Comments Add Comment

ऋषिमुनिप्रति गर्व छ, आत्मसमर्पण गरिन्नः प्रधानमन्त्री ओली

१५ मंसिर काठमाडौं । क्रिश्चियन धर्म प्रचारक संस्थाले आयोजना गरेको एशिया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी शर्मा ओलीले अरुको संस्कृति र मूल्य मान्यतालाई अंगीकार नगर्ने बताएका छन् । हाम्रा पूर्वज ऋषिमुनिबाट धेरै कुराहरु सिक्न सकिने भन्दै प्रधानमन्त्री ओलीले नैतिक रुपमा आत्मसमर्पण नगरिने प्रतिवद्धतासमेत जनाएका छन् ।

शनिबार काठमाडौंमा एसिया प्यासिफिक समिटको उदघाटनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘भौतिक वस्तुहरुको अभाव हाम्रो समाजको केही हिस्साले अझै पनि भोगिरहेको छ । तर, यसको अर्थ यो होइन कि हामी नैतिकरुपमा नै आत्मसमर्पण गर्ने वा अरुको संस्कृति र मूल्य-मान्यतालाई नक्कल (अङ्गीकार ) गर्न आतुर छौं ।’

सम्वोधनका क्रममा प्रधानमन्त्रीले अगाडि भने, ‘मलाई के विश्वास छ भने हिमालयमा अवस्थित यो प्राचीन शहरले पूर्वज ऋषिमुनिहरूको ज्ञानको माध्यमबाट हाम्रा सन्ततिहरुको जीवनलाई कसरी उज्ज्वल बनाउने भन्ने बारेमा धेरै सिकाउन सक्छ ।’

प्रधानमन्त्री ओलीले सम्वोधनका क्रममा भने, ‘हामीलाई हाम्रो संस्कृति, परम्परा र इतिहासमा गर्व छ । हामीलाई के पनि विश्वास छ भने हामी विश्वलाई शान्ति, मित्रता र भातृत्वको विकासका लागि आवश्यक मूल्य र मान्यताहरु प्रदान गर्न सक्छौं ।’

प्रधानमन्त्री ओलीले अंग्रेजीमा गरेको सम्वोधनको सारसंक्षेप यस्तो थियो-

आज हामी इतिहासको त्यस्तो मोडमा छौं कि मानवजातिले स्थानीय, राष्ट्रिय, क्षेत्रीय र अन्तराष्ट्रिय रुपमा धेरै संवेदनशील र अप्ठ्यारो परिस्थितिको सामना गर्नु परिरहेको छ । विश्व इतिहासमा आजको समय अति नै शान्त कालखण्ड हो । अन्तरराष्ट्रिय व्यापार, भिन्न संस्कृतिहरु बीचको अन्तरक्रिया र प्रविधिको नवीनतम विकासले विश्व समुदायलाई अझ धेरै गहिरोसँग एकाकार गरेको छ ।

हामी एक्काइसौं शताब्दीका मानिसहरु छलफलका माध्यमबाट समाधान गर्न सकिने विश्वव्यापी समस्याहरुको निराकरण गर्दै विश्वभरिका मानिसहरुको जीवनस्तर माथि उठाउन सफल भएका छौं । साथै भविश्यमा अझ सहज जीवनको आशा गर्न सक्ने तहमा पुगेका छौं । तथापि, अनगिन्ति चुनौती र दिनानुदिन बढ्दै गएका समस्याहरुले हामीलाई सताइरहेका छन् र हाम्रो शिघ्र ध्यानको माग गरिरहेका छन् । गरिवी, अशिक्षा, र धेरै घातक रोगहरुको निदान भएपनि तिनीहरुले विश्भर लाखौं मानिसहरुको ज्यान जोखिममा पारिरहेका छन् ।

यहाँ यो उल्लेख गर्नु सान्दर्भिक हुन्छ कि हाम्रो जमीनको ६० प्रतिशत भूभाग बढ्दो तापक्रम न्यून गर्न उपयोग भैरहेको छ । यसरी हाम्रो हिमालय र बनहरुले वातावरणको दिगोपन कायम गर्न अतुलनीय योगदान गरेका छन् । तर, बिडम्बना कुनै गल्ती नै नगरेको समुदाय नै पर्यावरणीय समस्याबाट पीडित छन । यो स्वीकार्य छैन । त्यसैले हामी जलवायु न्यायसम्बन्धी सिद्धान्तको पूर्ण कार्यान्वयनको आवश्यकतामा जोड दिन चाहन्छौं ।

मेरो विचारमा हाल विश्वले भोगिरहेका सबै समस्याहरुलाई समाधान गर्न तीनवटा प्रमुख बिषयमा ध्यान दिनुपर्छ । सबै राष्ट्रहरुबीच बहुपक्षीय सम्बन्धलाई बलियो पार्दै शान्ति र अन्तरनिर्भरतालाई कायम राख्ने, प्राकृतिक पर्यावरण र बासस्थानको रक्षा गर्दै विकसित र विकाशशील राष्ट्रहरुले आपसी समृदीलाई अघि बढाउने र संसारभरका मानिसहरुलाई विश्वव्यापी मूल्य र मान्यताबारे उपदेश दिने ।

भूमण्डलीकरणले हामी सबैलाई नजिक ल्याउने र आपसी सहकार्यको वातावरण सिर्जना गरेको छ । तर, यसले कतिपय अव्यक्त र उल्टा परिमाण पनि ल्याएको छ । भूमण्डलीकरणको परिभाषासँग नै मेल नखाने गरी यसले असमान मञ्चहरु निर्माण गरेको छ, जहाँ धेरै विकासशील राष्ट्रहरुको मूल्यमा प्राप्त लाभहरु ठूला र समृद्ध अर्थतन्त्र भएका मुलुकहरुले उपभोग गरिरहेका छन् ।

‘वसुधैवकुटुम्बकम’ मा आधारित हाम्रो समाजले मानवताप्रतिको हाम्रो ज्ञान उजागर गर्छ । संसार नै एउटा परिवार हो भन्ने यसको अर्थ हो । बुद्धको जन्मभूमि रहेको यो देशका हामी आफूभित्रै अरुलाई भेट्छौं । हामीलाई संसारकै सबैभन्दा पुरानो सभ्यताको हिस्सा भएकोमा गर्व छ । एशिया प्रशान्त क्षेत्र ज्ञानको ज्योति पहिलोपल्ट बलेको क्षेत्र हो । पुस्तौं पुस्तासम्म त्यो ज्ञान र एशियाली मान्यता कायम रहेकामा पनि हामीलाई गर्व छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment