Comments Add Comment

एक ‘फुटबल आमा’को अस्ट्रेलियन  कथा 

सिड्नी / अञ्जना सिंह श्रेष्ठ अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने कैयौं नेपालीहरु र दक्षिण एशियालीहरु बीच एक परिचित नाम हो । प्रवासी समुदायलाई सशक्तिकरण गर्नेहरुको पंक्तिमा होस या महिला अधिकारको रक्षा गर्नेमा, उनको नाम अस्ट्रेलियामा अग्रस्थानमा अटाउँछ ।

उनी आफूलाई एक खुला, सिद्धान्तनिष्ठ र समाजप्रति उत्तरदायी महिला भन्न रुचाउँछिन् । एक सामुदायिक अभियन्ता, एक सकृय महिला खेलाडी हुनुले मात्र पनि उनको व्यक्तिगत परिचयलाई अझ न्याय दिदैन । एक व्यवसायिक बैंकर, एक सक्रिय युबा फुटबल खेलाडीकी आमा र युनिभर्सिटीका अति व्यस्त  प्रोफेसरकी पत्नी ।

यतिका व्यस्त भइकन पनि सिड्नीमा बसोबास गर्ने  प्रवासी नेपालीहरुको उज्जवल भविष्यका बारेमा पनि उनलाई चिन्ता र चिन्तन गर्ने पूरा समय छ ।

सिड्नीको अति व्यस्त जीवनका बावजुद यो पंक्तिकारलाई उनीसँगै बसेर उनका जीवनका आरोह अवरोहहरु खोतल्ने मौका मिल्यो ।

एक अप्रत्यासित तर आकस्मिक भेटका लागि धन्यवाद दिदै उनले भनिन्, ‘यस्तो सम्मान र पहिचान सायद कुनै पब्लिक फिगरका लागि सुहाउँछ, तर मसँग कुरा गर्न चाहनुहुन्छ भने आउनुहोस, स्वागत छ ।’

आफुलाई एक अन्तरमुखी स्वभावकी महिला भएको भन्न रुचाउने श्रेष्ठ विनम्रताका साथ आफ्ना अनुभवहरु र सोचाइहरु बेलीबिस्तार लगाउन थालिन् ।

पृष्ठभूमिः

उनी काठमाडौंको नेवारी समुदायमा जन्मेकी हुन् । मौलिक संस्कृतिको सकारात्मक प्रभाव, बलियो पारिवारिक मान्यता र गतिलो स्कुलिंगका कारण फरक फरक सामाजिक आर्थिक र जातीय समूहका महिलाहरुका माझमा उनले आफुलाई एक्स्पोज गरिन् । तर, उमेरको वृद्धिसँगै नेपाली समाजमा विद्यमान लैंगिक असमानता र महिलाप्रति हुने भेदभावले उनलाई पनि नमिठोसँग छोयो । र त्यतिबेलै त्यो असमानताका विरुद्ध आवाज उठाउने प्रवितद्धता जनाइन् ।

विगत सम्झदैं विभिन्न परिवार र फरक समुदायका महिला र युवतीहरुप्रतिको उनको लगाव यसरी सम्झिइन, ‘मैले  महिला सशक्तिकरणका विषयमा विभिन्न स्कुल र सामुदायका गोष्ठिहरुमा भाग लिएँ ।’

उनलाई राम्रोसँग अझै याद छैन कि कसरी र कहिलेबाट यी सब कुराहरु प्राकृतिक लाग्न थाले, अझ भनौं सुन्दर लाग्न थाले । यस्तै यस्तै विषयमा आवाज उठाउँदै गर्दा उनले विश्व निकेतन साइन्स क्याम्समा कक्षा ११ मा पढ्दा उनलाई न्यायिक लडाकुको  उपमा दिइयो, जसलाई उनले गर्वका साथ सम्झिन्छिन् ।

कंगारु भूमिको उनको यात्राः 

२० वर्षको उमेरमा विवाह भए लगत्तै उनी सन् १९९८मा पतिसँग अस्टेलिया आइन । त्यो समयमा नेपालीहरुको उपस्थिति अस्ट्रेलियामा एकदमै पातलो थियो । सायद नेपालीहरु कमी भएर होला उनीलाई अन्य संस्कृतिका मानिसहरुको बारेमा अध्ययन गर्न चासो लाग्यो ।

‘मलाई विद्यार्थीहरु र नयाँ आप्रवासीहरु एक अर्कासँग कसरी ‘इन्जेगज्ड’ हुन्छन्, अझ हाम्रो जस्तो देशका चेलीहरु अन्य देशका चेलीहरुसँग कसरी समावेश हुन्छन् भन्ने विषयमा जान्न सधैं उत्सुकता हुन्थ्यो,’ उनले भनिन् । त्यति मात्र नभई उनीहरुले प्राप्त गर्ने अवसर र सामना गर्ने चुनौतीहरु र उनीहरुको क्षमतालाई अभिवृद्धिगर्न उनीहरुलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने चिन्ता लागिरहन्थ्यो उनलाई ।

उनले आफ्नो रुचीका विषयहरुको अध्ययन गर्न काउन्सिल लाइब्रेरीहरु र विश्वविद्यालय धाएको विषयमा बेलि बिस्तार लगाइन् । उनले कैयौं सामुदायिक कार्यक्रमहरुमा भाग लिने, प्रशिक्षण कार्यक्रमहरुमा जाने र विभिन्न विद्यार्थीहरुसँग चिनजान गर्ने, साथीहरु बनाउने गर्न थालिन् ।

यही क्रममा उनले सन् १९९८ मा अस्टेलियाको लागि स्थायी बसोबास (पीआर)को स्वीकृति पाइन (जतिबेला दक्षिण एशियाली विद्यार्थीहरुका लागि पिआर पाउनु एकदम अनिश्चित जस्तै थियो ।)

ठूलो महादेशमा उनले भोगेका संघर्ष र खुशीका कथाहरु:

एक साधारण युवतीको विदेश बसाई, यहाँको समाजलाई बुझने प्रयास, जागिरको तनाव, परिवार र आफ्नो जीवन कसरी सफल बनाउने सोंचबाट नै अस्ट्रेलियामा उनको संघर्ष र खुशीका कथाहरु सुरु भएको उनी सम्झिन्छिन् ।

यही क्रममा उनले सुरुमा कोल्स सुपरमार्केटमा सेल्स असिस्टेन्ट अनि केही समयपछि बैंकरको रुपमा जागिर खाइन ।

पछि उनले अस्टेलियाको सबैभन्दा पुरानो विश्वविद्यालय, द यूनिवर्सिटी अफ सिड्नीमा मास्टर्स पढ्ने मौका पाइन । निसन्देहः उनका सुरुका दिनहरु त्यति सजिला थिएनन् ।

सुरुसुरुमा कसैको फोन आउँदा  उठाउन पनि झर्को लाग्ने उनी विस्तारै नयाँ सँस्कृति र नयाँ व्यवस्थासँग आफुलाई घुलमिल पार्र्दै लगिन् । केही समयपछि भने उनको जिवन सहज बन्दै गएको उनलाइ महसुस भयो । ‘म आफुलाई एकदमै भाग्यशाली ठान्थे किनकि अन्य मानिसहरुले पाएको दुःख र उनीहरुले गरेका सँघर्षको तुलनामा मेरो संघर्ष अलि सहज थियो,’ उनले अनुभव सुनाइन ।

उनले अगाडि भनिन्, ‘मैले पनि धेरै संघर्षहरु गरेको छु । र नेपाल, भारतबाट आएका विद्यार्थीहरुलाई सिड्नी जस्तो व्यस्त शहरमा पढाई, करियर र जीवन सहज बनाउन मैले धेरै सहयोग गरेकी छु ।’

उनका जीवनमा  आएका यी तीता मिठा उतारचढावपछि उनको जीवनले नयाँ मोड लियो । उनी सामाजिक गतिविधहरुमा सहभागी हुन थालिन । पिआर प्राप्ति, आफैमा भएको आत्मविश्वास र केही गरेर देखाउँछु भन्ने अठोटका कारण उनी अझै सामुदायिक गतिविधहरुमा सकृय भएर लागि परिन् । ‘त्यति मात्र होइन, मलाई मेरो पति र आमाले पनि पूर्ण रुपमा सहयोग गर्नु भयो,’ उनले सम्झिइन ।

अस्ट्रेलियामा पारिवारिक जीवन 

२३ वर्षको उमेरमा सन् २०००मा उनको परिवारमा नयाँ सदस्यको आगमन भयो, छोरा आयाम । विदेशी भूमिमा त्यही पनि कलिलै उमेरमा आमा बन्नु, यहाँको सिस्टमका बारेमा पर्याप्त ज्ञान नहुनाले उनका चुनौतीहरु अझ चुलिँदै गए । यद्यपि आफ्नी आमा अमर देवी डंगोलको सहयोग पश्चात उनले आफ्नो जीवनमा केही सहजता आएको महसुस गरिन् ।

‘मैले अस्ट्रेलियन सिस्टममा बच्चा कसरी हुर्काउने भनेर राम्रोसँग सिके । सुरु सुरुमा आप्रवासी परिवारलाई सूचना प्रवाह गर्नु र सहयोग गर्नु एकदमै गाह्रो भयो । यो चुनौतीले मलाई परिवारलाई हेरचाह गर्ने विषयमा अरुलाई सहयोग कसरी गर्ने भन्ने ठूलो पाठ सिकायो,’ उनले अनुभवहरु सुनाइन् ।

जब उनले आफ्नो जीवनले राम्रो गति पक्डेको महसुस गर्न थालिन, उनलाइ आफ्नो बच्चा आफुले सोंचेभन्दा चाँडो हुर्केको भान भयो । एकातिर दिनानुदिन हुर्किदै गरको बच्चा र अर्कोतिर भर्खरै सुरु भएको उनको पतिको शैक्षिक जीवन, उनका समयहरु अझ  व्यस्त बन्दै गए ।

उमेरको वृद्धिसँगै उनले आफ्नो छोरालाई एक स्कुलमा भर्ना गरिदिइन् । स्कुलमा भर्ना भए लगत्तै छोराले पढाई सँगसँगै फुटबल खेलमा रुचि देखाउन थाल्यो, र स्कुलबाट प्रतिस्पर्धा गर्न । त्यसपछि त जिन्दगी झन् झन् व्यस्त हुदै गयो, र अझ बढी सन्तुष्टि पनि, उनले थपिन् ।

आयाम एक कुशल फुटबल खेलाडी बन्दै गयो र म एक ‘फुटबल आमा’ आफ्नो छोराको फुटबल प्रशिक्षणका लागि सिड्नीका विभिन्न खेल मैदानहरुमा लगेको स्मरण गर्दै उनले भनिन्, सायद मैले सिड्नीका फुटबल मैदानहरु नचिनेको एउटा पनि छैन होला ।

मेरो इच्छा  थियो मेरो छोरा एक कुशल खेलाडी बन्नेछ र मैले पनि त्यसका लागि कुनै कसर बाँकी राखिन, छोराको  फुटबलप्रतिको लगाव देखेर उनले गर्वका साथ भनिन् । अहिले आयाम सिड्नीमा प्रिमियर लिग फुटबल खेल्छ ।

उनको खुशीको सीमा यतिमा मात्र सीमित रहेन । आयाम फुटबलमा त अब्बल छँदै थियो, गत वर्ष छोराले हाइ स्कुलमा राम्रो अंक ल्याएर  उत्तीर्ण गरेपछि  उनको खुशीको सीमा झन् फराकिलो भयो । अहिले आयाम युनिभर्सिटी अफ न्यु साउथ वेल्समा कानून पढ्दैछन् जहाँ उनका पिता प्राध्यापन गर्छन ।

सामुदायिक गतिबिधिमा संलग्नता

उनी अस्ट्रेलिया आएदेखि नै सामाजिक कार्यमा लागि सकेकी थिइन । उनका अनुसार उनलाई नेपाली समुदायलाई अस्ट्रेलियाका अन्य बहुसाँस्कृतिक समुदायहरुसँग सम्बन्ध विस्तार गराउन मन पर्छ ।

यसका लागि उनले नेप्लिज रिक्रिएसनल क्लबको महासचिव भएर पनि काम गरिन् । त्यति मात्र होइन, उनले एसफिल्ड सिटी काउन्सिल लाइब्रेरीमा नेपाली भाषाका विभिन्न पुस्तकहरु उपलब्ध गराउन पनि विशेष भूमिका खेलिन् । यसले एसफिल्ड र यसका आसपासका क्षेत्रमा मात्र नभइ सिड्गो सिड्नीमा नेपाली साहित्य, भाषा र सँस्कृतिलाई चिनाउन ठूलो भूमिका खेल्यो । उनले ८ वर्षसम्म प्रतिष्ठित चैरिटी संस्था ब्रिज द ग्याप नेपालमा पनि सकृय सदस्य भएर काम पनि गरिन् ।

उनले सन्  २०१६मा नेपालमा गएको विनाशकारी भूकम्पका पीडितहरुलाई आर्थिक सहयोगका लागि ब्रिज द ग्याप नेपाल र केन्टबरी कम्युनिटी चर्चको बीचमा सहयोगी कार्यक्रमहरु सञ्चालन गरिन् । यति मात्र नभइ, उनले सन् २०१६, २०१७ र २०१८ मा दशै साँझ जस्ता साँस्कृतिक कार्यक्रमहरु आयोजना गर्न ठूलो भूमिका निर्वाह गरिन्, जसबाट उनले करिब ६० हजार अस्टेलियन डलर बराबरको रकम उठाउन सफल भइन् ।

उनको व्यस्तता यतिमा मात्र सीमित रहेन । उनी अस्टेलियामा नेपाली महिलाहरुलाई सशक्तिकरण गर्ने संस्था नेप अस फाइनान्सकी एक डाइरेक्टर पनि हुन् ।

उनले नेपालका ग्रामीण क्षेत्रका विद्यालयहरुको पुनर्निर्माण गर्ने हेतुले श्रेष्ठ कल्याण समाज पनि स्थापना गरिन् । ‘हामीले नेपालका ग्रामीण भेगमा विद्यालयहरु पुनर्निर्माण गर्न आर्थिक संकलहरुपनि गरेका छौं,’ उनले भनिन् ।

‘सहानुभूति पाउने आशमा मात्र अरुलाई सहयोग गर्नु हुँदैन, अरुको जीवन उकास्ने हेतुले मात्र काम गर्नु पर्छ जस्तो लाग्छ,’ उनको तर्क छ ।

‘…मलाई दिनुमा र सहयोग गर्नुमा विस्वास लाग्छ । त्यसैले हामी मानवहरु यो ग्रहका अन्य जीवभन्दा फरक छौं,’ उनको भनाइ थियो ।

उनले अस्टेलिया पढ्न आउने अन्य महिलाहरुलाई परामर्श दिने, आर्थिक सहयोग पनि गर्ने गरेकी छिन् ।

भाबि लक्ष्य :

उनलाई सामाजिक क्षेत्रमा अझै तदारुकता साथ लाग्ने इच्छा छ । उनी  नेपाली र दक्षिण एशियाली समुदायहरुलाई अस्टेलियन समाजसँग एकीकरण गराउने योजना भएको सुनाउँछिन् ।

‘मैले सबैले जीवन हाँसिखुसी बाच्न पाउने कुरामा विश्वास गर्छु र यसका लागि जस्तो सुकै सहयोग गर्न म तयार छु,’ उनले अगाडि भनिन् । नेपालबाट आउने महिलाहरु, विद्यार्थीहरु, नयाँ आप्रवासीहरुका फराकिला आवश्यकताहरुलाई परिपूर्ति गर्न सही समयमा पर्याप्त सहयोग गर्ने उनको संकल्प छ ।

अझ, उनी विभिन्न सामुदायिक संस्था, सरकारी संस्था, शैक्षिक संस्थाहरुमा सकृय सहभागी भई पीछडिएका मानिसहरुमा सकारात्मक परिवर्तन ल्याउन मानिस र संस्थाहरुलाई जोड्न सकृय भएर लाग्ने कुरामा आफू प्रतिवद्ध भएको जिकिर गर्छिन ।

अस्ट्रेलियामा आगामी दिनहरु सुखमय बन्दै जाने र समाज र मानिसको जीवनमा सकारात्मक परिवर्तन हुने कुरामा पनि उनी आशावादी देखिन्छिन् ।

अन्त्यमा, अस्टेलियामा सफल र खुशी जिवन विताउन उनले सबैलाई सम्मानजनक, अनुशासित, भरपर्दो र सामूहिक हुन विशेष आग्रह गरिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment