Comments Add Comment

किम्फमा ३१ देशका ७० चलचित्र देखाइँदै, चार वर्षपछि राष्ट्रिय सभागृहमा

१६ मंसिर, काठमाडौं । काठमाडौं इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को सोह्रौं संस्करण २१ देखि २५ मंसिरसम्म काठमाडौंस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा हुने भएको छ ।

वृत्तचित्र, कथानक चलचित्र, लघु चलचित्र, प्रयोगवादी र एनिमेसन चलचित्र देखाइने महोत्सव चार वर्षपछि पुरानै स्थानमा फर्किएको हो । अठारौं सार्क शिखर सम्मेलनका बेला राष्ट्रिय सभागृहको स्तरोन्नती भएपछि किम्फ कुमारी हलमा सरेको थियो ।

‘वुमन मुभ माउन्टेन्स’ ट्यागलाइन रहेको किम्फमा नेपालसहित ३१ देशका ७० भन्दा बढी फिल्म प्रदर्शन हुने महोत्सवकी निर्देशक रम्यता लिम्बुले जानकारी दिइन । उनका अनुसार महोत्सवमा देखाइने ३० प्रतिशत चलचित्रको निर्देशक महिला छन् ।

आयोजकका अनुसार किम्फको उटघाटन अष्ट्रेयाली निर्देशक जेनिफर पिडमको वृत्तचित्र ‘माउन्टेन’ को विशेष प्रदर्शनीबाट हुनेछ । यो वृत्तचित्र सौन्दर्य, रहस्य र अदभूत शक्तिको विषयमा छ । पिडम निर्देशित वृत्तचित्र ‘शेर्पा’ यसअघि किम्फमा प्रदर्शन भईसकेको छ ।

काठमाडौं महानगरपालिका किम्फको सहआयोजक रहेको छ । किम्फका अध्यक्ष बसन्त थापा महानगरपालिकाको साथले आफूहरूलाई उत्साहित बनाएको बताउँछन् । उनी भन्छन्, ‘महोत्सव फरकधारको चलचित्रमार्फत दर्शकलाई मनोरञ्जन दिनका लागि त हो नै यसमा जनतालाई प्रभाव पारिरहेको विषयमा छलफल पनि चलाउाछौं ।’

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो हुनेले १५ सय, दोस्रो हुनेले एक हजार र तेस्रो हुने फिल्मले पाँच सय अमेरिकी डलर प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा १४ वटा फिल्म छन् ।

यस्तै नेपाल पानोरामा आख्यानतर्फ पहिलो हुनेले एक लाख रुपैाया र गैर-आख्यानतर्फ पहिले हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । नेपाल पानोरामातर्फ २० वटा वृत्तचित्र र कथानक चलचित्र छन् ।

उत्कृष्ट पर्वतीय फिल्मलाई इसिमोडले एक हजार अमेरिकी डलर बराबरको नगद पुरस्कार प्रदान गर्नेछ । आयोजकका अनुसार दर्शक छनौटमा उत्कृष्ट चलचित्रलाई अस्कर इन्टरन्यासनल कलेजले ५० हजार रुपैयाँ पुरस्कार प्रदान गर्नेछ । उत्कृष्ट साहसिक फिल्मले आपा शेर्पा फाउन्डेसनबाट एक हजार अमेरिकी डलर बराबरको नगद पुरस्कार पाउनेछ ।

निर्णायक मण्डलमा केन्डल माउन्टेन फिल्म फेस्टिभलकी कला निर्देशक क्लेर जेन कार्टर, अष्ट्रेलियन फिल्ममेकर जोलियन हफ तथा नेपालका छिरिङ रिता शेर्पा छन् ।
ट्राभेल इज इन अल्टिच्युड शीर्षकमा ३५ वर्ष मुनिका युवाहरूको लघु चलचित्र प्रतियोगिता गर्न लागिएको लिम्बुले जानकारी दिइन् । उनका अनुसार महोत्सवमा छलफल, परिसंवाद, व्याख्यान, फोटो प्रदर्शनी तथा प्रतिस्थापन कला राखिने छन् ।

अष्ट्रेलियन फिल्ममेकर जेनिफर पिडम र केसाङ छेतेनले ‘मास्टर क्लास’ सञ्चालन गर्नेछन् । यस्तै महोत्सवमा सगरमाथा आरोहण गरेका पााच नेपाली पत्रकार महिलाको आरोहण तस्वीर, पौलोमी बासुको ‘ब्ल स्पिक्स अ रिच्युएल अफ एक्जाइल’ र उमा विष्टको ‘आइ एम प्योर’ शीर्षकमा फोटो प्रदर्शनी गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment