Comments Add Comment

पूर्वमिस नेपाल मलिनाको नजरमा श्रृंखलाः उपाधि जित्न सक्छु भन्ने आत्मविश्वास छ

१८ मंसिर, काठमाडौं । चीनको सान्यामा जारी ६८ औं मिस वर्ल्डको नेपालमा अत्यधिक चर्चा छ । चर्चा हुनुको कारण हो, प्रतियोगितामा सहभागी मिस नेपाल श्रृंखला खतिवडामाथि राखिएको आशा ।

त्यसो त मिस वर्ल्डका हरेक संस्करणमा नेपालले सहभागिता जनाउँदै आएको हो । तर, यो एउटा औपचारिकतामा सीमित रहने गरेको थियो । यसपाली नेपालले बलियो प्रतिस्पर्धी पठाएको अरु देशले पनि महसुस गरेका छन् ।

श्रृंखलाले मल्टिमिडिया अवार्ड जितेर टप ३० मा स्थान बनाइसकेकी छिन् । उनले भोटिङका आधारमा यो सफलता हासिल गरेकी हुन् । योभन्दा अगाडि बढ्न उनले आफ्नै खुबी देखाउनुपर्ने हुन्छ ।

पूर्व मिस नेपाल तथा मिस वर्ल्डकी सहभागी मलिना जोशीको भनाइमा श्रृंखला चार्मिङ र उच्च मनोबलयुक्त भएकीले उनीबाट ठूलो आशा राख्न सकिन्छ । सन् २०११ कि मिस नेपाल मलिनाले सोही वर्ष लन्डनमा आयोजित मिस वर्ल्डमा भाग लिएकी थिइन् । उनी डान्स अफ द वर्ल्डको फाइनल (टप १०) मा पुगेकी थिइन् । उनले सौन्दर्य प्रतियोगितामा भाग लिन थालेदेखि मिस  वर्ल्डसम्मको यात्रा र श्रृंखलाको सम्भावनाबारे अनलाइनखबरसँग लामो कुराकानी गरेकी छन् । उनको अनुभूति जस्ताको तस्तैः

मैले २०११ मा मिस वर्ल्डमा भाग लिँदा अहिलेजस्तो चर्चा र होहल्ला भएन । त्यतिबेला नेपालमा इन्टरनेट धेरैको पहुँचमा थिएन । इन्स्टाग्राम आएकै थिएन भने फेसबुक पनि थोरैले चलाउँथे । मेरो पालामा मल्टिमिडिया अवार्ड पनि थिएन ।

बुवाआमालाई मिस नेपालको फाराम भर्न जाँदैछु भनेर त भन्ने कुरा आएन । मैले एउटा बैंकमा भ्याकेन्सी खुलेको रहेछ, त्यसैमा भर्न जान्छु भनेर ढाँटेकी थिएँ । बुवाआमाले पनि छोरीले ठीक बाटो समात्ने भई भनेर खुशी भएर पठाउनुभएको थियो

मिस वर्ल्डको अनुभव साट्नुअगाडि परिवारलाई झुक्क्याएर म कसरी मिस नेपालमा भाग लिन पुगेँ र टाइइटल जितेँ भन्ने जान्नुस् ।

म धरानमा जन्मेकी । पढाईमा सानैदेखि तेज थिएँ । बुवाआमाको इच्छा थियो, छोरीले पढाईमा टप गरोस्, बैंकमा उच्च तहको जागिर खाओस् । मोडलिङ त उहाँहरु सुन्न पनि नचाहने । अहिले पनि यो फिल्ड त्यति मन पराउनु हुन्न ।

मलाई पनि मोडलिङ फिल्डमा लाग्न इन्ट्रेस्ट थिएन । मलाई त मिस नेपाल बन्नु थियो । सानैदेखि मिस नेपाल बन्ने रहर पालेकी थिएँ । त्योभन्दा अगाडि बढेर चाहिँ केही सोचेकी थिइनँ ।

मैले काठमाडौंमा होस्टल बसेर एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा मास्टर्स (एमबीए) गरेँ । अन्तिम वर्षको परीक्षा सकेर घर गएकी थिएँ । त्यतिबेलै मिस नेपालको लागि दरखास्त आह्वान भएको सुनेँ । मलाई हुटहुटी भइहाल्यो । पढाई सकिएको र एकाध वर्षमा बिहे गरेर घरजम गर्नुपर्ने अवस्था भएकाले त्योभन्दा अगावै आफ्नो बच्चादेखिको रहर किन पूरा नगर्ने ? यही सोचेर म काठमाडौं आएँ, फाराम भर्न ।

अँ, बुवाआमालाई मिस नेपालको फाराम भर्न जाँदैछु भनेर त भन्ने कुरा आएन । मैले एउटा बैंकमा भ्याकेन्सी खुलेको रहेछ, त्यसैमा भर्न जान्छु भनेर ढाँटेकी थिएँ । बुवाआमाले पनि छोरीले ठीक बाटो समात्ने भई भनेर खुशी भएर पठाउनुभएको थियो ।

होस्टलमै बसेर मैले मिस नेपालका लागि अप्लाई गरेँ । अडिसनहरु दिएँ । जब मिस नेपालको अन्तिम प्रतिस्पर्धीहरुको नाम सार्वजनिक भयो, मेरो परिवारमा कसैले पोल लगाइदिएछ । बुवाको फोन आयो । उहाँ पड्किनु अगावै मैले भनेँ, ‘बाबा, म आफैंले गरेको होइन, कलेजले फोर्सफुल्ली भर्न लगाएको हो ।’

मैले कलेजको प्रतिनिधित्व गर्नैपर्ने भएकाले फाराम भरेको भनेर बाबालाई आश्वस्त बनाएँ । उहाँले पनि ल ठिकै छ भनेर फोन राख्नुभयो ।

अहिले गफ लाएको होइन, मिस नेपालको फाराम भर्दा टाइटल नै जित्ने महत्वाकांक्षा राखेकी थिएँ । त्योभन्दा अगाडि पनि परिवारलाई झुक्याएर एउटा ब्यूटी कन्टेस्टमा भाग लिएकी थिएँ । त्यसमा टप ५ सम्म पुगेको अनुभव थियो ।

मिस नेपालमा निकै मिहिनेतसाथ तयारी गरेँ । हरेक पक्षमा आफूलाई निखार्दै लगेँ । यस क्रममा आफू पनि धेरै बदलिएको पत्तै भएन ।

फाइनल इभेन्टको दिन आयो । मैले परिवारका सदस्यहरु कसलाई पनि बोलाएकी थिइनँ । उहाँहरु अगाडि हुनुभयो भने खुलेर पर्फम गर्न सक्दिनँ कि भनेर पनि हो । फेरि उहाँहरुले रुचाएको कुरा पनि थिएन ।

मलाई आफ्ना मानिसलाई निम्त्याउन दुईवटा पास दिइएको थियो । मेरी दिदी बैंकको तालिम लिन काठमाडौं आउनुभएको रहेछ । त्यसैले संयोगवस उहाँ सो इभेन्टमा उपस्थित हुनुभयो । एउटा पास उहाँलाई दिएँ । अर्को पास त खेरै गयो ।

००००

धेरैलाई लाग्छ कि केही सुन्दरीहरु र्‍याम्पमा क्याटवाक गर्छन्, दुई-चार प्रश्नको जवाफ दिन्छन् र त्यसैको आधारमा एकजना मिस नेपाल छानिन्छन् तर, यति मात्रै होइन । त्योभन्दा अगाडि धेरै राउन्ड भइसकेका हुन्छन्, जुन अरुलाई थाहा हुन्न । देशभरबाट दरखास्त हजारौंलाई विभिन्न मापदण्डमा तौलेर फाइनल ३० चयन गरिएको हुन्छ । यसमा सुन्दरता र हाइटको महत्व त हुने नै भयो तर, त्यो मात्रै पनि हुन्न । बौद्धिकताको पक्ष पनि हेरिन्छ ।

मिस नेपालमा भाग लिने क्रममा धेरै कुरा सिकाइन्छ । बोल्ने शैलीदेखि हिँड्ने र हाँस्ने शैलीसम्म । अनुशासनलाई अत्यधिक महत्व दिइन्छ । मैले सबै कुरा चाँडै सिकेँ । आफ्नो प्यासन भएको कुरा चाँडै सिकिँदो रहेछ नि त ।

सौन्दर्य प्रतियोगिताको लागि अर्को आवश्यक तयारी भनेको अध्ययन पनि हो । तपाईंसँग हरेक कुराको आधारभूत ज्ञान हुनुपर्छ । यो सजिलो छैन । यसका लागि कुनै निश्चित पाठ्यक्रम हुने होइन । धेरै किसिमका पुस्तक पढ्नुपर्छ । मिस नेपाल बन्न मैले करिब सात सय प्रश्नको तयारी गरेकी थिएँ ।

००००

अहो ! मैले मिस नेपालको टाइटल जितेँ ।

त्यतिबेला नेपालमा लोडसेडिङ चरम उत्कर्षमा थियो । बत्ती गएकाले मेरो घरमा मिस नेपालको फाइनल टेलिभिजनमा हेर्न पाउनु भएनछ । मम्मीले छिमेकीको घरमा गएर हेर्नुभएछ । जे भए पनि मेरो सफलताबाट सबैजना खुशी हुनुभयो । फोन गरेर बधाई पनि दिनुभयो ।

मेरो पालामा प्राइज धेरै थिएन । मुख्य प्रायोजक परिवर्तन भएकोले ५० हजार नगद मात्र थियो । मेरोभन्दा अघिल्लो वर्ष कार थियो भने मेरोभन्दा पछाडिको वर्ष स्कुटर थियो तर, मेरो पालामा केही थिएन । तर, टाइटल नै ठूलो कुरा भयो मलाई ।

मिस नेपालको ताज पहिरिएपछि मैले सोचेकी थिएँ, सबैले मेरो वाहवाही गर्नेछन् । सबैतिर मेरै प्रशंसा हुनेछ । तर, मैले सोचेजस्तो भएन । धेरै आलोचना सुन्नुपर्‍यो । मभन्दा अर्कै राम्री थिई भन्ने खालका कुराहरु धेरै आए । आखिर बाहिर त सबैले सुन्दरतालाई मात्रै तुलना गर्छन् ।

म सायद फाइनल इभेन्टमा त्यति सुन्दर पनि देखिएकी थिइनँ । त्यतिबेला अली मोटी पनि थिएँ । इभेन्टको दिन राम्रो मेकअप पनि भएन । अरुले आफ्नै मेकअप आर्टिस्ट र डिजाइनर राखेका थिए तर, मेरो थिएन । त्यसका लागि मैले ३ हजार अफोर्ड गर्न सकिन । मैले आफ्नो साजसज्जामा धेरै ध्यान नदिएकाले पनि आलोचना भयो । मलाई ननिको लाग्यो । किन नराम्रो भनेका होलान् जस्तो लाग्यो । बधाई दिनेहरुले पनि ‘अनुहार जस्तो भए पनि के भयो, ट्यालेन्ट त छ नि’ भन्ने किसिमले कुरा गर्ने । मलाई चित्त दुख्थ्यो ।

तर विस्तारै मैले आफूलाई चेन्ज गर्दै लगेँ । सौन्दर्यमा बढि ध्यान दिन थालेँ । फिगर पनि मेन्टेन गर्दै गएँ । बोल्न त पर्फेक्ट भइसकेकी थिएँ । अनि मानिसहरुलाई लाग्यो कि केटी ठिकै रहिछ ।

००००

मिस नेपाल भएपछि लाइफ धेरै परिवर्तन भयो । सबैले ‘वाच’ गर्न थाले । पब्लिकमा हिँड्न असजिलो हुन थाल्यो । धेरै ठाउँबाट इन्भाइट आउँथ्यो तर, मेरो आफ्नै सवारीसाधन थिएन । त्यसैले जसले बोलाउँदा पनि ‘पिक अप एन्ड ड्रप’को कन्डिसन राख्नुपर्ने हुन्थ्यो । व्यक्तिगत कामको लागि हिँड्नुपर्दा साथीहरुको सहयोग माग्थेँ । त्यो पनि नभए ट्याक्सीमा हिँड्थे । पछि स्कुटर किनेँ ।

मिस नेपाल भएपछि अरु पनि धेरै कुराहरु विचार गर्नुपर्दो रहेछ । मानिसहरुले तपाईंको अनुहारमा अत्याधिक ध्यान दिने भएकाले राम्री भएरै हिँड्न पर्ने वाध्यता । हिँडाई, बोलाई सबै कुरामा विचार पुर्‍याउनुपर्ने । ड्रेसअप त झन् हुनै पर्‍यो । पैसा पुर्‍याउनै गाह्रो ।

यद्यपि, मैले कामहरु पाइरहेकी थिएँ । इभेन्टहरुमा गेस्ट एपियरेन्सदेखि विज्ञापनमा मोडलिङ गर्नेसम्मका कामबाट थोरबहुत आम्दानी हुन्थ्यो । जे होसे, मिस नेपाल भएदेखि घरबाट पैसा माग्नु परेको छैन । जागिरको लागि कहिल्यै ट्राई गरिनँ ।

००००

म अगष्टको इन्डमा मिस नेपाल भएको । त्यही वर्षको अक्टोबरमा मिस वर्ल्डमा भाग लिन लन्डन जानुपर्ने । एक महिना जति मात्र ग्याप थियो । त्यही बीचमा दशैं-तिहार पनि ।

राम्रो तयारी नै गर्न पाइनँ । मेकअप आर्टिस्ट, हेयर डिजाइनर कोही चिनेकी थिइनँ । हिडन ट्रेजरबाट पनि खासै गाइडेन्स प्राप्त भएन । छोटो समयमा आफ्नै हिसाबले तयारी गरेँ ।

मिस वर्ल्डमा जानुभन्दा अगाडि ‘ब्यूटी विथ प्रपोज’को भिडियो बनाउनुपर्ने थियो तर, त्यसमा कसैले सहयोग गरेनन् । एकजना जिम्मेवार व्यक्तिले त मलाई ‘त्यतातिर नलाग, आखिर जित्ने होइन’ भन्ने सल्लाह दिनुभयो । मैले पनि होस् त भनेर निच मारेँ ।

मलाई सबै कार्यक्रमहरु इनहाउसभित्रै हुन्छ, त्यहाँ एसी हुने भएकाले बाक्ला लुगा लैजानुपर्दैन भनिएको थियो । त्यसैले मैले एउटा मात्रै कोट लगेकी थिएँ । म जतिबेला पनि त्यही कोट लगाएर बस्नुपर्‍यो । जाडोले जिउमा काँडा उमारेर थरथरी काँपिरहेको हुन्थेँ तर, अनुहारमा मुस्कान टुटाउनु नहुने

तर, लन्डन उड्नुभन्दा केही दिनअगाडि मात्रै लन्डनबाटै मेरो एकजना भाइ आयो । उसँग डीएसएलआर क्यामरा थियो । उसैले ‘ब्यूटी विथ प्रपोज’ का लागि भिडियो बनाइदिने भयो । हामीले हतार-हतार दुई दिनमा एउटा झारा टार्ने खालको भिडियो बनायौं । थाहा थियो, यो भिडियोले केही हुनेवाला छैन ।

तर, कम्तिमा सहभागिता त हुने भयो । त्यसमै चित्त बुझाए । आयोजकले बोलाइएकोभन्दा एक दिन ढिला गरी एक्लै लन्डन उडेँ । पहिलो विदेश यात्रा । सबै कुरा नौलो थियो । मैले दुईवटा सुटकेसमा सामान बोकेकी थिएँ । कपडा, जुत्ता र मेकअप किट्सहरु थिए ।  बिमानस्थलमा ट्रलीसमेत चलाउन आएन मलाई । कहिल्यै चलाएको भए पो । अरुसँग सहयोग माग्नुपर्‍यो ।

थाइ एयरलाइन्सको बिमानमा बसिसकेपछि बल्ल रिलिफ फिल भयो । यसअघिका सबै झमेला बिर्सेर रोमाञ्चित बनेँ । झ्यालबाट हेर्दा आफूभन्दा तल बादल देखियो । मन त्यसैत्यसै मदहोस भयो । एकचोटि त आफैंलाई चिमोटेँ पनि ।

अहो ! म त, देशको प्रतिनिधि गर्दै यति ठूलो इभेन्टमा जाँदैछु भनेर गौरवले छाति ढक्क फूल्यो । देशका लागि केही हासिल गरेरै फर्किन्छु भन्ने मनमनै अठोट गरेँ । मिस वर्ल्ड नजिते पनि कुनै न कुनै विधाको माथिल्लो श्रेणीमा पुग्ने ध्येय राखेकी थिएँ ।

००००

मिस वर्ल्डमा भाग लिन जानुअघि मैले के-के सामान लैजाने, लुगा कति लैजाने भनेर अनुभवीसँग सल्लाह पनि लिएको थिएँ । बजारमा एउटै गाउनको २०-२५ हजार पर्थ्यो । आफूसँग धेरै पैसा थिएन । न घरमा माग्न सक्ने अवस्था थियो । कामचलाउ गाउनहरु किनेकी थिएँ । केही गाउनहरु विभिन्न बुटिकबाट सहयोग पनि पाएकी थिएँ । तर मैले मेन इभेन्टका लागि भनेर लगेको गाउनभन्दा अरु देशका सुन्दरीले एभ्रिडे लगाउने गाउन लक्जिरियस रहेछन् ।

मलाई सबै कार्यक्रमहरु इनहाउसभित्रै हुन्छ, त्यहाँ एसी हुने भएकाले बाक्ला लुगा लैजानुपर्दैन भनिएको थियो । त्यसैले मैले एउटा मात्रै कोट लगेकी थिएँ । तर, न्यानो लुगा नहुँदा धेरै दुःख पाएँ । लन्डनको मौसम चिसो थियो । मेरो जिउले जाडो नसहने । म जतिबेला पनि त्यही कोट लगाएर बस्नुपर्‍यो । बाहिर घुम्न जाँदादेखि खाना खाँदासम्म त्यही कोट । जाडोले जिउमा काँडा उमारेर थरथरी काँपिरहेको हुन्थेँ तर, अनुहारमा मुस्कान टुटाउनु नहुने । कम्ता गाह्रो भएन …।

००००

फेरि पछाडि फर्किन्छु । लन्डनको हिथ्रो एयरपोर्टमा मलाई रिसिभ गर्न मिस वर्ल्डको प्रतिनिधि आउनुभएको थियो । उहाँले मलाई होटल पुर्‍याउनु भयो । त्यही दिन ‘डान्स अफ द वर्ल्ड’ का लागि अडिसन रहेछ ।

अब सुन्नुस्, मलाई मिस वर्ल्डमा ‘डान्स अफ द वर्ल्ड’ हुन्छ भन्ने नै थाहा थिएन । कसैले भनेकै थिएन । बरु मैले मिस ट्यालेन्ट विधाका लागि एउटा डान्सको तयारी गरेकी थिएँ । ‘मखमली चोलो चाहिँदैन’ भन्ने गीतमा गम्भीर विष्टले डान्स सिकाउनुभएको थियो । त्यही गीतका लागि कस्ट्यूम बोकेर गएकी थिएँ ।

होटलमा जानासाथ अडिसनका लागि बोलाइयो । मैले मिस ट्यालेन्टका लागि अडिसन होला भन्ने सोचेँ र त्यही कस्ट्यूम लगाएर गएँ । आफ्नो नृत्य देखाएँ । जजहरुले मन पराउनुभयो र, नतिजा घोषणा हुँदा म टप १० मा छानिएछु । त्यतिबेला मात्रै मलाई थाहा भयो कि यो मिस ट्यालेन्टका लागि नभएर डान्स अफ द वर्ल्डका लागि भएको अडिसन थियो । यसमा छानिएका १० जनाले मेन इभेन्टमा सबै प्रतियोगीहरुका अगाडि ३० सेकेन्डको डान्स देखाउन पाउने रहेछन् । उनीहरुमध्ये कसैलाई पनि विजेता घोषित गरिन्नथ्यो । जे होस, एउटा सफलता त हासिल गरेँ भनेर मन ढुक्क भयो ।

तर भित्रभित्रै डर पनि लाग्यो, मेरो डान्सको भिडियो बाहिर आएपछि नेपालमा कस्तो प्रतिक्रिया आउने हो भनेर । मिस नेपालको टाइटल जित्दा जस्तै आलोचना पो हुने हो कि ? तर, त्यस्तो भएन । मेरो डान्सको भिडियो फेसबुकमा भाइरल भएछ । सबैले प्रशंसा गर्नुभयो । त्यतिबेला मिस वर्ल्डमा भाग लिँदा फेसबुकमा केही पोष्ट गर्न पाइन्नथ्यो । हेर्न चाहिँ पाइन्थ्यो ।

अब आयो मिस ट्यालेन्टको पालो । यसका लागि मैले जे तयार गरेको थिएँ, त्यो त देखाइसकेँ । अब के ट्यालेन्ट देखाउने ? मैले त्यसको अडिसनमा भागै लिइनँ ।

त्यसपछि थियो, बीच ब्यूटी कन्टेस्ट । यसमा स्वीमिङ कस्टम लगाउनैपर्ने । मलाई पर्‍यो आपत् । पहिले कहिल्यै नलगाएको । परिवारलाई पनि यही चिन्ता थियो कि यसले कसरी बिकिनी लगाउँछे । तर, नलगाइ सुख थिएन । यद्यपि, मैले टु पिस विकिनीको साटो वान पिस स्वीमिङ कस्टम लगाएँ । नेपालको एउटा साप्ताहिकले मिस इन्टरनेसनलमा भाग लिएकी सरिनाको स्वीमिङ कस्टमबाला फोटो छापेको थियो । उनले टु पीस नै लगाएकी थिइन् । त्यसले गर्दा मलाई अलि सजिलो भयो । मैले कम्तिमा टु पिस त लगाएकी थिइनँ ।

अर्को महत्वपूर्ण विधा थियो ब्यूटी विथ प्रपोज । यसमा मेरो सम्भावना यसै पनि कमजोर थियो । तर, टप २० मा मेरो नाम अनाउन्स भयो । म अचम्भित बनेकी थिएँ । केही समय लगाएर अलि राम्रो भिडियो बनाएको भए अगाडि जान सक्ने रहिछु भन्ने लाग्यो । मलाई यो अवार्डका लागि ट्राई नगर्न सल्लाह दिनेसित खुब रिस उठ्यो । आयोजक हिडन ट्रेजरसँग पनि चित्त दुख्यो । किनकी उसले मलाई मिस वर्ल्डलाई लक्षित गरेर कुनै मार्गनिर्देशन दिएन ।

यस्तै तितामिठा अनुभूतिबीच मिस वर्ल्डको फाइनल भयो । म टप ३० मा नपरेकाले कुनै प्रश्नोत्तर सामना गर्नु परेन । प्रतियोगितामा मैले आफ्नो तयारी र क्षमताअनुसार गरेेँ । मिस वर्ल्डमा भाग लिएर फर्किएपछि मलाई त्यही कुराले घोचिरह्यो कि तयारी राम्रो भएको भए माथि पुग्न सक्थेँ ।

मिस वर्ल्ड होस् वा मिस एसिया प्यासिफिक, अन्य देशका सुन्दरीहरुमाझ आफूलाई चिनाउनुपर्दा माउन्ट एभरेस्ट र गौतम बुद्धको नाम लिन्थेँ । त्यति भन्दा पनि नचिन्नेहरुलाई चाइना र इन्डियाको बीचको देश भनेर चिनाउँथे । यसरी चिनाउँदा त्यति मजा लाग्दैनथ्यो ।

नेपालको बारेमा राम्रो जानकारी भएका र सद्भाव राख्नेहरु पनि केही थिए । यही झोकले गर्दा दुई वर्षपछि मिस एसिया प्यासिफिकमा भाग लिएँ, आफ्नै व्यक्तिगत पहलमा । यो प्रतियोगिताको टप १५ सम्म पुगेकी थिएँ ।

२० दिन लन्डन त्यहाँ बसियो । घुमघाम पनि भयो । १ सय १३ जना प्रतिस्पर्धीबीचबाट भेनेजुयलाकी सुन्दरीले टाइटल जितिन् । उनलाई अंग्रेजी आउँदैनथ्यो । ट्रान्सलेटरको सहयोगमै उनले आफूलाई प्रमाणित गरिन् । मिस वर्ल्डमा अंग्रेजी अनिवार्य छैन ।

००००

अब यसपालिको मिस वर्ल्डको कुरा गरौं, नेपालबाट श्रृंखला खतिवडा मिस वर्ल्डमा भाग लिइरहेकी छन् । उनलाई सबैले बलियो प्रतिस्पर्धी मानेका छन् । मल्टिमिडिया अवार्ड जितेर उनी टप ३० मा पुग्नु आफैंमा सुखद कुरा हो ।

श्रृंखला खतिवडा

टप ३० मा परेपछि श्रृंखलाले आफ्नो खुबी देखाउनुपर्ने हुन्छ । उनी अरु कोही प्रतिस्पर्धीभन्दा कम देखिएकी छैनन् । चार्मिङ छ । कन्फिडेन्ट छिन् । टाइटल जित्न सक्छु भन्ने आत्मविश्वास छ उनमा । चाहिने कुरा यिनै हुन् । त्यसमाथि यति धेरै नेपालीहरुको सपोर्ट छ । यो अभूतपूर्व समर्थनले पनि उनको दावेदारी बलियो बनेको छ ।

सौन्दर्य प्रतियोगिताहरुका बारेमा नकारात्मक टिप्पणीहरु पनि सुनिन्छन् । यसलाई महिलाको रुप र जिउडालसँग मात्रै जोडेर हेर्दा यस्ता प्रतिक्रिया आएका हुन् । तर, सौन्दर्य प्रतियोगिता भनेको रुप र जिउडाल मात्रै होइन, बौद्धिकता पनि हो ।

मिस वर्ल्डको ताजको विश्वव्यापी सम्मान छ । ६ पटक मिस वर्ल्ड जितेको भारतलाई सुन्दरीहरुको देश भनिन्छ । हामी कहिलेसम्म बहादुरीमै गर्व गर्ने ? मिस वर्ल्डको टाइटल जित्यौं भने बौद्धिकता र सुन्दरतामा पनि हामी अगाडि छौं भनेर विश्वले थाहा पाउने छ । श्रृंखलालाई मेरो अग्रिम शुभकामना छ ।

यो पनि पढ्नुहोस श्रृंखलाले जितिन् मिस वर्ल्डको मल्टिमिडिया अवार्ड, अन्तिम ३० मा स्थान सुरक्षित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment