Comments Add Comment

गाउँपालिकामा कृषि प्राविधिक नहुँदा किसान समस्यामा

१४ मंसिर, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा कृषि प्राविधिक नियमित नहुँदा पर्साको ठोरी गाउँपालिकाका किसानहरु मर्कामा परेका छन् ।

कृषि प्राविधिक नभएका कारण खेतिबाली लगाउँदा सरसल्लाह र परामर्श गर्न नपाईएको किसानहरुको गुनासो छ ।

ठोरी गाउँपालिका वडा नं ५ सुवर्णपुरका साईला बम्जनले यसपाली देखि अग्र्यानिक तरकारी खेति शुरु गरेका छन् । तर, उनको तरकारी खेतिमा समस्या देखिएको छ । उचित परामर्श दिने मानिस कोहिपनि भेटिएको छैन ।

डेढ कठ्ठामा मुला, लसुन, आलु, गोल भेंडाको खेति गरेका उनको गोलभेंडामा पाच खुम्चिने समस्या देखिएको हो ।

गाउँमा कृषि प्राविधिक नभएकोले आवश्यक परामर्श गर्न नपाउँदा मेहनत र लगानी खेर जाने चिन्ताले उनलाई सताएको छ ।

‘गाउँमा एउटा कृषि प्राविधिक भएपनि उहाँ सुर्तिको हुनुहुन्छ, तरकारी खेतिको बारेमा जानकारी दिने कोहि छैनन’, उनले भने, ‘गोलभेंडाको पात खुम्चिएको छ, कुन औषधी प्रयोग गर्दा राम्रो हुन्छ थाहा नै भएन । बोट उखेलेर फाल्नु परिरहेको छ ।’

‘पहिलो पटक गोलभेंडा लगाएको अस्तीसम्म राम्रै थियो, तर अहिले पातहरु खुम्चेको छ, फुलहरु पनि राम्रोसँग फुल्दैन, कोहि चिसोले भन्छन्, के रोग लागेको हो थाहा छैन’, उनले भने, ‘विषादी नछरी खेति गर्न भनेको छ ।’

ठोरी गाउँपालिकाको केन्द्र सुवर्णपुरमा नै छ । तर, साईलाको जस्तै समस्यामा सीमा लामा पनि परेकी छन् ।

‘अग्र्यानिक खेति गर्दा पातहरु खुम्चिने समस्या देखियो भने के गर्ने भनेर थाहा नै भएन’, उनी भन्छिन् ‘त्यसले गर्दा मेहनत र लगानी खेर जाने भयो, दुःख गरेको मात्रै हुने भयो । ‘

स्थानीय समुदायलाई आर्थिक रुपमा सबल बनाउन र वनप्रतिको निर्भरता घटाउनका लागि सुवर्णपुरमा गरिब विपन्न वर्ग, वनमा आश्रति समुदायका २० जनालाई डब्लु डब्लु एफले तराई भू-परीधि कार्यक्रम -ताल) मार्फत प्रति परिवार एक कठ्ठा बराबरमा अग्र्यानिक तरकारी खेति गर्न सहयोग गरेको छ ।

वन प्रतिको निर्भरता घटाउन तरकारी खेतिका लागि उपभोक्ता समिति मार्फत किसानलाई अनुदान सहयोग गरेको तालको सामुदायिक संरक्षण सहजकर्ता वेदहरी दहाल बताउँछन् ।

उनका अनुसार जसबाट उपभोक्ता समितिका २० जना सदस्यले तरकारी खेति शुरु गरिसकेका छन्, भने थप १२ जनाले तरकारी खेति शुरु गर्ने तयारी गर्दैछन् ।

सुनाखरी उपभोक्ता समिति सचिव जीवन श्रेष्ठले २० जना किसानलाई ७० हजार मुल्य बराबरको सहयोग गरिएको जानकारी दिए ।

‘किसानलाई अग्र्यानिक खेति गर्न भनिएको छ । कम्तीमा ९ पटक खेतमा कृषि प्राविधिकलाई घुमाउनुपर्ने छ तर, गाउँपालिकामा कृषि प्राविधिक नहुँदा समस्या छ । एउटा आउनुहुन्छ, एक हप्ता बस्नुहुन्छ, फेरि सरुवा हुन्छ’, श्रेष्ठले भने, ‘केहि किसानको खेतिमा समस्या देखिएको छ । तर समस्याको समाधानका लागि परामर्श गर्ने प्राविधिक नै छैनन् ।’

एक कठ्ठामा अनिवार्य तरकारी खेति गर्न भनिएकोमा किसानले थप दुई तीन कठ्ठामा खेति गरेका कारण बजार व्यवस्थापनमा समेत चुनौती देखिने उनी बताउँछन् ।

‘ गाउँमा १४ वटा होम स्टे छ, सुवर्णपुरमा दुईवटा तरकारी पसल छ अनि केहि होटल छन्, त्यसमा तरकारी सप्लाई गर्ने सोच छ’, सचिव श्रेष्ठ भन्छन्, ‘तर धेरै नै उत्पादन भयो भने बजारीकरण गर्न पनि चुनौति हुन सक्छ । बजार व्यवस्थापन समयमा हुन नसके किसान निराश हुने भएकोले आवश्यक छलफल गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment