Comments Add Comment

संसद भवन मर्मत गर्ने कर्मचारीको मनलाग्दी, मन्त्रीले मागे ‘अटेरी’को लिस्ट

१६ मंसिर, काठमाडौं । शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले राजनीतिक आवरणमा काम नगर्ने कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनको आइतवार निरीक्षण गर्दै मन्त्री राईले मर्मत संभारको काम सुस्त भएको भन्दै काम नगर्ने कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिए ।

मर्मत संभारको काम सुस्त पाइएपछि मन्त्री राईले संसद बैठक आहृवान गर्ने समय भन्दा पहिले नै सक्ने गरी काम गर्न निर्देशन दिए । उनले भने, ‘आगामी पौषको पहिलो साताभित्रमा सक्ने गरी काम गर्नुहोस, यदी ढिलाई भए जिम्मेवारी पुरा नगरेको भनेर हामी तपाईहरुलाई कारवाही गर्छौ ।’

मन्त्री राईले संसद भवनभित्रको प्रतिनिधिसभा बैठक कक्ष, राष्ट्रियसभा बैठक कक्ष, शौचालय, ग्यालेरी तथा पार्किङ स्थल, बगैचा लगायत भवनको भित्री स्वरुपको अवलोकन गरे ।

सो क्रममा अन्तराष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका कार्यकारी निर्देशक पुरुषोत्तम अमात्यले कतिपय कर्मचारीले राजनीतिक पहुँच देखाएर काम नगरेका कारण मर्मत सम्भारमा ढिलाई भएको गुनासो गरे ।

मन्त्री राईले राजनीतिक आवरणमा काम नगर्ने कर्मचारीको नामावली आफूलाई बुझाउन निर्देशन दिँदै आफ्नाे जिम्मेवारी बहन नगर्ने कर्मचारीलाई तत्काल कारवाही गर्ने चेतावनी दिए ।

आवश्यक ऐन नियम, आदेश संशोधन गरेर काम नगर्ने कर्मचारीलाई प्रदेशमा खटाउने भन्दै मन्त्री राईले राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने बताए ।

संसद अधिवेशन बोलाउने समय नजिकिएसँगै उक्त भवनको भित्री तथा बाय स्वरुप मर्मत सम्भार भइरहेको छ ।  यद्यपी मर्मत सम्भारको काम सुस्त भएको गुनासो आएपछि निरीक्षणका लागि मन्त्री राई संसद भवन पुगेका थिए ।

शहरी विकास मन्त्रालय अन्र्तगतको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले नयाँ बानेश्वरस्थित संसद भवनको मर्मत संभार तथा सरसफाईको जिम्मा लिँदै आएको छ । उक्त समिति अन्र्तगत जम्मा ९८ कर्मचारी स्थायी तथा अस्थायी सेवामा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment