Comments Add Comment

असहाय बालबालिकालाई अञ्जु पन्तको कापी–कलम र कम्बल

१८ मंसिर, वीरगञ्ज । गायिका अन्जु पन्तले पर्सामा १ सय जनालाई स्टेशनरी र २० जनालाई कम्बल वितरण गरेकी छन् । अन्जु पन्त फाउन्डेसनमार्फत् उनले दुई दिनमा १ सय २० विद्यार्थीहरुलाई स्टेशनरी सामग्री र कम्बल बाँडेकी हुन् ।

अन्जु पन्तसहितको टोलीले पर्साको महुवनमा पुगेर अपांगता भएका बालबालिकाहरुलाई २० थान कम्बल हस्तान्तरण गरेको हो । अपांग दिवसको अवसर पारेर नेपाल राष्ट्रिय माध्यमिक विद्यालय महुवन बौद्धिक अपांगता भएका बालबालिकाको स्रोत कक्षा र देवनन्दन देवराज उच्च माध्यमिक विद्यालय रामनगरी सुस्त श्रवण तथा बहिरा स्रोत कक्षामा अध्ययनरत बालबालिकाका लागि कम्बल वितरण गरिएको फाउन्डेसनले जनाएको छ ।

सरकारी अनुदानमा कक्षा सञ्चालनमा रहेको भए पनि ९ महिनाका लागि मात्रै छात्रवृत्ति आउने गरेकोले कक्षा सञ्चालनका क्रममा विविध समस्या आउने गरेको शिक्षक नरेश यादव बताउँछन् । सोही अवसरमा ग्रिनसिटी सामुदायिक आदर्शनगर वीरगञ्जका अध्यक्ष प्रकाश खेतानले ८ थान ट्रयाकसुट प्रदान गरेका थिए ।

यसअघि आइतबार गायिका पन्तले वीरगञ्ज कारागार परिसरस्थित समता स्कुलमा अध्ययनरत १ सय जना विद्यार्थीका लागि स्कुल व्याग, कपी, कलम वितरण गरेकी थिइन् भने मकवानपुरको खैराङमा रहेको चेपाङ बस्तीका १ सय जना बालबालिकालाई समेत सहयोग गरिसकेको अञ्जु पन्त फाउन्डेशनले जनाएको छ ।

सामाजिक सेवा गर्ने सानैदेखिको रुचिअनुसार आफूले विगतदेखिनै सामाजिक सेवा गर्दै आएको उनले बताइन् । ‘गीत गाएर, स्टेज सोबाट आएको रकमबाट पहिलेदेखि नै सामाजिक क्षेत्रमा काम गर्दै आएको हुँ, शुभ चिन्तकहरुले यसलाई संस्थागत गरौं भन्ने कुरा भयो’, उनले भनिन्, ‘सानैदेखि समाज सेवामा प्रेरित थिएँ । अहिले अञ्जु पन्त फाउन्डेशनमार्फत् त्यसलाई सार्थक बनाइरहेको छु ।’

पर्साकै बेल्वामा दलित समुदाय र सर्लाहीको मुसहर बस्तीका ५५ बालबालिकालाई स्कुल व्यागसहित स्टेशनरी सामान वितरण गर्ने तयारी भइरहेको जानकारी पनि पन्तले दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment