Comments Add Comment

बीमा विधयेकको दफावार छलफलका लागि उपसमिति नबनाइने

१७ मंसिर, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले अर्थ मन्त्रालयले संघीय संसदमा पेश गरेको बीमा विधयेक, २०७५ को दफावार छलफलका लागि उपसमिति गठन नगर्ने भएको छ ।

समितिमा छलफलका लागि प्राप्त विधयेकहरु मध्ये सबैभन्दा बढी संशोधन प्रस्ताव परेको उक्त विधयेक समितिकै बैठकमा दफावार छलफल हुने सभापति कृष्णप्रसाद दाहालले बताए ।

प्रायः दफावार छलफलका लागि उपसमिति गठन गर्ने संसदीय समितिहरुको प्रचलन छ ।

तर, सरोकारवालाहरुको राय समेत बुझिइसकिएकाले छुट्टै उपसमिति गठन नगर्ने सोचमा पुगेको समिति सभापति दाहालले अनलाइनखबरसँग बताए ।

सोमबारमात्रै समितिले सरोकारवालाहरुसँग नयाँ बीमा ऐनको विषयमा छलफल गरेको थियो ।

सोमबार बसेको अर्थ समिति बैठकमा नेपाल बिमक संघ र बीमा सर्भेयर संघका पदाधिकारीहरुले विधयेक संशोधन गरेर मात्रै पारित गर्न समिति समक्ष आग्रह गरेका छन् ।

विधयेक हुबुहु पारित भए बीमा क्षेत्रलाई नै समस्या पर्ने भन्दै संशोधन गर्न उनीहरुको आग्रह छ ।

समितिले दिएको जानकारी अनुसार हालसम्म उक्त विधयेकमा ८४ बुदामा संशोधन प्रस्ताव दर्ता भएको छ ।

सोमबारको बैठकमा सरोकारवालाको भनाइ मात्रै सुन्ने काम भएको सभापति दाहालले जानकारी दिए ।

‘सरोकारवालाहरुले गुनासो सुनिदिन आग्रह गर्नु भएको थियो, त्यसकारण गुनासो सुन्ने काम मात्रै भयो’, उनले भने, ‘आज सांसदहरुले आफ्नो भनाइ राख्न पाउनु भएन, अब दफावार छलफका क्रममा राख्नुहुनेछ ।’

सभापति दाहालले दफावार छलफलका लागि केही ढिलाई हुने समेत जानकारी दिए ।

उनले भने, ‘हामीसँग अन्य विधयेकहरु पनि छन्, अब पहिले हामी ति विधयेकहरुलाई टुंगो लगाउँछौं, त्यसपछि मात्रै बीमा विधयेकको दफावार छलफलमा जानेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment