Comments Add Comment

प्रहरी कर्मचारीलाई आईजीपीको निर्देशन–पीडितको घाउमा मल्हम लाग्ने व्यवहार गर्नुस्

१८ मंसिर, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महिला तथा बालबालिकाको क्षेत्रमा पीडितमैत्री सेवा प्रदान गर्नु अतिआवश्यक रहेको बताएका छन् ।

लैङ्गिक हिंसा नियन्त्रण संजाल समिति गठन तथा कार्यसञ्चालन विधि, २०७५ सम्बन्धी दुई दिवसीय अभिमुखिकरण कार्यशाला गोष्ठीको मंगलबार उद्घाटन गर्दै खनालले भने, ‘पीडित प्रहरी कार्यालयमा आइसकेपछि बोली, वचन र व्यवहारले नै घाउमा मलम लाग्ने गरी प्रहरी कर्मचारीले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ ।’

महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीले समाजसेवा गर्ने पनि अवसर पाएको चर्चा गर्दै खनालले मन, वचन, कर्मले कार्यसम्पादनको दायरामा बढोत्तरी गरी दृढ संकल्पित भइ आ–आफ्नो जिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत स्थानीय सरकार र सरोकारवाला निकायलाई समेटेर ल्याइएको कार्यक्रमले स्थानीय स्तरको समस्या पहिचान गरी निराकरण गर्न र सुरक्षित वातावरणमा विकास निर्माणका कार्य अगाडि बढाउन सकारात्मक प्रभाव पार्दै उत्साहप्रद वातावरण सिर्जना गरेको समेत उनको भनाइ थियो ।

समारोहमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले प्रहरीले सम्पादन गरेका कार्यको चर्चा गर्दै काठमाडौं महानगरपालिका प्रहरीसँग समन्वय र सहकार्य गरी काम गर्न तत्पर रहेको बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment