Comments Add Comment

पर्साको सुवर्णपुरमा राष्ट्रिय वाणिज्य बैंकको शाखा, स्थानीय हर्षित

१७ मंसिर, वीरगञ्ज । पर्साको ठोरीमा सरकारी बैंक सञ्चालनमा आएपछि स्थानीय हर्षित भएका छन् ।

ठोरी गाउँपालिका वडा नं ५ सुवर्णपुरमा गत असार २९ गतेबाट राष्ट्रिय वाणिज्य बैंकको शाखा सञ्चालनमा आएको हो ।

गाउँमै बैंक सञ्चालनमा आएपछि बैंकिङ कारोबारका लागि वीरगञ्ज धाउनुपर्ने बाध्यताबाट मुक्ति मिलेको उनीहरुको भनाइ छ ।

तत्कालिन सुवर्णपुर गाविसका पूर्व गाविस अध्यक्ष जरी लामाले गाउँमा बैंक आएपछि आर्थिक कारोबार गर्न सहज भएको बताए ।

उनले भने सबैखाले आर्थिक कारोबार अब बैंक मार्फत गर्न सकिन्छ, सरकारी बैंक भएकोले अन्य भन्दा विश्वासिलो र भरपर्दो पनि छ ।’

यसअघि ठोरी गाउँपालिकामा स-साना लघुवित्त बैंक र सहकारीहरु सञ्चालनमा थिए ।  तर, सरकारी बैंकको कुनैपनि शाखा थिएन ।

अब राष्ट्रिय वाणिज्य बैंकको शाखा आएकोले विश्वासका साथ कारोबार गर्न सकिने भन्दै स्थानीय हर्षित छन् ।

बाणिज्य बैंकको शाखा आएपछि खाता खोलेर पैसा जम्मा गर्न, व्यापार व्यवसायबाट आएको कमाईलाई सुरक्षित राख्न र आवश्यक परेको समयमा ऋण निकाल्न सहज भएको भिम बहादुर स्याङ्तान बताउँछन् ।

सरकारी बैंकको शाखा गाउँमा हुँदा स्थानीय स्तरमा खोलिएका सहकारी, समूह र अन्य वित्तिय संस्थालाई समेत रकम सुरक्षित राख्न र आवश्यक परेको समयमा निकाल्न मिल्ने वातावरण बनेको छ ।

शाखा सञ्चालनमा आएको साढे ४ महिनाको अवधीमा राम्रै कारोबार गर्न सफल भएको बंैकका शाखा प्रवन्धक ऋषिकेश भट्टराई बताउँछन् ।

बैंकमा अहिलेसम्म ७ सय जनाले खाता खोलिसकेको र ५ करोड निक्षेप संकलन भईसकेको उनको भनाइ छ ।

बैंकमा ठोरी गाउँपालिका मात्रै नभएर छिमेकी जिराभवानी र पटेर्वा सुगौली गाउँपालिकाबाट समेत सेवाग्राही आएर आर्थिक कारोबार गरिरहेका छन् ।

‘ठोरी गाउँपालिकाको सबै सरकारी काम हामी कहाँबाट नै हुन्छ, गाउँपालिकामा रहेका जनप्रतिनीधि, २ सय भन्दा बढी शिक्षक, सहकारी र लघु वित्तहरुले खाता खोलेका छन्, जिराभवानी र पटेर्वासुगौली गाउँपालिकाबाट समेत सेवाग्राहीहरु आईरहनुभएको छ’, शाखा प्रबन्धक भट्टराईले भने ।

शाखा स्थापनाको छोटो समयमा नै ५ करोड निक्षेप संकलन गरेर ५० लाख जति ऋण प्रवाह भईसकेको उनले बताए ।

उनले गाउँपालिकाहरुको सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरणका लागि समेत आवश्यक पक्रिया शुरु भईसकेको जानकारी दिए ।

सामाजिक सुरक्षा भत्ता वितरणका लागि गाउँपालिकाहरुले लगत संकलन गरेर चाँडै नै बैंकलाई बुझाउँदैछन् ।

सदरमुकाम वीरगञ्जमा बाहेक अन्यत्र राष्ट्रिय वाणिज्य बैंकको शाखा सञ्चालनमा थिएन ।

ठोरी पछि अब पोखरीयामा समेत शाखा सञ्चालन गर्ने तयारी भइरहेको राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment