Comments Add Comment

‘नयाँ युग’ र मादक पदार्थको विज्ञापन

केही समयअघि एउटा विज्ञापनले अत्यधिक चर्चा पायो । बिशेष गरेर सामाजिक सञ्जालमा । कुनै पनि नेपाली विज्ञापनले त्यति चर्चा पाएको मलाई थाहा छैन । त्यो विज्ञापन थियो नेपाल सरकारले ल्याएको सामाजिक सुरक्षा योजनाको । त्यसमा बिरोध र व्यंग्य बढी भए ।

विरोध मोटामोटी रुपमा तीन कुरामा केन्द्रित  थिए- पहिलो, सरकारले विज्ञापन गर्नु हुँदैन, गरीब सरकारले त झन हुँदै हुँदैन, दोस्रो विज्ञापन गरे पनि त्यसमा ओलीजीको फोटो राख्नु हुँदैथ्यो र तेस्रो चाँही उक्त विज्ञापनको नाराप्रती ब्यंग थियो ।

म विज्ञापन वाकस्वतन्त्रताको माध्यम हो भन्ने मान्यताको पक्षधर हुँ । त्यसैले यस्को उपभोग व्यवसायिक संस्था र व्यक्तिले मात्र होइन , सरकारले पनि गर्न पाउनु पर्दछ भन्ने सोच राख्दछु । जहाँसम्म उक्त विज्ञापनको सवाल छ, त्यसमा बुद्दिजिवीहरुले अड्कल काटेजति खर्च ‘गरिब’ सरकारले गरेको पाइएन । त्यसमा अधिकांस खर्च निजी क्षेत्रले बेहोरेको कुरा विज्ञापन राम्रोसँग पढ्दा नै थाहा हुन्थ्यो । त्यसमाथि, सरकारले कुन प्रयोजनका लागि कति खर्च गर्छ, मैले सुझाउने कुरा होइन । भोलि सरकारले एउटा गरीब देशको विज्ञापन निर्माताले कती सम्मको विज्ञापन बनाउने भनेर सुझाउला, त्यो मलाई मान्य हुने छैन ।

उपभोक्तावादमा मिडिया, बुद्दिजिवी र मार्केटिङले माहोल यस्तो बनाउछन् कि हामीलाई लाग्दछ कि सरकार हामीले तिरेको कर मात्रले चल्छ, कर्पोरेट जगत चाँहि कुबेरको दानले चल्छ । त्यसैले सरकारले गर्ने खर्चमाथि प्रश्न उठाउनु हाम्रो परम धर्म बन्न जान्छ र कर्पोरेट जगतले गर्ने खर्च माथि प्रश्न उठाउनु घोर पाप । जब कि सरकार र कर्पोरेट जगत दुइटै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हाम्रै पैसाले चल्दछ ।

आखिर, मिडिया र बुद्दिजिवीहरु किन हात धोएर सरकारको पछि लाग्छन् र कर्पोरेट जगतको सवालमा मौन बस्दछन्, आˆनो निजी स्वार्थ नबाझुञ्जेल ? यो विषयमा ब्यापक बहस चल्नुपर्छ जस्तो लाग्छ । सरकारले गर्ने खर्चको एकमुष्ट हिसाब जनताले आउने चुनावमा लिन्छन् नै । मलाई सरकारले विज्ञापन गरेर देशनै डुबाउला जस्तो लाग्दैन । धेरै देशमा सरकारहरुले विज्ञापन गर्छन्, विज्ञापन गरेर देश डुबेको अहिलेसम्म सुनेको छैन ।

अभय पाण्डे

रहयो सम्वेदनशीलताको कुरा, त्यो सरकारलाई मात्र होइन, गरीब देशको सबै हुने खाने उपभोक्तालाई पनि लागु हुन्छ । जाडोको मौसममा आफुले २, ४ हजार रुपैंयाको लुगा किन्दै गर्दा, पसल बाहिर कठागि्रँदै गरेको गरीबलाई कस्ले न्यानो लुगा किनेर लगाइदिएको छ ? वा आफू रेस्टुरेन्टमा टेबल भर्ने गरी खाना खाँदै गर्दा बाहिर रहेको भोको गरीबलाई एक प्लेट खाना कसले लगिदिएको छ ? छ भने त राम्रो हो, तर छैन भने गरीब र गरीबीको नाममा गोहीको आँशु झारेर सामाजिक सञ्जालमा बुद्धीविलास गर्ने काम त्याग्नु नै स्वयंप्रति इमान हुनेछ ।

अर्को बिरोध थियो, ओलीजीको फोटो र नाराको । तर, नारामा उल्लेखित ‘नयाँ युग’ बुद्धिजिवीहरुप्रति नभई श्रमजीवीहरुप्रति लक्षित रहेको विज्ञापन पढेको भए थाहा हुन्थ्यो । अनि, ओलीजी पोलमा ‘झुन्डिएको’ देखेर आफू फेसबुक वालमा चढ्नुपर्ने थिएन । ओलीजीको फोटो राखेर घाटा बुद्धिजीवीलाई होइन, स्वयं ओलीजीलाई मात्र हुन सक्थ्यो ।

हाम्रो देशमा ‘सुतर्की’ र ‘कुतर्की’ एउटै बुद्धिजीवीका दुई अवतार हुन । सत्ता परिवर्तन हुने बितिक्कै एक थरी सुतर्की बुद्धिजीवी ‘कुतर्की अवतार’ धारण गरी विभिन्नखाले मिडियामा छाउँछन् ।

जे होस्, म उक्त विज्ञापनलाई आˆनो लक्ष्यमा सफल भएको नै मान्छु । किनभने, आˆनो सन्देश लक्षित समूहभन्दा धेरै ठूलो परिधिमा पुर्‍याउन सफल भयो त्यो विज्ञापन । ओलीजीको फोटोसंगै उक्त नारा नभएको भए, सामाजिक सुरक्षा योजनाको बारेमा बुद्धिजीवीहरुलाई शायद जानकारी नै हुँदैनथ्यो । भए पनि एउटा कानले सुनेर अर्को कानबाट उडाइदिन्थे ।

अब लागाैं यस आलेखको अर्को विषय मादकपदार्थको विज्ञापनमा प्रतिबन्ध तिर । करीब डेढ बर्षअघि तत्कालीन सरकारले मादक पदार्थको विज्ञापनमा पूर्ण रोक लगायो । त्यसअघिसम्म छापा र होडिङमा विज्ञापन गर्न पाइने छुट थियो । मादक पदार्थको टेलिभिजन विज्ञापनमा सन् १९९९ मा नै प्रतिबन्ध लागु भइसकेको थियो । विश्व स्वास्थ संगठनको सुझाब अनुरुप उक्त प्रतिबन्ध लागेको कुरा त्यतिबेला मिडियामा आएको थियो । कतिपयले उक्त प्रतिबन्ध एउटा ब्यावसायिक घरानाको हितमा ल्याएको चर्चा पनि गर्छन् । बजारमा आफ्नो एकाधिकार कायम राख्न उक्त प्रतिबन्धका लागि दबाव दिएको भन्ने उनीहरुको दाबी थियो ।

अब प्रश्न उठ्छ- के मादक पदार्थको विज्ञापनमा प्रतिबन्ध जरुरी थियो ? मलाई लाग्छ थिएन, छैन । मादक पदार्थको विज्ञापनले त्यस्को कुल उपभोग बढाउँछ भन्ने कुनै निर्णायक प्रमाण छैन । प्रथमतः कुनै पनि विज्ञापनको उद्देश्य ब्रान्ड छनौटलाई प्रभावित पार्नु हो, न कि उक्त बस्तुको कुल उपभोग बढाउनु । त्यसमाथि जुन बस्तुको उपभोग त्यसै पनि समाजमा ब्यापक रुपमा हुन्छ, त्यस बस्तुको कुल उपभोग बढाउन खोज्नु विज्ञापनदाताका लागि ब्यर्थको अभ्यास हुन्छ ।

अब उपभोक्ताको दृष्टिकोणले हेराैं । के मादक पदार्थको विज्ञापन हेरेर, पढेर आफुले सामान्यतय सेवन गर्ने भन्दा बढी सेवन गर्न मन लाग्छ ? वा कहिले पनि सेवन नगर्ने मानिसलाई सेवन गर्न तलतल जाग्छ ? विज्ञापन मादक पदार्थ सेवनको कारक हो या असर हो ? विज्ञापन छ, त्यसैले समाजमा मादक पदार्थको सेवन छ ? वा समाजमा मादक पदार्थको सेवन छ, त्यसैले विज्ञापन छ ?

सरकारलाई विज्ञापन कुनै पनि वस्तुको उपभोगको कारक हो भन्ने लाग्छ भने त्यो विज्ञापनको शक्तिको अति आँकलन हो । बोतल देखेर मानिसलाई खान मन लाग्ने भए त बुद्वको तस्बीर देखेर मानिसलाई ध्यानमा बस्न मन लाग्नु पर्ने हो । हत्कडीको तस्बीर देखेर भ्रष्टाचार गर्न मन नलाग्नु पर्ने हो । यस्तो हुने भए समाजका सबै सुधार विज्ञापनले नै गरी दिने थिए । तर, त्यस्तो हुँदैन ।

विज्ञापनले मानिसलाई असर त पार्छ, तर मात्रामा होइन । किनकि, विज्ञापन समाजको यथार्थ र आकांक्षाहरुको चित्रण मात्र हो । यो ऐना हो, पात्र होइन ।

विज्ञापनले मादक पदार्थको उपभोग बढाउँछ या बढाउँदैन भन्ने बिषयमा धेरै अध्ययनहरु भएका छन् । त्यसमध्ये थोरैजसोले बढाउने निश्कर्ष निकालेका छन् भने धेरैजसोले सेवन नबढाउने निश्कर्ष निकालेका छन् । यो बिषयमा अमेरिकामा भएका अध्ययनहरुले सेवन बढाउने निश्कर्ष निकालेको छैन । टेक्सस विश्वविद्यालयले सन् २०७१ देखि २०११ सम्म गरेको अध्ययनले पनि सेवन नबढाउने निश्कर्ष निकालेको छ । उक्त अध्ययनअनुसार, यो ४० बर्षको अवधीमा अमेरिकामा प्रतिब्यक्ति मादक पादर्थ सेवनको मात्रा उही रहृयो । जबकि, मादक पदार्थको विज्ञापनमा गरिने खर्च ४०० गुणा बढ्यो । यो अध्ययनअनुसार, विज्ञापनले एउटा ब्रान्डको सट्टा अर्को ब्राण्डप्रति आकषिर्त गराउने मात्र हो ।

मादक पदार्थ सेवन स्वास्थका लागि लाभदायक छ कि हानिकारक ? हल्का सेवन स्वास्थका लागि स्वीकार्य वा लाभदायक हुन्छ ? यी स्वास्थ्यसम्बन्धी मुद्दाहरु हुन्, जसको जवाफ स्वास्थ्य विज्ञहरुले देलान् । कुनै ब्यक्ति के कारणले मादक पदार्थ सेवन गर्न थाल्छ वा सुरु गरेपछि दुव्र्यर्सनी बन्छ ? दुव्र्यर्सनी हुनुको कारण सामाजिक हो वा शारीरिक ? मादक पदार्थ उत्पादनमा पूर्ण प्रतिबन्धले एउटा आदर्श समाज निर्माणमा सहयोग पुर्‍याउँछ ? यी महत्वपूर्ण प्रश्न हुन् ।

तर, म स्वास्थविज्ञ, समाजशास्त्री वा मनोबैज्ञानीक होइन । विज्ञापनको बिद्यार्थीको नाताले मलाई बिभिन्न अध्यनहरुले यही कुरा मान्न बाध्य गराउँछ कि मादक पदार्थको विज्ञापनले त्यसको समग्र उपभोगमा असर पार्दैन ।

अमेरिकाले विज्ञापनलाई व्यवसायको वाक स्वतन्त्रता भन्छ । म पनि त्यही मान्दछु । विज्ञापनमा प्रतिबन्ध ब्यवसायको वाकस्वतन्त्रता हनन् हो । यो कुरा पक्कै हो कि मादक पदार्थ सम्बन्धी विज्ञापनको नियमन हुन जरुरी हुन्छ । सरकार साचिकै मादक पदार्थको उपभोग घटाउन चाहन्छ भने उसले ती सामाजिक, शारीरिक र मनोबैज्ञानिक कारणहरुतर्फ ध्यान दिनुपर्छ, जसले मानिसलाई मादक पदार्थ सेवन गर्न अग्रसर गराउँछ वा दुर्व्यसनी बनाउँछ ।

आवश्यकता सबै अविस्कारको मात्र होइन, सबै उपभोगको पनि जननी हो । त्यसैले, सरकारले आवश्यकताका कारण खोज्न ध्यान दिन जरुरी छ । विज्ञापन दुश्मन होइन, सन्देश बाहक हो । मार्नुपर्ने त दुश्मनलाई हो, सन्देश बाहकलाई होइन ।

(पाण्डे विज्ञापन फिल्मका कपीराइटर एवं निर्देशक हुन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment