Comments Add Comment

अब राजनीति सफा गर्ने आन्दोलन चलाऔं

हामी सबैले अहिले समृद्धि समृद्धि भन्दैछौं । नेकपा यही भन्छ, कांग्रेस यही भन्छ । नागरिक समाज, बुद्धिजीवी यही भन्छन् ।

समृद्धि नभई हुँदैन । तर, यत्रो सम्भावना भएको देशमा पनि हामीले किन अहिलेसम्म समृद्धि र विकास हासिल गर्न सकेनौं ?

हिजो हामीले के भन्यौं भने संक्रमणकाल छ, संविधान बनाऔं, संक्रमणकाल टुंग्याऔं अनि विकास गर्न सक्छौं । संक्रमणकाल पनि सकियो, संविधान पनि बन्यो ।

त्यसपछि हामीमा बहुमतसहितको स्थायी सरकार नभएर पो विकास नहुनेको हो कि भन्ने चिन्ता थियो । त्यो पनि नेकपाको पहलकदमीमा स्थायी सरकार बन्यो । ५ वर्ष सरकार टिक्ने ग्यारेन्टी भयो ।

अहिले राजनीतिक संघर्षको एउटा अध्याय समाप्त भयो । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । अझै हामीसँग विकास र समृद्धि किन आउन सकेन ? अब के भन्नुहुन्छ ? निरंकुशताले गर्दा भन्नुहुन्छ ? संक्रमणकालले गर्दा भन्नुहुन्छ ? स्थायी सरकार छैन भन्नुहुन्छ ?

अब भन्ने ठाउँ छैन । अब काम गरेर देखाउनुपर्छ । अब नेपाली जनताले आफ्नै जीवनमा अनुभूति गर्न पाउने समृद्धि हासिल गर्ने काम बाहेक हामीसँग अर्को कुनै विकल्प छैन ।

अझै एउटा फलामे ढोका छ

अझै पनि देशमा किन विकास हुन सकिरहेको छैन ? किनभने समृद्धिमा पुग्न नदिने हामीसँग अझै एउटा फलामको ढोका छ । त्यो फलामको ढोका भनेको राज्यमा, राजनीतिक पार्टीहरुमा र समाजमा व्याप्त चरम भ्रष्टाचार हो ।

यो भ्रष्टाचारविरुद्ध अभियान नछेडिकन, भ्रष्टाचारलाई नियन्त्रण नगरिकन र सुशासन स्थापित नगरिकन कुनै पनि हालतमा समृद्धिको लक्ष हासिल सकिँदैन ।

सुशासन कायम गर्न सकिएन भने समृद्धि हासिल हुन सक्दैन र नेपाल जस्ताको त्यस्तै रहन्छ । यसले जनतामा ठूलो निराशा पैदा गर्छ । यो निराशाले दक्षिणपन्थी शक्तिहरुलाई आधार तयार गर्छ । यसबाट नेपालको राष्ट्रियतामाथि पनि खतरा पैदा भएर जान्छ । यसले दुबैखालका खतरा पैदा हुन्छन् र विखण्डकारी शक्तिले पनि मलजल पाउँछ ।

त्यसकारण हामीले भ्रष्टाचारविरुद्ध अभियान चलाएर, सुशासन कायम गरेर समृद्धिमा पुग्नुबाहेक अर्को कुनै विकल्प छैन । यसबारे सबैले छातीमा हात राखेर सोच्नुपर्ने अवस्था छ ।

अब राजनीति सफा गर्ने आन्दोलन चलाऔं

मैले भन्ने गरेको छु, अबको आन्दोलन भनेको राजनीति सफा गर्ने आन्दोलन हो । हिजो हामीले निरंकुशताविरुद्ध ठूलो राजनीतिक आन्दोलन र संघर्ष गर्यौं । आज आवश्यकता छ, त्यो राजनीतिक परिवर्तनलाई माध्यम बनाएर देशलाई समृद्ध बनाउने हो भने हामीले राजनीतिलाई सफा गर्नुपर्छ । राजनीतिलाई सफा नगरिकन चल्दै चल्दैन । सुशासन स्थापित हुँदै हुँदैन ।

के हामी राजनीतिक सफाइ आन्दोलनका लागि तयार हौंला ? यो सजिलो छैन । म तपाईहरुलाई भनौं, नेपालमा काम नगरिकन, राजनीतिक पार्टीमा लागेर कमिसन र दलालीको भरमा वैभवशाली जीवन बिताउने बीसौं हजार नेता कार्यकर्ता छन् । यस्ता नेता कार्यकर्ताहरुको भरमा समृद्धि कसरी हुन्छ ?

भ्रष्टाचारविरोधी भाषण गर्ने तर मेरा नजिकका बाहेक अरुलाई मात्रै कारवाही गर भनेर कसरी भ्रष्टाचार नियन्त्रण हुन्छ ? त्यसैले मेरो भनाइ के हो भने अब राजनीति सफाइ गर्ने आन्दोलन चाहिएको छ । यो आन्दोलन पार्टीभित्र पनि चाहिएको छ र समाजभित्र पनि चाहिएको छ । अनिमात्रै हामी अगाडि बढ्न सक्छौं ।

पाँच वर्षमा एकचोटि चुनाव हुने, एउटा सरकारमा गठन हुने र अर्को सधैं विरोध गर्ने प्रतिपक्ष हुने । के यति भएपछि लोकतन्त्र हुन्छ ? लोकतन्त्र त आफूलाई सधैं विकसित गरिरहने प्रणाली हुनुपर्छ ।

र, दोस्रो, जनता सधैं सचेत भइराखनुपर्छ । जनताको सचेत निगरानी हुनुपर्छ । पाँच वर्षमा चुनाव हुने र पाँचवर्षसम्म जे जे गर भनेर छाडा छोडिदिने अनि प्रतिपक्षले पनि विरोधै मात्रै गरिरहने परम्परा सही होइन । त्यसैले जनताको सचेत निगरानीलाई लोकतन्त्रको अभिन्न अंग बनाइनुपर्छ । यसका लागि नागरिक समाजको भूमिका अपरिहार्य छ । किनभने सत्ताको चरित्र स्वाभाविकरुपले दमनकारी र निरंकुश चरित्रलाई अंकुश लगाउनका लागि नागरिक समाज सधैं सक्रिय हुनुपर्छ ।

सबै वकिल भएपछि देश कसरी बन्छ ?

हामीकहाँ अर्को एउटा समस्या पनि छ । यो देश वकिलहरुको देश बन्ने दिशातिर गइराखेको छ । वकिल भनेको के हो भने सत्य एउटा हुन्छ, तर मुद्दा आएपछि ऊ हत्याराको पनि पक्षमा बोल्छ । पैसा लिने हो, केस लड्ने हो । सत्य के हो वकिललाई मतलब हुँदैन ।

अदालतसम्म त वकिल हुन् बाबा । तर, हाम्रो देशमा त सबै वकिल भए । सत्यलाई सत्य भन्दैनन् । सबै वकिल भइसकेका छन् । सत्य के हो भन्ने मतलव छैन, मेरो पार्टीले के भन्छ त्यही ठीक हो भनेर हिँड्ने काम भइरहेको छ ।

जस्तो कि संविधानको धारा एउटै छ, तर व्याख्या पार्टीपिच्छे फरक फरक छ । संविधान हामीले नै मिलेर बनाएका हौं । तर, कुनै एउटा धाराको कुरा आयो भने कांग्रेसका वकिल र बुद्धिजीवी एकातिर हुन्छन् । नेकपाका बुद्धिजीवी र वकिल अर्को व्याख्या गर्छन् । यसरी सबै वकिल भएपछि देश कसरी बन्छ ?

(नेकपाका प्रवक्ता श्रेष्ठले बिराटनगरमा आयोजित मानवअधिकार तथा शान्ति समाजको बैठकमा गरेको सम्वोधनको अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment