Comments Add Comment

खुला ठाउँमा शौच गर्नेलाई गाउँपालिकाको सम्मान

१६ मंसिर, मोरङ । सुन्दा र हेर्दा अचम्म लाग्न सक्छ । सार्बजनिक स्थानमा शौच गर्नेलाई गाउँपालिकाले सम्मान गर्दा । मोरङको एउटा गाउँपालिकामा भने केही दिनयता सार्बजनिक स्थानमा सौच गर्नेलाई सम्मान गर्ने अभियान चलिरहेको छ ।

खुला दिसामुक्त क्षेत्र घोषणाको अभियान सञ्चालन गरिरहेको कटहरी गाउँपालिकाले शौचालय निर्माण गर्न अटेर गरी सार्बजनिक स्थानमा शौच गर्नेलाई चोकमा ल्याएर माला लगाएर सम्मान गरेको हो ।

शौचालय निर्माण गर्न आग्रह गर्दा पनि अटेर गरी सार्बजनिक स्थानमा शौच गर्नेलाई गाउँपालिकाले चोकमा ल्याएर सम्मान गर्ने गरेको हो ।

मंसिर २९ गते खुला दिशामुक्त क्षेत्र घोषणा गर्न गाउपालिकाले शौचालय निर्माण अभियान तिब्र बनाएको छ । तर शौचालय निर्माण नगरी सार्वजनिक स्थानमा शौच गर्नेलाई नियन्त्रणमा लिएर सम्मान गरेका हो ।

गाउँपालिकाले खुला दिशामुक्त क्षेत्र घोषणा गर्न प्रहरीको पनि सहयोग लिदै आएको छ । बिहान शौच गर्न जाने र फर्कने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर केही समय राखेर सम्झाउदै छाड्ने गरेको छ ।

शौचालय निर्माण गर्न दबाव दिनका लागि सार्बजनिक स्थानमा शौच गर्नेलाई सम्मान गरिएको गाउपालिका अध्यक्ष रामकुमार कामतले बताए । मंसिर २९ गते गाउँपालिकालाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्ने तयारी गरिएको बताउदै उनले शौचालय निर्माणका लागि गाउँपालिकाले विपन्न परिवारका लागि रिङ पनि उपलब्ध गराएको बताए ।

अभियानलाई असहयोग गर्ने व्यक्तिहरुलाई दिसा गर्न गएकै बेला प्रहरी लगाएर पक्राउ गर्ने र दिसा गर्न जाँदै गरेकाहरुलाई भने चोकमा ल्याएर चिया नास्ता पनि खुवाउने गरिएको छ ।

कटहरी गाउँपालिका ३ स्थित चक्रपथमा दुई दिनमा शौच गर्न गएका ९ जनालाई प्रहरीले पक्राउ गरी सम्झाएर छाडेको थियो ।

गाउँपालिकाले रिङ दिँदा पनि शौचालय बनाउन अटेर गर्दै सार्बजनिक स्थानमा शौच गर्नेलाई सम्मान गरिएको वडा नम्बर ४ का अध्यक्ष मण्टु शेखले बताए । सम्झाउदा पनि अटेर गरेका कारण आजित भएर सार्बजनिक स्थानमा सम्मान गरिएको उनको भनाइ छ ।

मोरङमा रहेका १७ वटा स्थानीय तहमध्ये १२ वटा स्थानीय तह खुला दिशामुक्त क्षेत्र घोषणा भइसकेका छन् । खुलादिशामुक्त क्षेत्र घोषणा गर्न बाकी रहेका ५ वटा स्थानीय तहलाई मंसिर महिना भित्र खुलादिशामुक्त क्षेत्र घोषणा गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment