Comments Add Comment

थ्रीस्टार दोस्रो स्थानमा उक्लियो

१९ मंसिर, काठमाडौं ।सरस्वती युथ क्लबलाई पराजित गर्दै थ्रीस्टार क्लब शहिद स्मारक ए डिभिजन लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

हलचोकस्थित एपीएफको खेल मैदानमा बुधबार सम्पन्न खेलमा थ्रीस्टार क्लबले सरस्वती युथ क्लबलाई २-१ गोलअन्तरले पराजित गरेको हो । थ्रीस्टारको जितमा रञ्जित धिमाल र निराजन खड्काले गोल गरे । यता सरस्वतीका लागि भने भिक्टोर अमोभीले गोल गरेका थिए ।

सुरुवाती समयमा नै लिएको अग्रतालाई थ्रीस्टारले उल्ट्याउँदै जित निकालेको हो । खेलको तेस्रो मिनेटमा नै भिक्टोरले गोल गर्दै सरस्वती क्लबलाई अग्रता दिलाएका थिए । तर यो धेरै टिक्न सकेन ।

खेलको १६औं मिनेटमा रञ्जितले बराबरी गोल गरे । ३६औं मिनेटमा निराजनले गोल गर्दै थ्रीस्टारलाई २-१ गोलको अग्रता दिलाएका थिए ।

पहिलो हाफमा २-१ गोलअन्तरले अघि रहेको थ्रीस्टारले आफ्नो अग्रता दोस्रो हाफमा पनि कायमै राख्न सफल भयो ।

जितसँगै दोस्रो स्थानमा उक्लिएको थ्रीस्टारले उक्लिदा मनाङसँग अंक दूरी घटाएको छ । ६ खेलबाट थ्रीस्टारको १५ अंक भएको छ भने सबै खेल जितेको मनाङ १८ अंकसहित शीर्ष स्थानमा छ ।

पराजित सरस्वतीको भने ६ खेलबाट ६ अंक मात्रै छ ।

च्यासलसँग स्तब्ध हिमालयन शेर्पा

बुधबार नै भएको खेलमा च्यासल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई २-१ गोलअन्तरले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा च्यासलले हिमालयन शेर्पालाई पराजित गर्न सफल भएको हो ।

च्यासलको जितमा सन्तोष साहुखल र सुनिल खड्काले गोल गरे । हिमालयन शेर्पाका लागि त्रिदेव गुरुङले गोल गरेका थिए ।

खेलको १५औं मिनेटमा नै गोल गर्दै अग्रता लिएको हिमालयन शेर्पाको नतिजालाई उल्ट्याउँदै च्यासलले दुई गोल गरेको हो । च्यासलले खेलको दोस्रो हाफमा दुबै गोल गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment