Comments Add Comment

कथाः रिचार्ज कार्ड !

‘बौद्ध पुलिसचौकीबाट दुई फेरा फुन आई सको बावु, के गर्ने होला लौन…’ आमाले आत्तिदै फोन गर्नुभयो ।

‘किन, के भन्छ ?’

‘चौकीमा आइहाल्न परो भन्छ ।’

‘अरुलाई गर्‍या, झुक्किएर तपाईलाई आयो होला ।’

‘अँ आउछ नि झुक्केर ! तपाईं फूलथुङ्गा साउकोटा होइन ? भन्दै छ । … मलाई थुन्न पो लाग्यो कि के हो बाबु ?’

‘तपाई चोर हो र थुन्नलाई ?’

आमालाई सकेसम्म सम्झाउने कोसिस गरेँ, आफैंलाई भने सम्झाउन सकिनँ । सत्तरी कटेकी मेरी आमालाई चौकीमा बोलाउनुको कारण के होला ? मन तुलबुल भइरहृयो । साँझ पुलिसचौकीको बाटो हुँदै घर फर्किएँ । भित्र छिरेर बुझ्ने साहस भने भएन । पुलिस चौकी र अदालत भन्ने कुरा सम्झन समेत नरुचाउने वर्गको मान्छे हुँ म ।

घर पुग्दा आमाको मनस्थिति हतास थियो । हामीले निकै तर्क-वितर्क गर्‍यौं, तर कुनै सम्भावित कारण फेला परेन । अन्त्यमा आमाले सकारात्मक सोच बनाउनुभयो ।

‘हाम्री कान्छी फुपूको देवरको नाति पुलिस छ भन्थे । न त्यै बौद्धको चौकीमा आ’को भर भेट्न खोजो कि त ?’

‘अँ त्यै बाँकी छ अब !’ मेरो मनले भन्यो । तर आमालाई निरास बनाउने कुरा भएन ।

‘खै ! त्यसै पो हो कि !’ मुखले भनिदिएँ ।

भोलिपल्ट बिहान मर्निङवाकबाट फकर्ंदा घरै छेउ गस्तिको पुलिसले मलाई रोक्यो । छाती ढक्क भयो । पुलिस हवल्दारले सामान्य परिचयपश्चात चौकिमा आएर एक पटक सई साबलाई भेट्न भन्यो । अफिस जाने बेला पस्ने बाचा गरेँ । हवल्दारको व्यवहारले मन केही हल्का भयो । ‘मुस्कान सहितको प्रहरी’ भन्ने नारा मनमा खेलाउँदै घर गएँ ।

‘खास ठुलो कुरा केही होइन रे । सामान्य सोधपुछ छ रे । मलाई दिउसो एक पटक चौकीमा पस्नु भन्या छ ।’ आमालाई सम्झाउने कोसिस गरेँ । तर आमा झनै आत्तिनु भयो । छिटै खाना खाएर चौकी पुगेँ ।

बिहानको हवल्दारलाई भेटेँ । उसले सईकहाँ पुर्‍यायो । सईले मलाई फोम किचिएको सोफामा बस्ने इसारा गर्‍यो । त्यस कोठामा त्यस्तै थोत्रा सोफामा अरु पनि थुप्रै मान्छे थिए । सई एकै पटक दुई तीन वटा समूहलाई केरकार गरिरहेको थियो । निकै बेर मतिर ध्यान नै दिएन । मैले पनि हतार भयो भन्ने साहस गरिँन । हातमा एउटा ठुलै पोको बोकेर उही हवल्दार भित्र पस्यो ।

‘भुईमा खन्या…’ सईले आदेश दियो । हवल्दारले पोकोलाई टेवलमा खन्यायो । पोकोभित्र केही घरायसी फोहर रहेछन् ।

‘यो फोहोरमा के के छन् हेर्नुस त ।’ मतिर इसारा गरेर सई फेरि अरुसँग नै ब्यस्त भयो । मैले फोहोर नियालेँ । आमाका औषधी र छोरीले खाएको चकलेटका केही खोल त्यहाँ थिए । अन्य त्यस्ता थुप्रै कुराहरू थिए, जसले ती फोहोर मेरै घरबाट निस्किएका हुन् भन्ने कुरा बुझ्न मलाई समय लागेन ।

नगरपालिकाले फोहोर नउठाएको निकै दिन भइसकेको थियो । यस्तो बेला सडकमा भेल बग्ने गरी पानी पर्दा प्लास्टिकको झोलामा पोको बनाएर हामी फोहोर बगाउँछौँ । एउटाको ढोकाबाट बगेको फोहोर आठदश घर पर अर्कोको घर अगाडि पुगेर पाखा लाग्छ । त्यसबेला सबैका घरभित्रको पोहोर दैलो कटेर निस्किन्छ र बाटामा पुगेर खात लाग्छ । बीच सडकका फोहोरहरु मोटरका पाङ्ग्राले किचिँदा किचिँदै बिलाउँछन् ।

सडक किनारतिरका फोहोर भने त्यहीँ कुहिएर गन्हाउन थाल्छन् । धेरै दिनदेखि त्यसरी पानी परेको पनि थिएन । हरेक मर्निङ्गवाकमा फोहोरको सानो पोको बोकेर जान थालेको थिएँ । गोठाटारको पुलमुनी पुगेर बागमती किनारमा फुत्त फाल्थेँ । ती सबै मैले फालेको फोहोरको एकमुष्ट संकलन थियो ।

‘चिन्नुहुन्छ यी फोहोर कसका घरका हुन् ?’

‘अहँ चिनिनँ त ।’ ढुक्क साथ भनिदिएँ ।

सईले फोहोरबाट एउटा रिचार्जकार्ड टिप्दै भन्यो, ‘तपाईकी आमा फूलथुङ्गा सापकोटाको मोबाईलमा हालेको कार्ड हो यो । उसोभए तपाईकी आमालाई नै ल्याएर थुन्न पर्‍यो होइन त ?’

मेरा ओठ मुख खंग्र्रङ्ग सुक्यो । एकै पटक चार्ज घटेर बन्द हुन लागेको मोबाईलको जस्तो हालत भयो । सईको ध्यान फेरि अन्तै पुगिसकेको थियो ।

दुई हात जोड्दै भनेँ, ‘गल्ती भयो सर ।’

सईले पुलुक्क मेरो मुखमा हेर्दै ‘त्यो सबै उठाउनुस्’ भन्यो र फेरि अन्यत्रै मोडियो । मैले सबै फोहोर उठाएर साबिकको एउटै पोको बनाएँ ।

‘उता हिँड्नुस सर!’

फोहोरको पोको बोकाएर हवल्दारले मलाई अर्को कोठामा लिएर गयो । त्यहाँ उस्को कुर्सी र टेवल मात्र थियो । म अगाडि उभिएँ । कागजको चिर्कटोमा केही लेख्दै उसले भन्यो, ‘सरले जम्मा पाँच दिन फोहोर फाल्नु भएछ । दिनको पाँच हजारको दरले पच्चीस हजार यो खातामा जम्मा गरेर आउनुस् । त्यतिन्जेल बाईकको कागजपत्र यहीँ छोडेर जानुहोला । फोहोर चै छोड्नु पर्दैन ।’ हवल्दारले राम्रै ब्यङ्ग्य गर्‍यो ।

फोहोरको पोको बाईकको पछाडि बाँधेर चौकीबाट निस्किएँ । फोहोर लिएरै अफिस जाने कुरा भएन, मिल्काउने सम्भाबित ठाँउ कतै सुझेन । टेकुको फोहोर संकलन केन्द्र पुगेँ । कर्मचारीले फोहोर लिन आनाकानी गरे । सयको नोट डल्लो पारेर च्यापिएको हात ती कर्मचारीसँग मिलाएर फर्किएँ । कार्यालय पुग्दा साढे एघार बजिसकेको थियो । कार्यालयमा हाजिरीको खासै समस्या थिएन ।

म नेपाल सरकारको कर्मचारी । एक महिनाको तलब त्यही पच्चिस हजार जति छ । २५ हजार बचतै गर्नचाहिँ कति महिना लाग्ला ? ठूलै हिसाब लगाउनुपर्छ । अहिले एकमुष्ट २५ हजार बुझाउँदा मेरो तालिका लामै समय बिगि्रन्थ्यो । तैपनि सामाजिक बेइज्जती हुने कुनै सजाय भोग्नु नपरेकोमा खुसी नै थिएँ ।

बैक खाताहरू चेक गरेँ । एउटैमा एकमुष्ट २५ हजार बचत थिएन । दुई वटा बैक धाउनु भन्दा हित्तचित्त मिल्ने सहकर्मीसँग दशहजार सापटि मागेँ । पैसा चाहिनुको कारण पनि प्रसंग मिलाएर सुनाएँ । एक महिनाको तलब बिनासित्ती सरकारलाई नै फिर्ता गर्नु पर्दाको दुः ख सहकर्मीले पनि महसुस गर्‍यो । जति सक्दो छिटो यो उल्झनबाट उम्कनु थियो । बेलुका बाईकको कागज पत्र लिएरै र्फकने मनस्थिति बनाएँ ।

खाजाको समयमा बबरमहल पुगेर एटिएमबाट पैसा थुतियो । खाजा खाएर मात्र खातामा पैसा जम्मा गर्ने बिचारले खान थाल्यौँ । सामुन्नेको सरकारी वकिलको कार्यालय हाता भित्र पुलिसको एउटा भ्यान पस्यो ।

‘मेरो जेठानको सालो यहीँ वकिल छ । पुलिसहरुसँग राम्रै सम्बन्ध हुन्छ यिनिहरुको । एकपटक भनिहेर्ने हो ?’ साथीले राम्रै प्रस्ताव ल्यायो । आए आँप गए झटारो । हामी त्यतै लाग्यौ ।

विभिन्न चौकीबाट ल्याइएका थुनुवाहरुको बयान सरकारी वकिलहरुको रोहवरमा पुलिसहरु लिँदै थिए । हामीले भेट्न चाहेका वकिल पनि बयान सुन्दै थिए । उनले परैबाट साथिलाई नमस्कार गरे । हामी पनि बसेर चलिरहेको बयान सुन्न थाल्यौ ।

नाम ः नुप डोल्मो शेर्पा । बोलाउने नाम स्मृती ।

ठेगाना ः नौकुण्ड गाउँपालिका-१, आरुखर्क, रसुवा । हाल मनमैजु ।

उमेर ः १७ वर्ष

पेशा ः विद्यार्थी

अभियोग ः विभिन्न व्यक्तिलाई चिठ्ठा पर्‍यो भनी भाइबर र इमोमार्फत ठगी गरेको ।

साबिति बयानको मुल अंश-

म काठमाण्डौ बस्न थालेको दुई वर्ष भयो । सुरुदेखि नै मनमैजुमा दिदी भेनासँग बसेको छु । मदन दाई हामी बसेको घरमा बस्न आएको दुई महिना जति भयो । बिदेश जान आएको । पुरा नाम र ठेगाना थाहा छैन । तर मान्छे बाहुन हो । छिट्टै हामी साथी-साथी भयौ । दुई तीन पटक हामी घुम्न गयौ । फिलिम पनि हेर्‍यौं । एक दिन ‘मेरो मेनपावरमा पैसा बुझाउनु पर्ने छ, पासपोर्ट नागरिकता सबै उतै छ, तिम्रो नाममा पैसा आइएमई गरिदिन भन्छु, नागरिकता लिएर हिँड है !’ भन्यो । एकै ठाउँबाट धेरै पैसा दिँदैन भनेर चार पाँच ठाउँबाट तीन लाख झिक्यो । त्यो दिन हामी धेरै घुम्यौ । धेरै पैसा पनि खर्च गर्‍यो । त्यसको दुई दिन पछि भिसा आयो भनेर कोठा नै छोडेर गयो । कुन देश गएको थाह छैन ।

उस्ले मान्छेहरुलाई चिठ्ठा पर्‍यो भनेर ठग्दैछ भन्ने मलाई थाहा थिएन । ठगेको भए पनि उसैले ठगोको हो, मैले होईन ।

बयान सकियो । बयानमा अभियुक्त, प्रहरीका अनुसन्धान अधिकृत र सरकारी वकिलले सही गरे । कानुनको पञ्जाले केटीलाई करप्प अँठ्यायो ।

हाम्रो पालो आयो । राम्रै सत्कार पायौ । साथीले सबै बेली बिस्तार लायो । मैले आफूलाई सकेसम्म निरीह देखाउने प्रयास गरेँ ।

‘ए भै हाल्छ नि   बौद्धका डीएसपी साब आज यतै आउनु भा’छ, म भनिदिन्छु । पर्दैन पैसा जम्मा गर्न । एकछिन बाहिर तिर बस्दै गर्नुस् । भेटेरै जानु होला ।’ सरकारी वकिलले मलाई! आफ्नो छत्रछाँयाले ढपक्कै ढाके ।

हामी बाहिरतिर एकछिन टहलियौ । हतकडी लगाएर भ्यानमा कोचिएका थुनुवाहरुका अनुहार पढ्ने कोसिस गर्‍यौ । केही साँच्चैका पेशेवार अपराधी जस्ता देखिन्थे भने केही परिबन्दका शिकार ।

केही बेरमा हाम्रा सरकारी वकिलले डीएसपीलाई हामी भएतिर लिएर आए । एक आपसमा परिचय गराए ।

‘तपाईको समस्या मैले बुझेँ, जानु भए हुन्छ । कागजपत्र म भोलि घरैमा पठाई दिउँला ।’ डीएसपीबाट मेरो अपराधले आम माफी पायो ।

मेरो मन नाच्दै कार्यालय पुग्यो । साथीसँग मागेको पैसा फिर्ता गरिदिएँ । मैले बैकबाट निकालेको पैसा बोकेर हामी रेष्टुरेन्ट छिर्यौ । दुवै जना फुल चार्ज भएर निस्कियौ । मेरा दुबै खुट्टा एकैपटक भुँईमा थिएनन् । सोचेँ चौकीकै बाटो गएर सईलाई जाने जतिका खराब शब्दहरु उच्चारण गर्दै गाली गर्छु । अन्त्यमा माफी माग्न लगाएर तनक्क तन्काएर सलाम ठोक्न लगाउँछु । आखिर त्यसको डीएसपी मेरो यार जो छ ।

चौकी पुग्नु निकै अगाडि सडकमा मापसे चेकिङ परैबाट देखेँ ।  शरीरको चार्ज स्वाट्टै कम भयो । फेरि रिचार्ज गर्ने अनकुलता थिएन । बाईक उल्टो दिशातिर घुमाएँ । बल्ल-तल्ल मापसे चेकिङ छल्दै घर पुगेँ । घर छेउको पसलमा पुगेर मोबाईलको रिचार्ज कार्ड किनेँ । दुई-चार पटकको प्रयासमा बल्लतल्ल चार्ज भयो । चार्ज गरिसकेर कार्ड च्यात्दै प्रतिज्ञा गरेँ- ‘साला …अबदेखि कहिल्यै रिचार्ज कार्ड फोहोरमा फाल्दिनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment