Comments Add Comment

संस्मरणः सुँगुर छोएपछिको पापमोचन

मध्यरात जूनसँगको मधुर संवादमा निमग्न थियो । मलाई आफू ९/१० वर्ष छँदाको एउटा घटना याद आयो । जतिबेला मेरो भर्खरै मात्र ब्रतबन्ध भएको थियो । म बर्तमानबाट हान्निँदै धेरै अगाडिको कालखण्डमा पुगेँ ।

भित्तामा झुण्ड्याइएको घडीले रातको बाह्र बजेको जनाउ दिँदै थियो । तल सडक छेउमा युद्धभूमीको झल्को दिने गरी एकहुल कुकुरहरू हड्डीका लागि युद्ध गरिरहेका थिए ! वातावरण कहिले महाचित्कारको वीभत्स रसमा रङ्गमगिन्थ्यो त कहिले असीम शान्तिको द्वार खुलेझैँ अनुभूत हुन्थ्यो । म ओछ्यानमा घरि ओल्लो कोल्टो घरि पल्लो कोल्टो गरिरहेको थिएँ । स्मृतिपटमा अविरल तरङ्गहरू टेलिभिजन स्त्रिmनमाझैँ तरङ्गित भैरहेका थिए । एकान्त स्मृतिको द्वार हो । दिनको तुलनामा रातको एकान्तले स्मृतिको ढोका अझ बढी घच्घच्यायो ।

एक दिउँसो मेरो घरमा दलितले पालेको सुँगुर आइपुग्यो । त्यतिबेला हाम्रो घरमा बडेमाको भोटेकुकुर थियो । धेरै पटक चितुवाले लान खोज्दा पनि नसकरे बचेको थियो त्यो । उसको नाम तार्के थियो । तार्केले सगँुरलाई एकै झम्टामा ठहरै बनाइदियो ।

छिमेकीको सुँगुर मारिएको देखेर म निकै डराएँ । घरमा मबाहेक कोही थिएन । मैले सोचेँ यो घटना अक्षम्य हो, हामीले क्षमा पाउने छैनौ । सुँगुर मारिएकोमा दलित छिमेकीले ठूलै बदला लिने छ । त्यो सोच्दै मैले सुँगुरलाई खुट्टुामा समाएर मुस्कीलले तान्दै अलि परको भिरालोमा खसाइदिँए । सुँगुर गुडुल्किँदै निकै तल खरबारीमा हरायो । अनि मैले घटनालाई बुद्धिमत्तापूर्ण ढङ्गले सामसुम पार्न सफल भएकोमा लामो सास फेरेँ । तर त्यो सब पल्लाघरे दाइले देखेका रहेछन्, जुन मैले थाहै पाइनँ । दाइले सारा बृतान्त मेरा बुबाआमालाई सुनाइदिए ।

सम्बन्धित दलितले थाहा नपाउने कुरै भएन । गाउँभर हल्लिखल्ली भयो । मेरो मुटु बेजोडले उफ्रन थाल्यो । मुख कालोनिलो भएर आयो । तर घटनाले अप्रिय मोड लिएन । ‘हाम्रो गल्तीले यस्तो भयो, बाहुनको घरमा गएको सुँगुरलाई कुकुरले मार्‍यो !’ भन्दै सुँगुर धनी चपुचाप रहृयो । आमाबुबाले पनि मैले सुँगुर छोएकोमा नराम्रो केही भन्नुभएन । मैलेे त्यस दिन घरभित्र पस्न चाहिँ नपाउने भएँ । गोदान गरेर मात्र घरभित्र पस्न मिल्ने आमाले बताउनुभयो ।

गोदान के हो, मलाई थाहा थिएन । बुबाले गाई दान गर्नु गोदान हो भनेर सम्झाउनु भयो । त्यो सुनेर म अझै पश्चात्तापग्रस्त हुन पुगेंँ । किनकि भन्ने बित्तिकै गाई किन्न नपाईने, पाए पनि दस-बीस रुपियाँमा नआउने । मेरा कारणले बुबाआमाले ठूलै खर्च गर्नुपर्ने भयो । बुबासँग गाई किन्ने पैसा छ कि छैन होला ? मभित्र यस्तैयस्तै कुरा खेलिरहे ।
मैले मलिन अनुहारका साथ बुबासंग भनेे, ‘मबाट ठूलो गल्ति भयो ! मेरा कारणले हजुरले गाई दान गर्नुपर्ने हुन गयो ।’

म रुन लागेंँ । रोएको देखेर बुबालेे संझाउन थाल्नुभयोे, ‘धत्तेरी लाटा, तँ त रुन पो लागिस् । कुरा के हो भने पहिलापहिला गोदान गर्ने भनेपछि गाई नै दान गर्नुपथ्र्यो, तर हिजोआज केही रुपैयाँ दान गर्दा हुने चलन चलेको छ । त्यसैले रुपियाँ राखी गोदान गरे भइहाल्छ ।’

‘कति रुपियाँ राखेर गोदान गरे हुन्छ त बुबा ?’ मैले सोधेँ । ‘त्यस्तै पाँच/दस रुपैयाँ, जति सकिन्छ ।’ बुबाले भन्नुभयो । यो सुनेर मेरोे अनुहारमा छाएकोे चिन्ताको बादल हराउँदै गयो ।

गोदान नगरी भात खान नहुने चलनका कारण मलाई त्यस साँझ मिश्रीको काँडापानी दिइयो । त्यो रात कथित पापकर्मको पछुताउ गर्दै घर बाहिरै कटाएँ । मेरो बाल दिमागले भन्यो, ‘यो पापीले पाल्ने, पापीले नै खाने जीव रहेछ ।’ त्यस उमेरमा म त्योभन्दा बढी सोच्न पनि के सक्थेँ र !

भोलिपल्ट बिहानै बुबाले पण्डित बोलाएर ल्याउनुभयो । म नुहाइधुवाई गरी जनै फेरेर गोदानका लागि तयार भएँ । पण्डितले गोदानका लागि बोहोतामा सय रुपियाँ राख्न भने । पण्डितले सय रुपियाँ राख्न भनेकोमा मजस्तै बुबा पनि झस्कनुभयो । बुबाले त बीस रुपियाँँ मात्र राख्नुभएको थियो ।

पण्डित फन्किएर उठ्न लागे । उनले भने, ‘यो बीस रुपियाँमा मोचन हुनसक्ने पाप होइन । त्योभन्दा कममा गोदान गराउन सक्दिन !’

पण्डित उठ्न लागेपछि बुबाले सुरुवालको इजारभित्रबाट सय रुपियाँ निकालेर बोहोतामा राख्नुभयो । अचानक मौसममा आएको परिबर्तनजस्तै पण्डित घामझै उज्याला देखिए । उनले मुस्कुराउँदै गोदान कर्म गराए । यसरी सय रुपियाँको गोदानपछि मैले पवित्र भई भात खाएँ ।

त्यो घटना साँढे चार दशक पारीको भैसक्यो । तर ममा त्यस दिन बुबाले इजारभित्र लुकाएर राखेको सय रुपियाँ बोहोतामा हाल्नुपर्दाको परिदृश्यले आज पनि मेरो मनलाई चसक्क घोचिरहन्छ ।

समय परिवर्तनशील छ । प्रकृतिमा आएको परिवर्तनसंगै पुराना पात र्झछन्, नयाँ आँकुरा पलाउँछन् । रात दिनमा परिवर्तन हुन्छ, दिन रातमा । हरेक दिन एक नयाँ शङ्खघोष गर्दै उदाउँछ, तर रुढता हरेक परिवर्तनविरुद्ध उभिन्छ । समयरूपि पंछीले लम्बे उडान भरिसक्दा पनि मानिस छूत छ, मानिस अछूत छ । समाज आज पनि छूत र अछूतमा बाँडिएकै छ । मानिसजस्तै पशुहरू पनि छूत छन्, अछूत छन् । मानिसजस्तै पशु पनि ब्राहृमण, क्षेत्री, वैश्य र शूद्र वर्णमा विभक्त छन् ! गाई ब्राहृमण हो, सुँगुर …. !

डार्बिनको विकासवाद भन्छ- ‘समय अनुकूल परिवर्तन हुन नसक्नेहरू समाप्त भएर जान्छन्् ।’ पशुलाई झैँ समयलाई साङ्लोले बाँधेर राख्न सकिँदैन, तर हामी भने छोरानातिलाई घोकाउन छोडेका छैनौं – बाजे बराजुदेखि चली आएकोे चलन नछोड । पूर्खाले चलाएको प्रथा गलत हुन सक्दैन । किन, केका लागि ? प्रश्न नसोध । सनातन देवतुल्य ऋषि महषिर्बाट प्राप्त धरोहर हो । प्रश्न घातक हुनसक्छ । याद गर- त्यो युगमा जनक सभामा याज्ञवल्क्यलाई प्रश्न गरेर र्‍याखर्‍याखी पार्ने विदुषी गार्गीको हालत । क्रुद्ध याज्ञवल्क्यले भनेका थिए – ‘अति प्रश्न नगर… !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment