतेसम्म बाराही घाट फेवातालको किनार नेपाल ट्रस्टको मैदानमा हुने वौद्धिक कुम्भमेलाले पोखरेलीलाई उत्साही बनाएको छ ।

एउटै थलोमा मन परेको लेखक वा सेलिबि्रटी भेट्न, तस्बिर खिच्न, छलफल-विमर्श गर्न, पुस्तक किन्न, अटोग्राफ लिन फेस्टिभल दुलर्भ अवसर हो ।

पोखरालाई ब्रान्डिङ गर्ने अर्को इभेन्ट

पोखरामा भएको पहिलो लिटरेचर फेस्टिभलमा योजनाविद् प्राडा पीताम्बर शर्माले भनेका थिए, ‘तपाईंहरूका अगाडि आफ्ना पूरा कमजोरीका साथ उपस्थित हुनुको कारण त पोखरा नै हो । यो मेला पोखरामा नभएको भए कदाचित म यहाँ आउने नै थिइन, भागै लिने थिइन । मेरा निम्ति पोखरा त्यसै पनि एउटा उत्कन्ठा र प्रतिक्षा हो ।’

पोखराको दोस्रो फेस्टिभलमा भारतीय लेखक उदय प्रकाश पोखरासँग मोहित भएर फर्के । उनले त्यतिबेला भनेका थिए, ‘संसारका धेरै ठाउँ घुमेँ । यति नजिक हिमाल देखेको पहिलोचोटि हो । बरफ त देखेको छु । यति अग्ला हिमालको काखमा पहिलोचोटि आइपुगेँ । साह्रै सुन्दर लाग्यो ।’

लेखक उदय प्रकाश पोखरासँग मोहितमात्रै भएनन्, कुनै दिन यही आएर किताब लेख्ने योजना बुनेर फर्किएका थिए । पोखरा आफैंमा एउटा ब्रान्ड हो । पोखरामा एकै पटक देशविदेशका लेखक जम्मा हुनु र उनीहरुले पोखरालाई महसुस गरेर फर्किने कुराले ठूलो अर्थ राख्छ । पोखरालाई ब्रान्डिङ गर्ने अर्को मेघा इभेन्टका रुपमा लिटरेचर फेस्टिभल बनेको बताउँछन्, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई ।

‘फेस्टिभलकै लागि भनेर देशविदेशका वौद्धिक व्यक्तित्वले पोखरा आउन साइत निकाल्छन्,’ भट्टराईले भने, ‘यो पोखराका निम्ति ठूलो उपलब्धि हो । यसले पोखरालाई मात्रै होइन देशलाई नै ठूलो योगदान पुर्‍याउँछ ।’

लिटरेचर फेस्टिभलकै छेको पारेर देशका विभिन्न ठाउँबाट धेरै जना पोखरा घुम्न आउन चाहन्छन् । फेस्टिभलकै कारण बौद्धिक व्यक्तिहरुको केन्द्रमा रहने रेवान पोखराका महासचिव गणेशबहादुर थापा बताउँछन् । ‘फेस्टिभल हुँदैनथ्यो भने देशविदेशका साहित्यकार, लेखक, राजनीतिककर्मी, संगीतकर्मी लगायत व्यक्तिलाई एउटै थलोमा कहाँ भेट्न सकिन्थ्यो,’ थापाले भने, ‘यो पोखरालाई देशविदेशमा ब्रान्डिङ गर्ने अर्को मेघा इभेन्ट हो ।’

फेस्टिभल पोखराकै कार्यक्रम भएको बताउँछन्, लेखक गनेस पौडेल । ‘यो फेस्टिभलबाट बहुआयामीक फाइदा हुन्छ । देश, विदेशका विभिन्न सेसन हुन्छन्,’ लेखक गनेस पौडेलले भने, ‘नेपाल रिटरेचर फेस्टिभल भएकाले यसमा पोखरामात्रै हुँदैन । तेस्रो पटक पनि पोखरामा हुन लागेको उत्सव पोखरेलीको आˆनै कार्यक्रम हो ।’

फेस्टिभलको सहआयोजक संस्था हो, पोखराको र्‍यान्डम रिडर्स सोसाइटी अफ नेपाल । संस्थाका अध्यक्ष केशवशरण लामिछानेले एउटै थलोमो यतिका धेरै लेखक र साहित्यकारलाई चाहेर पनि भेट्न नसक्ने बताउँछन् । ‘देशविदेशका चर्चित लेखकसँग मिल्नु, कुराकानी गर्नु, त्यो क्षणलाई कैद गर्नु कहाँ पाउनु,’ लामिछानेले भने, ‘यो ऐतिहासिक अवसर पोखरा र देशकै महत्वपूर्ण क्षण हुने छ ।’

गम्भीर विषय, पेचिलो विमर्श

पोखरा विभिन्न उपमाले जडित छ । प्रकृति, कला, साहित्य र संगीतका उर्वरभूमि पोखरामा भएको लिटरेचर फेस्टिभलमा कि नोट स्पिकर बनेका डा. पीताम्बर शर्माले झस्काइदिए । बेवास्ता गरिएको, बिगि्रँदै गएको सुन्दर सहर पोखराको केही अँध्यारो पाटोलाई उनले सबै सामु देखाइदिए । बढ्दो र अनिन्त्रित सहरीकरणको चपेटामा एकताकाका चाक्ला बाटाहरू अहिले कसरी साँघुरिएका छन् भन्ने उनले उठान गरे । चरन र पाटनहरू चिन्नै नसकिने गरी मासिएको र सम्भवतः पोखरा नेपालकै सबैभन्दा बढी ऐलानी जग्गा अतिक्रमित सहरका रुपमा शर्माले चित्रण गरेका थिए ।

‘पोखराको सहरीकरणको पीर यतिमै सीमित छैन । तीव्र, अनियन्त्रित र अव्यवस्थित सहरी विस्तारले यो संवेदनशीलतालाई अझै जोखिमपूर्ण बनाएको छ । पोखरा एक किसिमले एउटा महाविपदको पर्खाइमा छ,’ शर्माको बहसको उठान गरे, ‘नेपालका अन्य क्षेत्रमा जस्तै सम्भवतः सरकार, राजनीतिक नेताहरू, नागरिक समाज र वुद्धिजीविहरू केही नगरी, चुपचाप पर्खिरहेछन्, त्यसपछि केही हुन्छ कि भनेर । मानौं त्यसै, त्यसै केही हुन्छ । जादुजस्तो । के यो विडम्बना नै पोखराको र प्रकारान्तरले हाम्रो नियति हो ?’

शर्माले पोखरासँगै देशको राजनीति र समसामयिक विषयमा उठान गरेको ‘असहज प्रश्नहरु’ को सवाल अहिले पनि ज्यूँका त्यूँ छन् । अर्को फेस्टिभलमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले भ्रस्ट भन्दै गइरहेको प्राज्ञिक क्षेत्रमाथि रिस पोखे । हाम्रा विश्वविद्यालय र प्राज्ञिक क्षेत्रमाथि यसरी प्रहार भइरहँदा मौन बस्नेहरुमाथि प्रश्न गरे ।

यसरी फेस्टिभलमा देशविदेश, समाज, राजनीतिसँग जोडिएका विविध गम्भीर विषयमा पेचिलो बहस भयो । जहाँ कुनै औपचारिक, तामझामको लम्बेतान कार्यक्रम हुँदैन केवल गम्भीर विषयमा गरामागरम विमर्श हुन्छ र सुनिन्छन्, उस्तै उम्दा कविता, गजलहरु पनि । यस्तै गम्भीर विषयमा पेचिलो बहस र विमर्शको पखाई यसपाली पनि हुँदैछ । र, यसले पोखरेलीलाई उत्साही बनाइरहेको पोखराका युवा धुर्व केसी बताउँछन् । उनी गएका दुई फेस्टिभलका सबैजसो सेसनमा भाग लिए ।

यसपाली किन निर्मलाहरुले न्याय पाउन सकिरहेका छैनन्, दुई तिहाईको सरकार हुँदा पिँधमा मान्छेहरुका आवाज किन आइरहेका छैनन्, हाम्रो विचार सिद्धान्त र चरित्र किन फरक भइरहेको छ भन्ने विषयमा भएको गम्भीर छलफल हेर्न केसी आतुर रहेको बताउँछन् । यस्तै आशा डा. वसन्त गौतमसँग पनि छ । ‘गएका दुई फेस्टिभलमा सकेसम्म सहभागी भएँ । यसपाली पनि पर्खाइ छ । राष्ट्रिय मुद्धामाथि हुने छलफलमा सकेसम्म पुग्ने छु,’ गोतमले भने, ‘बहुआयामिक विषयमा छलफल हुने हुँदा यो अझै विशेष लाग्छ ।’ नेपाली र अन्य भाषा र भूगोलका साहित्यलाई एउटै मञ्चमा ल्याएर मन्थन गर्ने, स्रष्टा र पाठकबीचको दूरी कम गर्ने काममा फेस्टिभल उत्प्रेरक बन्दै आएको अध्यक्ष अजित बरालको भनाइ छ ।

मनिषा कोइराला, गोखलेदेखि नेपाली नयाँ लेखकसम्म

फेस्टिभलमा यसपटक अझ बढी विदेशी लेखक सहभागी हुँदैछन् । एक सयभन्दा बढी स्वदेशी तथा विदेशी लेखक सहभागी हुने फेस्टिभलमा तीन दर्जनभन्दा बढी सेसन सञ्चालन आयोजक बुकवर्म फाउन्डेसनका अध्यक्ष अजित बरालले जानकारी दिए ।

यसपालीको लिटरेचर फेस्टिभलमा पाकिस्तानका मोहम्मद हनिफ, भारतकी नमिता गोखलेदेखि नेपालका अग्रज तथा नयाँ पुस्ताका लेखक, साहित्यकारसम्म सहभागी हुनेछन् । यसपाली क्यान्सरलाई जितेर नयाँ जीवन पाएकी मनिषा कोइराला पनि सहभागि हुन सम्भावना छ । विदेशीकामात्रै ६ सेसन गर्ने तयारीमा आयोजक छ ।

कमनवेल्थ प्राइज फर बेस्ट बुक जस्तो प्रतिष्ठित पुरस्कार पाइसकेका, बुकर प्राइजको लङ लिस्टमा छानिएका मोहम्मद हनिफ फेस्टिभलको आकर्षण हुने छन् । राजनीतिकेन्द्रित गम्भीर प्रकृतिका आख्यानका लागि पाठकमाझ चिनिएका हनिफलाई यसपाली सुन्न पाइने आयोजक संस्थाका निर्देशक निरज भारीले बताए ।

आख्यान र गैरआख्यान गरी १६ ओटा पुस्तककी लेखिका, जयपुर लिटरेचर फेस्टिभलकी संस्थापक सहनिर्देशकसमेत रहेकी नमिता गोखले पनि फेस्टिभलमा सहभागी हुनेछिन् । मानवशास्त्री हुँदै इलुस्ट्रेटर र ग्राफिक उपन्यासकार बनेकी बेलायतकी डा. निकोला स्टि्रटेनले फेस्टिभलमा ग्राफिक उपन्यासबारे ‘मास्टर क्लास’ पनि दिनेछिन् । भारतका पत्रकार तथा गैरआख्यान लेखक हरिश नाम्बियर पनि फेस्टिभलमा अनुभव सुनाउँदै हुनेछन् भने विमर्शमा पनि सहभागी हुनेछन् ।

अंग्रजी संसारमा नेपाली मूलको प्रतिनिधित्व गर्ने लेखिका मञ्जुश्री थापा, अर्का नेपाली मूलका भारतीय लेखक प्रज्ज्वल पराजुली पनि यसपालीको लिटरेचर फेस्टिभलका आकर्षण हुनेछन् । विदेशी चर्चित लेखकदेखि नेपालका प्रशिद्ध तथा नयाँ लेखक पनि वक्ता रहने भएकाले यसपालीको फेस्टिभल अझ रोचक र विशेष रहने संयोजक रविन गिरीले बताए ।

काठमाडौंमा भन्दा पोखरा महंगो

नेपालका अधिकांश लेखक काठमाडौं केन्द्रित छन् । विदेशी लेखकका लागि पनि काठमाडौं नै सहज र सजिलो हुन्छ । राजधानी बाहिरका केही लेखकबाहेक काठमाडौंमै कार्यक्रम गर्दा खर्चका हिसाबले पनि आयोजकलाई धेरै सहज हुन्छ तर, पनि आयोजकले तेस्रो पटक पनि पोखरामै लेटरेचर फेस्टिभल गर्न लागेको छ ।

आयोजकले पोखरामै कार्यक्रम गर्नुका पछाडि के कारण छ त ? ‘हामीले पैसा कमाउँला भनेर फेस्टिभल गरेका होइनौं नत्र काठमाडौंमै कार्यक्रम गर्दा हामीलाई केही सहज र सस्तो पनि पर्ला,’ बुकवर्मका निर्देशक भारीले भने, ‘सबै कार्यक्रम काठमाडौं केन्द्रित छन् । अब मोफसल भन्ने रहेन, रहनुहुँदैन । पोखरामा फेस्टिभल गर्दा कार्यक्रममात्रै हुँदैन, घुम्ने र यहाँको स्वादमा रमाउने काम पनि हुन्छ ।’

बुकवर्मका अजित र निरज पनि पोखराकै हुन् । पोखरासँग माटोको सम्बन्ध छ र पोखरालाई अझ वौद्धिक कर्म गर्ने थलो बनाउनु पनि यसको उद्देश्य रहेको निर्देशक भारी बताउँछन् । विदेश, काठमाडौं र देशका विभिन्न ठाउँबाट पोखरा ल्याएर कार्यक्रम गर्नु आफैंमा खर्चिलो हुने तर आफूहरुले खर्चभन्दा पनि स्तरीयतामा ध्यान दिएको अध्यक्ष बरालले बताए ।

पोखरामा आजसम्मका मितिमा भएका सबैभन्दा ठूला कार्यक्रममध्येको एउटा कार्यक्रम लिटरेचर फेस्टिभल भएको लेखक गनेस पौडेल बताउँछन् । ‘मेघा इभेन्ट हो । पोखराकै लागि आयोजना गरिएको कार्यक्रम हो । पोखरालाई विश्वमा चिनाउन सहयोगी यसले सहयोग गर्छ । देशको अर्थतन्त्रमा टेवा पुर्‍याउँछ,’ पौडेलले भने ।

‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मन्त्रसहित सन् २०११ मा ललितपुरको झम्सिखेलबाट यो फेस्टिभल सुरु भएको थियो । चार संस्करण काठमाडौं उपत्यकामा भएर त्यसपछिका फेस्टिभल पोखरामा हुँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment