Comments Add Comment

अवकाशको मुखमा पुगेका प्रधानन्यायाधीशको आँखामा आर्थिक र व्यापारिक मुद्दा

१७ मंसिर, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले एसिया प्यासिफिक समिटले नेकपामा असन्तुष्टि चुलिएकोदेखि प्रधानमन्त्रीले केपी शर्मा ओलीले सुशासन अवार्ड पाएकोसम्मका खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

त्यसैगरी, अवकाशको मुखमा पुगेका प्रधानन्यायाधीशले रुचिका मुद्दा हेर्न थालेको, विदेशी अनुदान भित्र्याउन सरकार उदासीन देखिएको, प्रधानमन्त्री कार्यालयमा वार रुम स्थापना गरिएकोलगायत समाचारलाई पनि आजका पत्रपत्रिकाहरुले उत्तिकै प्राथमिकता दिएर पहिलो पृष्ठमा छापेका छन् ।

कान्तिपुरले अवकाश हुन एक महिना मात्र बाँकी रहेका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले केही आर्थि र व्यापारिक मुद्दालाई छिटो–छिटो पेसीमा पारेको लेखेको छ । समाचार अनुसार तिनमा एनसेलसँगै अक्सिजन ग्यासका ५, भाटभटेनीका ७, अरुण इन्टरकन्टिनेन्टलका २ लगायतका मुद्दा छन् ।

कान्तिपुर लेख्छ– प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अवकाश नजिकिँदै जाँदा सर्वोच्च अदालतमा ठूला आर्थिक र व्यापारिक मुद्दा पेसी चढ्ने क्रम तीव्र छ । कतिपयको पेसी व्यवस्थापनसमेत अस्वभाविक छ ।’

विवादास्पद क्रिश्चियन धर्म प्रचारक संस्था युनिभर्सल पिस फेडेरेसनले आयोजना गरेको एसिया प्यासिफिक समिटमा सरकार र पार्टीका शीर्ष नेताहरुको संलग्नताप्रति सत्तारुढ नेकपाभित्र असन्तुष्टि बढेको अर्को समाचार पनि कान्तिपुरमा छ ।

विवादित धार्मिक संस्थाको कार्यक्रममा सरकार प्रत्यक्ष सहभागी र सहयोगी बनेको भन्दै पार्टी नेताहरुले सार्वजनिक रुपमै आपत्ति जनाएको समाचारमा उल्लेख छ ।

समिटमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल आमन्त्रण समितिको संयोजक थिए भने प्रधानमन्त्री ओली र सरकार सहयोगी बनेको थियो ।

‘प्रधानमन्त्री ओलीलाई सुशासनको तक्मा’ शीर्षक दिएर नयाँ पत्रिकाले केरलाको चर्चका पादरी मार कुरिलोसदेखि सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङसम्मले पाएको पुरस्कार प्रधानमन्त्री ओलीले पाएको लेखेको छ ।

नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्री ओलीलाई लिडरसीप एन्ड गुड गभर्नेन्स अवार्डबाट आइतबार पुरस्कृत गरिएको हो । पुरस्कारको राशि १ लाख डलर छ । प्रधानमन्त्रीले यो पुरस्कार नेपाली युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा गरेका छन् ।

फोनमा कुरा गर्दै अमेरिकामा एक नेपाली युवाले आत्महत्या गरेको समाचार पनि नयाँ पत्रिकाले छापेको छ । सन्नीभल सहरमा बस्दै आएका २४ वर्षीय गणेश तिवारीले बिहीबार आत्महत्या गरेका हुन् । उनी नवलपरासीका हुन् ।

अन्नपूर्णले श्रम समझदारी भएको १ महिना बित्दा पनि जुँगाको लडाइँका कारण मलेसियाको रोजगारी खुल्न नसक्नुको जनाएको छ ।

कामदार निःशुल्क पठाउने समझदारी गरेका मन्त्री गोकर्ण विष्टलाई अवसरको फाइदा लिन केही व्यवसायीले चलखेल थालेको पनि समाचारमा उल्लेख छ । सरकारी रवैयाले विदेशी लगानी भित्रिन बाधा परेको अर्को विषयलाई पनि अन्नपूर्णले पहिलो पृष्ठमा उठाएको छ ।

अन्तरमन्त्रालय विवादका कारण सानाठूला परियोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा वार रुम प्रयोगमा ल्याउन लागिएको खबर नागरिकमा छ भने राजधानीले लुकेर विदेश जाने ३ सचिवलाई स्पष्टीकरण सोधिएको लेखेको छ ।

गोरखापत्रमा मेलम्चीको काम छिटो सक्न निर्देशन दिइएकोदेखि महालेखा परीक्षक कार्यालयले वाइडबडी खरिदको थप कागजात मागेकोलगायतका समाचार पहिलो पृष्ठमा छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment