+
+

एचआईभीसँगै समाजसँग लडेकी दीक्षाको संघर्ष कथा

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर १५ गते २०:५३

१५ मंसिर, चितवन । गाजलु नयन, गिजा देखिने गरी छुट्ने मिठो हाँसो । एचआईभी संक्रमितहरुको जीवनमा नयाँ क्षितिज उघार्ने दीक्षा रिमालको हाँसो त्यसै फर्किएको छैन । आँसुका भेलहरुले बगाएर बाँकी बचेको जीवनमा खुसी फूलाउने दीक्षा एचआईभी संक्रमितहरुका लागि नयाँ जीवन जिउने प्रेरणा बनेकी छन् ।

उनी आफूलाई बर्निङ क्याण्डल (जलिरहेको मैनबत्ती) का रुपमा चिनाउन रुचाउँछिन् । उनको खुसी र सुखी जीवन देखेर धेरै एचआईभी संक्रमितले आफ्नो जीवनको हरियाली देखिरहेका हुन्छन्, जीवनप्रति भरोसा र आशा जगाइरहेका हुन्छन् ।

तर, आजभन्दा १७ वर्ष अगाडिका आफ्नै दिनहरु सम्झदा पनि दीक्षालाई कहाली लाग्छ । ठूलो भीरबाट तल बजारिएको जस्तो हुन्छ । किनकी एचआईभी त लागिहाल्यो । समाजसँग कुहिनो बजारेर अगाडि बढ्नु चानेचुने थिएन । त्यतिबेला समाजले न एचआईभी संक्रमितलाई स्वीकार गर्थ्यो न घरपरिवारले । रोगविरुद्ध लड्नु त छँँदै थियो । आत्मबल कमजोर बनाउँदा सबैतिर हार निश्चित जस्तै थियो । तर, सबैलाई जितेर दीक्षा यहाँ आइपुगेकी छन् ।

सायद यस्तो नहुँदो हो त दीक्षाको भौतिक जीवन हुन्थ्यो र हुन्थेन उनलाई पनि थाहा छैन । सानै उमेरमा विवाह गरेकी दीक्षा लागुऔषधमा लिप्त श्रीमानबाट संक्रमित बनेकी थिइन् । उनले श्रीमानलाई पनि बचाउने प्रयास नगरेकी होइनन् तर, बचाउन सकिनन् । त्यसअघि उनले १० महिने छोरी गुमाएकी थिइन् ।

तर, दीक्षाले हिम्मत हारिनन् । भन्छिन्, ‘धेरै संक्रमितलाई जीवनप्रति आशा जगाएको छु ।’

एचआईभी संक्रमण जीवनको अन्त्य नभएर शुरुआत भएको उनको भनाइ छ । समुदायले सहयोग गरेमा संक्रमितहरु अरु सरह बाँच्न सक्ने उनी बताउँछिन् ।

ती कालरात्री…

राम्रो परिवार, खान्दानी घर भएजस्तै लाग्यो र बिहे पक्का भयो । बिहे भएको सातौं दिन श्रीमानको लुगा धुँदा खल्तीमा केही औषधिका बट्टा फेला पारिन् । त्यसपछि बल्ल थाहा भयो, श्रीमान् त लागू पदार्थ दुर्व्यसनी रहेछन्

सानो छँदा निकै चञ्चले थिइन् दीक्षा । उनी भित्र-बाहिर फ्याकफुरुक गरेको निकै राम्रो लाग्थ्यो परिवारलाई । पश्चिम चितवनको मंगलपुरमा मध्यम वर्गीय परिवारमा जन्मिएकी हुन् उनी । चार दिदीबहिनीमध्ये कान्छी सबैको प्यारी थिइन् । काखैकाखमा हुर्किएकी थिइन्, एक ढंगले पुलपुलिएकी थिइन् उनी ।

उनको परिवार भरतपुर बसाइ सर्‍यो । जब दीक्षा १८ वर्षकी भइन्, बुबाका साथीका आफन्त बिहेको कुरा लिएर आए । राम्रो परिवार, खान्दानी घर भएजस्तै लाग्यो र बिहे पक्का भयो । कुराकानी टुंगिएको दुई दिनमा नै विवाह सम्पन्न भयो । बिहे भएको सातौं दिन श्रीमानको लुगा धुँदा खल्तीमा केही औषधिका बट्टा फेला पारिन् । त्यसपछि बल्ल थाहा भयो, श्रीमान् त लागू पदार्थ दुर्व्यसनी रहेछन् ।

उनी ‘मेरो लागि होइन, आमाबुबाका लागि गरिदिएको हुँ,’ भन्थे । यही कुराले श्रीमान श्रीमतीबीच बेलाबेला झगडा हुन्थ्यो । गर्भवती हुँदा पनि निकै दुःख दिन्थे श्रीमानले । त्यसैले श्रीमानको माया के हो पत्तो भएन ।

श्रीमान र दीक्षाबीच सुरु भएको मनमुटाव विस्तारै बढेर परिवार परिवारका बीचमा पनि सुरु भयो । अभिभावक छोरा चाहान्थे तर, गर्भमा थिइन् छोरी । यसले आगोमा घ्यू थपिएजस्तै भयो । दीक्षाले छोरी जन्माइन् । दुई-तीन महिना माइतै बसिन् ।

पाँच महिनाकी छोरीलाई स्याहार नपुगेर निमोनिया भयो । दश महिनाकी हुँदा उपचारकै क्रममा कान्ति बाल अस्पतालमा मृत्यु भयो । छोरी गुमाउँदा न श्रीमान, न परिवारका सदस्य साथमा थिए । श्रीमान दिनदिनै कुलतमा फस्दै गएका थिए । विदेश पठाए सुधि्रन्छन् कि भनेर मेडिकल टेष्ट गर्दा एचआईभी संक्रमण भएको देखियो । श्रीमानले सुरुमा कुरा लुकाए । रगतमा खराबी भन्नेवित्तिकै दीक्षाले श्रीमानलाई सोधिन्, ‘के भएछ रगतमा ? एड्स त होइन !’

नभन्दै उनको शंका सही ठहरियो । दीक्षाको घर अब घरजस्तो रहेन । तै पनि सुधार्न सकिन्छ कि भनेर पूर्वी चितवन पर्सामा हार्डवेयर पसल खोलिन् । तर, श्रीमानले ड्रग्स खान छाडेनन् । यसै मर्ने, उसै मर्ने भनेर रातदिन नशामा झुम्न थाले ।

दीक्षाले आफ्नो पनि रगत परीक्षण गराइन् । पहिलो पटक परीक्षण गर्दा कुनै खराबी देखिएन । तर, पछि संक्रमण देखियो । संक्रमण भएको रिपोर्ट आएको दिन उनलाई धर्ती भासिएको जस्तो भयो । उनी यति रोइन् कि साध्यै भएन ।

आमासँगै बसमा चितवन फर्कँदा बाटोभरि रोइन् । सुरुको स्टेज हो, उपचार गरे आयु बढाउन सकिन्छ किन भनेर आमाले दीक्षालाई भारत पनि लगिन् । चार-पाँच वटा अस्पताल धाउँदा पनि पोजिटिभ नै आएपछि निराश भएर फर्किए ।

दीक्षाले चिकित्सकले भनेअनुसार औषधि खान भने छाडिनन् । श्रीमानसँग सम्बन्ध विच्छेद गराउने तयारी माइती पक्षबाट भयो । सम्वन्ध विच्छेद गराउने वकिललाई समेत धम्की आयो । दीक्षाकी आमा आफैं न्यायाधीश कहाँ पुगिन् । अंश नचाहिने, तर सम्वन्ध विच्छेद हुनुपर्ने उनको माग थियो । न्यायाधीशले उनको मर्म बुझे । सम्बन्ध विच्छेद मात्र होइन, अंश पनि दिलाइदिए ।

०६३ मा पतिको निधन भयो । दीक्षा भने सम्बन्ध विच्छेद भएदेखि नै माइत बस्न थालेकी थिइन् । सुरुसुरुमा त उनलाई आमाबुबाकै कारण आफ्नो यो अवस्था आएको जस्तो लाग्थ्यो । आमाबुबासँग खुब रिस उठ्थ्यो । छोरीको यो अवस्था हुनुमा आमाबुबालाई पनि आत्मग्लानी हुन्थ्यो । तर, जे नहुनु भइसकेको थियो ।

जब मनमा पलायो अठोट

मान्छेहरुले सडकमा भेटिँदा भन्थे, ‘तपाईहरू पनि बम्बईबाट फर्किएको हो ?’ कयौं असहज प्रश्नहरुले मुटु चुडाल्थे तर, पनि डटेर सामना गर्न छाडिनन् दीक्षाले

विस्तारै दीक्षाले आफूलाई सम्हाल्न थालिन् । गाउँघरमा भने बाहिर निस्कन सक्ने अवस्था थिएन ।

कुरा काट्नेहरु प्रशस्तै थिए । साथीहरु तर्किएर हिँड्थे । मिनीबसमा हिँड्दा चिनेकाहरू छोइयो भने हात टकटकाउँथे । खाजा खान रेष्टुरेण्टमा बस्दा लामखुट्टेले टोकेर पनि सर्न सक्छ भनेर उठेर हिड्थेँ । असाध्यै तीता भोगाई छन् उनीसँग । जसको बयान गर्न पनि सक्दिनन् उनी । ‘ती दिनहरु कसरी व्यतित गरेँ हुँला,’ उनी आफैं अहिले भन्छिन् ।

उनी एचआईभी संक्रमितका लागि चेतना फैलाउने संस्था जनरल वेलफेयर प्रतिष्ठानसँग जोडिइन् । त्यहीँ काम थालिन् । आफूजस्तै संक्रमितलाई परामर्श दिने, औषधि खान र बाँच्ने प्रेरणा दिने काम मन पर्‍यो । उनले ‘चितवन सक्रिय समूह’ खोलिन् । संक्रमितहरु खुल्न डराउँथे, अपमानका भाटाहरु खाइन्छ भन्थे, तर दीक्षा डराइनन् । यो नै जीवन बदल्ने सञ्जिवनी बन्यो दीक्षाको जीवनमा ।

संक्रमित भएर पनि खुल्ने र आफ्ना कुरा राख्ने अवस्था नआउँदा सधैं दबिएर बस्नुपर्ने अवस्थाको अन्त्यका लागि उनले समूह बनाएर संगठित काम गरिन् । शिक्षा बाँड्न थालिन् दीक्षाले । सञ्चारकर्मीसँग कुरा गर्ने, खुलेर बोल्ने बानीको विकास गर्दै लगिन् ।

संस्था चलाउन पैसा थिएन । आफ्नै पैसाले ब्यानर टाँस्दै चेतना फैलाउँदै हिँड्न थालिन् । मान्छेहरुले सडकमा भेटिँदा भन्थे, ‘तपाईहरू पनि बम्बईबाट फर्किएको हो ?’ कयौं असहज प्रश्नहरुले मुटु चुडाल्थे तर, पनि डटेर सामना गर्न छाडिनन् दीक्षाले । समूहका सबै साथीहरुलाई ऊर्जा भर्ने काम गर्थिन् उनी ।

सरकारी कार्यालयहरुसँग समन्वय गरेर काम गरिन् । तत्कालीन जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत रामहरी न्यौपाने लगायतका अन्य व्यक्तिहरुले पनि साथ दिए । यस्ता संस्था अन्य पनि जन्मिए । अनि हौसला मिल्दै गयो ।

दीक्षाले जितिन् अन्तर्राष्ट्रिय अवार्ड

उनले दुई वर्षअघि संस्थाको नाम संशोधन गरेर ‘चितवन सक्रिय महिला प्रतिष्ठान’ राखेकी छन् । सन् २०१६ मा १० हजार अमेरिकन डलर राशीको अन्तर्राष्ट्रिय रेड रिभन अवार्ड जितिन् ।

एचआईभी संक्रमितको पक्षमा सेवा गरेवाफत् उनले थुप्रै सम्मान र पुरस्कार प्राप्त गरेकी छन् । विहानदेखि साँझसम्म संक्रमितहरुकै पक्षमा काम गरिरहकी छन् । उनकै पहलमा जिल्लामा सांगितिक कार्यक्रम गरी १३ लाख संकलन गरिएको छ, जुन एचआईभी संक्रमित बालबालिकाको पालनपोषणमा खर्च हुन्छ ।

एचआईभी संक्रमण हुँदैमा मरिन्न

विगत र अहिलेलाई तुलना गरेर हेर्दा एचआईभी संक्रमितको उपचार क्षेत्रमा फड्को मारेको छ । नियमित औषधि सेवन गरे एचआईभी संक्रमितको आयु बढाउन सकिने अवस्था बनेको छ ।

संक्रमितलाई सक्रिय बनाउन आय-आर्जनका काममा लगाउने वातावरण राज्यले बनाउनुपर्ने दीक्षाको मत छ । ‘हाम्रो समाजमा चेतना बढाउन अझै बाँकी छ,’ दीक्षा भन्छिन्, ‘बच्चाको मुद्दा जटिल, छ तर समयमै पहिचान हुँदा बच्चालाई पनि जोगाउन सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?