Comments Add Comment

चिल्लो चक्रपथमा बाटो काट्न ज्यानको जोखिम मोल्दैछन् यात्रु

१८ मंसिर, काठमाडौं । चक्रपथको कलंकी-काटेश्वर खण्ड विस्तारको अन्तिम चरणमा छ । यो खण्डका अधिकांश क्षेत्रमा सडक फराकिलो बनेका छन्, सडक बनेपनि आवश्यक ट्राफिक पूर्वाधार तयार नगरिँदा दैनिक हजारौं यात्रुले जोखिमपूर्ण रुपमा सडक वारपार गर्दैछन् ।

यसले चक्रपथलाई जोखिमयुक्त मात्रै बनाएको छैन, साँच्चिकै अवैज्ञानिक पनि ठहराएको छ । ठाउँ-ठाउँमा आकाशे पुल नबनाउँदा र अत्यावश्यक स्थानमा पनि जेब्रा क्रसिङहरु नराखिँदा चक्रपथमा बाटो काट्नु ज्यानको जोखिम मोल्नु जस्तै भएको छ ।

पर्याप्त जेब्रा क्रसिङ नहुँदा यात्रुलाई जथाभावी बाटो काट्नुको विकल्प छैन । कतिपय स्थानमा आकोशपुल र जेब्रा क्रसिङको नजिकको स्थानमाबाट पनि नियम मिचेर यात्रुले बाटो काटिरहेको देखिन्छ ।

विशेष गरी सडक वारपार गर्ने बालबालिका, विशेष अवस्थाका बिरामी तथा पांग र वृद्धवृद्धालाई चक्रपथमा बाटो काट्नु भनेको एउटा काल काट्नु जस्तै भएको बताउँछन् सानेपाका गोपाल महर्जन । चक्रपथमा स्कुल समयमा असुरक्षित तवरले बाटो काट्ने  विद्यार्थीको लाम नै देखिन्छ ।

‘यस्तो चिल्लो र फराकिलो रोड देखेपछि गाडी र बाइकहरु उडुँला जसरी आइरहेका हुन्छन्,’ उनी भन्छन्,’बाटो काट्न ४ ठाउँमा विरुाम लिनुपर्छ । कुन चाँही गाडीले हावामा उडाइदिन्छ कि जस्तो डर हुन्छ ।’

सडकको वारपारी हेर्दै ज्यान जोखिममा राखेर यो खण्डमा दैनिक सयौं हजारौंले सडक वारपार गर्दैछन् ।कोटश्वर, ग्वार्की, सातदोबेाटो, एकान्तकुना, बल्खु, सानेपा र कलंकीमा मात्रै जेब्रा क्रसिङ बनाइएको छ । त्यसभन्दा बाहेेकका स्थानमा तत्कालै जेब्रा क्रसिङ बनाउने कुनै योजना छैन ।

सडक विभाग अन्तरगतको यो आयोजनाले थप जेब्रा क्रसिङको आवश्यकता महसुस नगरेको होइन, तर चीन सरकारले आयोजना सम्पन्न गरेर हस्तान्तरण गरिसकेको छैन । त्यसपछि मात्रै सडकका संरचना परिवर्तन गरेर आवश्यक स्थानमा जेब्रा क्रसिङ राख्न्े योजना छ ।

पहिलेको योजनाअनुसार जेब्रा क्रसिङहरु राखेर आयोजनाले सडक हस्तान्तरण गर्नासाथै सडक विभागले यो सडकलाई पुनः यात्रु तथा सवारी मैत्री हुने गरी पुनर्निर्माण गर्ने योजना त बनाएको छ । तर, सडक निर्माण सकिने चरणमै चक्रपथको यात्रा जोखिमपूर्ण बनेको छ ।

हाल आयोजना अन्तरगत चीन सरकारको सहयोगमा काटेश्वर, ग्वार्को र बागडोलमा मात्रै आकाशे पुल निर्माण गरिएको छ । करिब ३ किलोमिटर पार गरेपछि मात्रै अहिले आकाशे पुलहरु भेटिन्छन् ।

मुख्य चोकहरुमै आकाशे पुल नभएपछि यो सडकमा बाटो काट्नु नै जोखिमपूर्ण छ । अन्य ६ स्थानमा आकाशे पुल निर्माणको योजना त बनेको छ, तर कहिले बनेर सञ्चालनमा आउँछ भन्ने अझै अनिश्चित छ । प्रत्येक किलोमिटर एउटा आकाशे पुलको परिकल्पना गरिएको भने छ ।

सडक विभागका अधिकारीहरुका अनुसार सडकको डिजाइनमै त्रुटी हुँदा यस्तो समस्याहरु आएका हुन् । चक्रपथ शहरी सडक भएपनि यसलाई राजमार्गको शैलीमा डिजाइन गरिएको छ । चिनियाँ कम्पनीले दिएको डिजाइनलाई जस्ताको तस्तै स्वीकार्दा नेपालको सडक संरचना, आवश्यक्ता, स्थानीय परिवेश र नेपाली चालक र पैदल यात्रुहरुको प्रवृत्ति अनुकुल यो सडक बनेन ।एक्प्रेश-वेको शैलीमा डिजाइन गरिँदा योसडक निकै अवैज्ञानिक भयो । सडकममा बीचका ४ लेनमा ५० किलोमिटर प्रतिघण्टाका दरले सवारी चलाउन सकिन्छ । यो सहरी सडकमा अत्याधिक गति हो । सर्भिस लेन २० किलोमिटर प्रतिघण्टाका दरले सवारी चलाउन मिल्ने गरी डिजाइन भएको छ ।

सडकका विभिन्न भागहरुमा सवारीलाई क्रसिङहरु दिन कुनै पूर्वाधारहरु बनाइएका छैनन् । जसले गर्दा क्रस लिन सवारीहरुलाई पनि ठूलै जोखिम उठाउनुपर्छ । कतिपय स्थानमा त विकल्पहरु पनि छैनन् । सडक पार गर्न टाढा पुगेर फर्किएर आउनुपर्ने बाध्यता छ ।

सडकको अवैज्ञानिक डिजाइनले रातको समयमा सवारी चलाउनु पनि यहाँ जोखिमपूर्ण हुने देखिएको छ । २-२ वटा स्पीड लनेहरु छुट्टनिे सडकका बीच भागमा ‘मिडियन’हरु राखिएका छैनन् । यसका कारण तीब्र गतिमा चक्रपथमा चल्ने सवारीले जतिसुकै बला दुर्घटना गराउने जोखिम उच्च छ । रातको समयमा सवारी सुरक्षाका लागि के गर्ने भन्ने पाटोहरुलाई बेवास्ता गरिएको छ ।

मिडियन नहुँदा बाटो काट्नेलाई पनि लगातार ८ लेनसम्म एकोहोरो हिडिँरहन दबाव पर्छ । बीचमा मिडियन भए त्यसको छेकोमा उभिएर फेरि अर्को लेनबाट आएका सवारी हेरेर बाटो काट्न सजिलो हुन्थ्यो । तर, मिडियन नै नभएपछि चक्रपथमा बाटो काट्न कम्ती सास्ती र जोखिमयुक्त छैन ।

यसका कारण चक्रपथ सवारी दुर्घटनाको ‘ब्ल्याक स्पट’ बन्ने खतरा बढेको सडक विभागका अधिकारीहरु नै स्वीकार्छन् ।

नेपालमा लेन मिचेर सवारी ‘ओभरटेक’ गर्ने चलन अनियन्त्रित जस्तै छ । झन चक्रपथ फराकिलो हुँदा चालकहरुमा आत्मविश्वास धेरै हुने भएकाले यो सडकमा दुर्घटनाको जोखिम उच्च छ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment