Comments Add Comment

गणतन्त्रको भाष्यः पहाडीको धोती, पाण्डेको लठ्ठी ! 

१७ मंसिर, काठमाडौं । तत्कालीन राजा ज्ञानेन्द्रले अधिनायकवाद लादेका बेला कांग्रेस/कम्युनिस्ट लगायतका राजनीतिक दलले आन्दोलन उठाउन सकिरहेका थिएनन् । त्यसबेला सातदलीय मोर्चा जनतामा अलोकप्रिय थियो ।

राजनीतिक दलहरु कमजोर बनेका बेलामा डा. देवेन्द्रराज पाण्डे, कृष्ण पहाडीलगायतका नागरिक अगुवाले लोकतान्त्रिक गणतन्त्रात्मक आन्दोलनका लागि वातावरण बनाए । दलका तर्फबाट गगन थापा, गुरु घिमिरे लगायतका युवाहरुले गणतन्त्रको झण्डा उठाए ।

अहिले देशमा लोकतन्त्र स्थापना भएको १३ वर्ष लागिसक्यो । यसबीचमा गणतन्त्र घोषणा भयो । संविधानसभाबाट संविधान पनि बन्यो । तीनै तहका चुनाव सम्पन्न भए । स्थानीय एवं प्रादेशिक सरकार बने । ५ वर्ष कसैले ढाल्न नसक्ने गरी बहुमतको स्थिर सरकार पनि बन्यो । राजनीतिक संक्रमणकाल सकियो ।

तर, निरंकुश राजतन्त्रको अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसक्दा पनि जनतामा उत्साह पलाउन सकिरहेको छैन । गणतन्त्रविरोधी शक्तिहरु उत्साहित बन्दै गइरहेका छन् भने आम जनतामा ‘मास फ्रस्टेसन’ देखिन थालेको छ । ०६२ सालमा जस्तै फेरि पनि दलहरु अलोकप्रिय बन्न थालेका छन् ।

गणतन्त्रको टावर मानिने राष्ट्रपति जनतामा आलोचित बनिरहेकी छिन् । दुईतिहाई बहुमतको सरकार अलोकप्रिय र निरीहजस्तै देखिन थालेको छ ।

देशको निराशाजनक परिस्थितिलाई देखेर कतिपय मानिसले गणतन्त्रका अभियन्ताहरुमाथि नै प्रश्न तेर्स्याउन थालेका छन्- के तपाईहरुले यस्तै अवस्थाका लागि गणतन्त्र ल्याउनुभएको हो ? तपाईहरुले व्यवस्था परिवर्तनसँगै यी दलहरु सुध्रिने छन् र अब गल्ती गर्ने छैनन् भनेर जनतालाई आश्वासन दिनुभएको होइन ? अनि अहिलेको यो भद्रगोल अवस्थाप्रति तपाईहरु किन केही पनि बोल्नुहुन्न ? आदि-इत्यादि ।

देशको यही परिस्थितिबीच हामीले केही दिनअघि बिराटनगर पुगेर नागरिक आन्दोलनका अगुवा एवं गणतन्त्रका अगुवाहरुलाई भेट्यौं र उनीहरुका कुरा सुन्यौं । आखिर, गणतन्त्रका अभियन्ताहरु पनि राजनीतिक दल नसुध्रिएकोमा चिन्तित रहेछन् । अझै पनि देशको अवस्था यस्तै रही रहे गणतन्त्रविरोधी, दक्षिणपन्थी एवं विखण्डनवादी तत्वहरुले टाउको उठाउन सक्ने  गणतन्त्रवादीहरुले चिन्तासमेत व्यक्त गरे ।

मानवअधिकारकर्मी कृष्ण पहाडी संस्थापक सभापति रहेको ‘मानवअधिकार तथा शान्ति समाज’को  दुई दिने राष्ट्रिय परिषद बैठकमा सहभागी हुन बिराटनगर पुगेका गणतन्त्रका अभियन्ताहरुले उपलब्धिहरूको रक्षाका लागि फेरि सक्रिय हुनुपर्ने निश्कर्ष निकाले ।

आलोचना गर्न पनि सक्दैनौं, समर्थन गर्न पनि – डा. पाण्डे

नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डे उमेर हदका कारण लौरो टेकेर हिँड्छन् । बिराटनगर पुगेका बेला पाण्डेले देशको वर्तमान अवस्थाका कारण आफूलाई परेको सकसबारे प्रतिक्रिया दिँदै भने- ‘यी दलहरुलाई हामी आलोचना गर्न पनि सक्दैनौं, समर्थन गर्न पनि सक्दैनौं । आलोचना गर्‍यो, लोकतन्त्रका विरोधीहरुलाई फाइदा पुग्छ । तिमीहरुले नै ल्याएको त हो नि भन्छन् ।’

०६२/०६३ को जनआन्दोलनलाई सम्झँदै पाण्डेले भने- ‘एक प्रकारले ती दिनहरु चुनौतीपूर्ण थिए । रोमाञ्चक पनि थिए । हामीले होस्टे गर्‍यौं । दलहरुलाई शान्ति प्रक्रियामा ल्याएर लोकतान्त्रिक आन्दोलनमा हामी सफल भयौं ।’

वर्तमान दिनहरु सम्झँदै डा. पाण्डे भन्छन्- ‘हाम्रा कठिन दिनहरु त्यसपछि आए । एकजना पत्रकार इन्टरभ्यु गर्न आउनुभयो, प्रश्नहरु थिए- संघीय गणतन्त्र तपाईहरुले ल्याएको हैन ? यही बेथिति देख्नलाई हो ? नागरिकको अवस्था यो छ । म आफू राजनीतिक व्यक्ति होइन । त्यो अगुवा हैन, कता-कता के भइयो, के भइयो जस्तो अवस्था छ ।’

आफूहरुले ०६२/ ०६३ को आन्दोलनमा दलहरुलाई सघाएको डा. पाण्डेको भनाइ छ । दलहरुको विकल्प दलहरु नै हुनुपर्ने भएकाले आफूहरुले लोकतान्त्रिक गणतन्त्र स्थापना गरेर दलहरुलाई छाडिदिएको उनको तर्क छ ।

डा. पाण्डे भन्छन्- ‘जनताले विश्वास गरेर सात दललाई सघाएका हुन् । राजनीतिक पार्टीहरुको दायित्वमा र भूमिका के हो भनेर राजनीतिक नेताहरुका बारेमा हामीले सम्झायौं । यति गरेर छाडिदियौं ।’

अब जनताले गरेको त्याग र बलिदानलाई संस्थागत गर्नुको अर्को विकल्प नरहेको पाण्डेको विश्लेषण छ । यसो गर्न सकिएन भने आगामी दिनहरु चुनौतीपूर्ण हुने उनी बताउँछन् । पाण्डे भन्छन्- ‘यो त्याग बलिदानका आधारमा संस्थागत संरचनाहरुलाई अरु मजबुद बनाएर जनतालाई बलियो बनाउन लागेनौं भने आगामी दिनहरु चुनौतीपूर्ण छन् । यसका लागि हामीले केही गर्नुपर्छ भने गर्नुपर्छ भन्ने लागेको छ ।’

नागरिक आन्दोलनका अगुवा पाण्डेले अब राजनीतिक दलभित्रका युवाहरुले पनि आ-आफ्नो पार्टीमा शुद्धीकरणका लागि दबाव दिनुपर्ने बताए । उनले भने- ‘त्योबेला जसरी नागरिकहरुले दललाई दबाव दिए, अब पार्टीभित्रका राम्रा युवाहरुले आ-आफ्नो पार्टीलाई दबाव दिनोस् ।’

ओलीजी, ५ वर्ष चलाएर देखाउनोस्- कृष्ण पहाडी

ज्ञानेन्द्रको शासनकालमा जोखिम मोलेरै भए पनि गणतन्त्रको नारा लगाएर देशैभरि चर्चित बनेका मानवअधिकारकर्मी एवं नागरिक आन्दोलनका अगुवा कृष्ण पहाडीले अहिले पनि पहेंलो बस्त्र लगाउन छाडेका छैनन् । पहिले उनी पहेंलो सर्ट र पाइन्ट लगाउँथे, केही महिनायता उनले पाइन्ट लगाउन छाडेर धोती लगाउन थालेका छन् ।

बिराटनगरमा धोती र कूर्तामा देखिएका पहाडी निकै गम्भीर देखिन्थे । आफ्नो गृहनगरमा उनले मेचीदेखि महाकालीसम्मका करिब ३ सय मानवअधिकार अभियन्ताहरुलाई उतारेर दुई दिने बैठकको आयोजना गरेका रहेछन् । विदेशी डलर र सरकारबाट चन्दा नलिने संस्थाको रुपमा उनले मानवअधिकार तथा शान्ति समाजको स्थापना आजभन्दा २१ वर्ष पहिले गरेका हुन् ।  अहिले यसलाई जगाउने र लोकतान्त्रिक गण्तन्त्रको रक्षा गर्ने अभियानमा पहाडी सक्रिय रहेको देखाउँथ्यो उनको सक्रियताले ।

प्रधानमन्त्री ओलीज्यु ! ५ वर्षे कार्यकाल पूरा गरेर देखाउनोस् । बोझ भएर जानुहुन्छ कि, हाईहाई भएर जानुहुन्छ, त्यो तपाईको कर्ममा भर पर्छ

पहाडीले देशमा विखण्डनको बिउ रोप्ने काम भइरहेको खतरा औंल्याए । तर, उनले ओली सरकारको विरुद्धमा आन्दोलन गर्ने पइामा आफूहरु नरहेको स्पष्ट पार्दै ५ वर्ष सरकार चलाएर देखाउन प्रधानमन्त्री केपी ओलीलाई चुनौती दिए ।

‘हामी यो सरकारविरुद्व आन्दोलन गर्दैनौं । यो हाम्रो काम होइन । मानवअधिकारसम्मत आचरण भएन भनेमात्रै हो’ पहाडीले भने, ‘यो सरकारलाई हामी शुभकामना दिन चाहन्छौं । २००७ देखि आजसम्म कुनै पनि सरकारले ५ वर्षे कार्यकाल पूरा गर्न सकेका छैनन्, तपाई प्रधानमन्त्री ओलीज्यु ! ५ वर्षे कार्यकाल पूरा गरेर देखाउनोस् । बोझ भएर जानुहुन्छ कि, हाईहाई भएर जानुहुन्छ, त्यो तपाईको कर्ममा भर पर्छ ।’

तर, सरकारको काम गराई हेर्दाखेरि धेरै आशा गर्ने ठाउँ नरहेको पहाडीले सांकेतिक अभिव्यक्ति दिए । ‘अम्बा कुहिएको छ कि छैन भनेर थाहा पाउन पूरै अम्बा खानुपर्दैन,’ पहाडीले ओली सरकारतिर संकेत गर्दै भने, ‘गन्धचाहिँ त्यतैतिर जाँदैछ ।’

०६२/०६३ को जनआन्दोलनका बेलामा राजनीतिक समाज कमजोर भएकाले त्यो कमजोर राजनीतिक समाजलाई पार्टीको विकल्प पार्टी नै हुन्छ भनेर नागरिक आन्दोलनले सघाएको   पहाडीले स्मरण गरे ।

केही दिन पहिले आफूहरुले बालुवाटारमा प्रधानमन्त्री ओलीलाई डेढघण्टासम्म भेटेको सुनाउँदै पहाडीले भने- ‘डेढघण्टा भेटेको, उहाँले १ घण्टा २० मिनेट बोल्नुभो । म माअवअधिकार शान्ति समाजकै मान्छे हुँ भनेजसरी प्रस्तुत हुनु भो । तर, व्यवहार अर्कै छ । मुखमा रामराम, बगलीमा छुरा भनेको यही हो ।’

पहाडीले देवेन्द्र पाण्डेतर्फ इंगित गर्दै भने, ‘देवेन्द्रराज पाण्डेप्रति नागरिकहरुको अगुवाका रुपमा उच्चसम्मान छ । र, एउटा गुनासो पनि छ- उहाँले धेरै इतिहास बोकेर बस्नुभएको छ । उहाँले आत्मकथा लेख्नुपर्छ ।’

पाण्डेको लठ्ठीमा तागत छ, त्यो देखाउनोस्- गगन थापा

पूर्वमन्त्री एवं सांसद गगन थापा नागरिक अभियन्ता होइनन् । उनी नेपाली कांग्रेसका नतेा हुन् । ०६२/०६३ को आन्दोलनमा उनी विद्यार्थी नेता थिए । उनले पार्टीको लाइनलाई क्रस गरेर गणतन्त्रको वकालत गरेका थिए । नागरिक अगुवाहरुको आन्दोलनमा सहभागिता जनाएका थिए ।

जनआन्दोलन सफल भएको १३ वर्षपछि प्रतिपक्षी बेञ्चमा बसेका थापाले बिराटनगर पुगेर भने- ‘हामीले चाहेको संरचना पाएका छौं, अब यसमा टेकेर अगाडि बढ्नुको विकल्प छैन । देवेन्द्रराज पाण्डेको हातमा रहेको लठ्ठीमा ताकत त, त्यो तागत देखाउनोस् । कृष्ण पहाडीको गर्जनमा तागत छ, त्यो तागत फेरि हामीलाई चाहिएको छ । अर्जुन पराजुलीको कवितामा तागत छ, त्यो तागत चाहिएको छ । त्यो तागतमा हामीले ल्याएको परिवर्तनलाई जोगाएर जनताका अपेक्षाहरुलाई पूरा गर्नुपर्छ ।’

कांग्रेस नेता थापाले भने- ‘आन्दोलन सफल भएको पनि १३ वर्ष भइसक्यो । त्योबेलामा हामीलाई सोध्ने गरिन्थ्यो, आन्दोलनपछि के हुन्छ ? हामी भन्थ्यौं, त्यसपछि एउटा नयाँ यात्रा सुरु हुन्छ । हामी सबै सम्मानित, सम्पन्न र सुखी हुनेछौं । यसको जगका लागि लोकतान्त्रिक गणतन्त्र सहितको संविधान आवश्यक हुन्छ भन्यौं । यहाँसम्म हामी आइपुग्यौं । भर्खरै हामीले त्यो जग हाल्यौं । अब हाम्रो काम भनेको हामीले धेरै समयदेखि प्रतिक्षा गरेको त्यो घर बनाउने हो ।’

तर, विगतमा आफूहरुले जनतालाई देखाएको सपना साकार हुन नसकिरहेको थापाले गुनासो पोखे । उनले भने- ‘योबेला मलाई त्यसबेलाको युवकले आएर सोध्यो भने यो जगमा अब घर बन्छ भनेर भन्न सकिरहेको छैन । राजाको आसन त अलिकति होचो रहेछ, त्योभन्दा माथिको आसनमा बस्नुपर्छ भन्ने दौडमा राष्ट्रपति लागिरहेको देख्दाखेरि….।’

जनताले गणतन्त्रका राष्ट्रपति र प्रधानमन्त्रीलाई राजाभन्दा फरक रुपमा देख्न चाहेको थापाले बताए । उनले भने- ‘ म राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रदेश २ को बेटी बचाउ आन्दोलनको नेतृत्व गरेको हेर्न चाहन्छु । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर पुगेर निर्मलाका आमाबुबालाई भेटेर ‘म छु नआत्तिनु, निर्मला मेरी पनि छोरी हो भनेको हेर्न चाहन्छु ।’

यो पनि पढ्नुहोस अब राजनीति सफा गर्ने आन्दोलन चलाऔं

गणतन्त्रका शासकहरुले जनताको मर्मलाई छुन नसकेको गुनासो थापाको छ । उनले भने-‘हामीले संघीयताको मर्ममा कहाँ छोएका छौं । ? मर्म कतिवटा प्रदेश भन्ने होइन, मर्म शासनमा जनताको सहभागिताको हो । मर्म जनताको नजिकको सरकारको हो । औपचारिक प्रजातन्त्र अर्थात, शासक बलियो हुने तन्त्र होइन, नागरिक बलियो हुने लोकतन्त्र खोजेको हो हामीले ।

युवा नेता थापाले आगामी दिनका चुनौतितर्फ फर्केर भने- ‘हामीले अब समय खेर फाल्नु हुँदैन । हामीले जनतामा विश्वास जगाउन सकेनौं भने विखण्डनको नारा अगाडि आउन सक्छ । काहीँ बिध्वंशको नारा अगाडि आउन सक्छ । काहीँ जातको नारा लगाएर, राष्ट्रवादको नारा लगाएर त्यो आउन सक्छ । त्यसैले यो प्रणालीप्रतिको विश्वास, हामीले गरेको परिवर्तनप्रतिको विश्वास जगाउनुपर्छ ।’

थापाले अगाडि भने- ‘सुधार्नुपर्ने ठाउँहरुलाई सुधारेर, दवाब सिर्जना गर्नुपर्ने ठाउँहरुमा दवाब सिर्जना गरेर विधि, प्रक्रिया आचरणका कुराहरुमा परिवर्तन गर्नुपर्ने बाध्यताको स्थिति सिर्जना गरेर हामीले चाहेको ठाउँमा नेपाललाई पुर्‍याउनु पर्नेछ । यसमा मलाई विश्वास छ ।’

अब सरकार र दलहरुलाई दबाव दिनका लागि डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीहरु  फेरि अगाडि बढ्नुपर्ने खाँचो रहेको कांग्रेस नेता थापाले बताए । जनआन्दोलनका बेला सडकमा कविता वाचन गर्ने अर्जुन पराजुलीले कविता लिएर पुनः उत्रनुपर्ने थापाले बताए ।

‘पाल्ने जन्तु कुनै नपाएपछि दाह्री पालें’

मानवअधिकार तथा शान्ति समाजले गराएको गणतन्त्रवादीहरुको जमघटमा कवि अर्जुन पराजुलीले तीनवटा व्यंग्यात्मक कविता सुनाएर माहौल तताएका थिए ।

कवि पराजुलीले गणतन्त्रमा पाल्ने कुरा केही नपाएपछि दाह्री पालेको भन्दै व्यंग्य गरे । त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले दशैंमा टीका लगाइदिँदा शीतलनिवासमा घुँडा टेकाएको प्रति कवि पराजुलीले यसरी व्यंग्य गरे-

गणतन्त्र ल्याएर मात्रै पुग्दैन

त्यसलाई ड्रेस बनाएर लगाउन

सूचीकारकहाँ गएर छेकाउनुपर्छ ।

टीको लगाइदिँदा

जनतालाई घुँडा टेकाएर मात्रै पुग्दैन

टाउको समेतै टेकाउनुपर्छ !

पराजुलीका कविता यहाँ पढ्नुहोस् 

अर्जुन पराजुलीको व्यंग्य– जनताको लागि !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment