Comments Add Comment

कथाः छोरी खोई त ?

छोरीले स्कूलबाट शैक्षिक भ्रमणमा गोदावरी जाने, स्कूल चार बजे नै र्फकने र साढे चार बजे त घरै आई पुग्ने जानकारी दिएकी थिइन् । छोरी कतै जाने भनेपछि उषा र उत्तम स्वरक्षाका धेरै उपाय र कला दोहोर्‍याई तेहर्‍याई संझाउने गर्दथे । नजाऊ भन्न नसकेपछि के गरुन् र विचरा । आज पनि उनीहरुले छोरीलाई धेरै सम्झाए । हस् डयाडि, हस् मम्मी भन्दै छोरी स्कूल गइन् ।

चार बज्यो । साँढे चार बज्यो । छोरीले भने अनुसार त घर आइसक्नु पर्ने हो । पाँच बज्यो । छ बज्यो । उत्तम र उषाले पालै पालो फोन गरे, ‘मोवाईलको स्वीच अफ गरिएको छ’ भन्ने सन्देश आइरहयो । छोरीको मिल्ने साथी तारालाई फोन गर्दा घण्टी गइरहयो, तर उठेन । घाम अस्ताए, साँझ पर्‍यो, तर छोरी स्कूलबाट फर्किइनन् । दम्पती शंका, उपशंका, चिन्ता, पीर र पीडाको पोखरीमा खसे ।

उत्तमले टीभी खोले । कञ्चनपुर जिल्लामा एक किशोरी निर्मला पन्तको वलात्कारपछि हत्या गरिएको ब्रेकिङ न्यूज आयो । उषा-उत्तमको होस ठेगानमा रहेन । समाचार सुन्नै डराएर टीभी बन्द गरे । अध्याँरो बढदै गयो । उषा छिनमा घरभित्र छिनमा घर वाहिर गर्न थालिन् । उत्तम छोरी आउने बाटोमा ओहोर दोहोर गरिरहे ।

छोरी खोई त ? उषाले पिलपिलाउँदै उत्तमलाई सोधिन् ।

हाम्री छोरी हक्की, कडा मिजास कि र बाठी छन् । बोल्न सक्छिन् । प्रतिरोध गर्न सक्छिन् । पीर नगर उषा । उत्तमले पत्नीलाई सम्झाउने कोशिस गरे ।

छोरी मान्छेको शरीर, राक्षसहरु…………उषा कहालिँदै उत्तमको काखमा घोप्टिइन् ।

लक्ष्मी विलास कोइराला

उत्तम थप बोल्न सकेनन् । आँखा रसिला बनाएर पत्नीको छटपटी हेरिरहे । मनमा छोरीमाथि हुन सक्ने हिंसाका घटनाहरु चलचित्रको पर्दामा झैं एकएक गरी आउन थाले ।

हे प्रभु ! हाम्री छोरीलाई केही नहोस् । उनीहरु भगवानको शरणमा परे ।

जति गर्दा पनि उषा र उत्तमको मनमा नराम्रा कुराहरु खेल्न छाडेनन् । उनीहरु मनमनै तर्कवितर्क गर्दै छोरी आउने बाटो कुरिरहे । मोवाइलमा फोन लाग्छ कि भनेर कोसिस गर्दै रहे ।

स्कुलका शिक्षक नै बदमास हुन्छन् भन्छन् । उनीहरुले शिक्षकवाट नै छोरी असुरक्षित देखे । बाटोमा कुनै चिनेको छिमेकीले भेटेर नानी म घर पुर्‍याइदिन्छु भन्दै वेपत्ता पार्‍यो कि ? उनीहरुले छिमेकीहरुलाई धिक्कारे । छोरीवेटीमाथि हिंसात्मक आक्रमण गर्न त नातेदार पनि कम हुँदैनन् । दम्पत्ति फतफती पाक्दै गए । छोरी आउँदै होलिन् भन्ने आशा गर्नै सकेनन् । चिन्ता र चिन्तन दुबैको मनमा लठारिइरहे ।

छोरी घरबाट बाहिर निस्केपछि बाबुआमा सँधै डराइरहनु पर्छ । छोरीका लागि सँधै असुरक्षा किन र कहिलेसम्म ? छोरीलाई स्वतन्त्रतापूर्वक सुरक्षित भएर हिँडडुल गर्न, घुम्न अनि रमाउन पाउने हक छैन र ? छोरी हुर्कंदै, ठुली हुँदा बाबुआमालाई रमाइलो हुनुको बदलामा पिरलो हुने वातावरण कसले बनायो ? समाजले, संस्कृतिले, आधुनिक सभ्यताले कि सरकारले ? दम्पती भुटभुटाइरहे । छोरी बाहिर निस्केर घर नफर्केसम्म हामी सधैं मरेतूल्य भई बाँच्नुपर्ने ? डरलाग्दा डरलाग्दा कुराहरु बाबुआमाको मनमा सल्बलाइरहे ।

उषा र उत्तम सानो किराना पसल चलाएर आनन्दसँग बाँचेका थिए । छोरीलाई देशको ठूलो मान्छे बनाउने उनीहरुको चाहना थियो ।

लक्ष्मीको आगमन भयो घरमा भन्दै उत्तम र उषाले गाउँलेहरुसँग छोरी जन्मेको खुसी मनाएका थिए । छोरी चन्द्रकलाझैं हुकर्ंदै गइन् । छोरीको थिरिथिरी, तोतेबोली र प्रश्नमाथि प्रश्नको ओइरोले उत्तम-उषा आप\mना सबै तनाव र अप्ठ्याराहरु बिर्सिएर रमाइरहन्थे । छोरीलाई खाना खुबाउँदा ‘को खाई को खाई, नानी खाई’ गर्दाको रमाइलोको त के बखान गर्नु र ? छोरीसँग खेल्न जोईपोइबीच तँछाडमछाड नै हुन्थ्यो । छोरी हुकर्दैं जाँदाको रमाइलो र खुसीले गगन चुम्न खोज्थ्यो । उत्तम-उषालाई अर्को बच्चा जन्माउने इच्छा भएन । आफनो सम्पूर्ण माया र समय छोरीमाथि नै न्यौछावर गरेका थिए, उनीहरुले । कविमनका उत्तमले छोरीको प्रशंसामा कविता नै लेखेका थिए ।

छोरी हुर्कंदै जानु र त्यैबेलामा सञ्चार माध्यमहरुमा छोरीमाथि हुने विभिन्नखाले हिंसाका घटनाहरु आइरहनु संयोग मात्र थिएन, हाम्रो समाजको यर्थाथ थियो । समाचार पढदा, सुन्दा र हेर्दा उत्तम-उषाको आङ सिरिङ्ग हुन्थ्यो । जे जे सोचेर डराए पनि एक अर्कामा डराएको भावना बाँड्न सकेका थिएनन् ।

छोरीलाई स्वच्छन्द भएर घुमफिर गर्ने वातावरण कसरी बन्छ ? कसरी छोरीको क्षमता प्रष्फुटन हुन सक्छ ? र, छोरीलाई कसरी हुर्काउने, बढाउने र सवल नागरिक बनाउने भन्ने भय र चिन्ता उषा-उत्तममा छोरीसँगै हुर्कँदै गइरहेको थियो ।

स्वदेशी-विदेशी मिडियाहरुमा महिला हिंसा र मिटुका बहसहरु एकनासले चलिरहेका हुन्थे । मिडियाले सूचना दिएको कि पीडा दिएको हो ? दम्पतीले बुझ्न् सकिरहेका थिएनन् । बुद्धिमत्ताढंगले नलेखिएको वा सम्पादन नगरिएको समाचारले समाजमा नकारात्मक प्रभाव पार्न सक्छ । नराम्रो एउटै समाचार बारम्बार आइरहदा पनि राम्रो लाग्दो रहेनछ । दम्पती मिडियाका समाचारहरुप्रति गम्भीर बनेका थिए ।

हाम्रा धर्मशास्त्रहरु नारीको सम्मान गर्नुपर्ने पक्षमा वकालत गर्छन् । जहाँ नारीको सम्मान र पूजा हुन्छ, त्यहाँ नै देवताको वास हुन्छ । नारी प्रसन्न भए घर सुखी हुन्छ भन्ने मनुको उक्ति छ । हामी छोरी, वहिनी, आमाको कुनै नै कुनै रुपमा पूजा गर्छाैं । तर, तिनै दिदीबहिनी र छोरीमाथि समाज किन हिंस्रक बनेको होला ? किन दिदीबहिनीको सम्मान गर्न नजानेको होला ? नारीको सम्मान गर्नु आफ्नै आमा, छोरी, बहिनी र श्रीमतीको सम्मान र रक्षा गर्नु हो नि । किन पुरुषहरुले ज्ञान ग्रहण गर्न नसकेका होलान् ? उषा-उत्तम आपसमा छलफल गर्थे ।
पढाइप्रति छोरीको लगाव आशाअनुरुप नै थियो । कितावी ज्ञान र वाहृय ज्ञान दुबै थियो, उनलाई । छोरी स्कूल जान थालेपछि उत्तम र उषा लजाने, ल्याउने गर्दथे ।

‘मम्मी ! अब म ठूली भैसकें । एघार पढ्दैछु । अब हजुरहरुले स्कूल ल्याउन, पुर्‍याउन पर्दैन क्या । मलाई त लाज लाग्छ, साथीहरुको अगाडि ।’
एक दिन छोरीले आफनो अप्ठेरो बताइन् ।

‘हो र नानु ?’ उषाले हाँस्दै सोधिन् ।

‘मम्मी ! अब म इन्डिपेन्डेन्टली हिँडनु परेन भन्या’ भन्दै छोरी आफ्नो कोठामा पसिन् ।

छोरीको आग्रह अनुसार उषा-उत्तमले छोरीलाई एक्लै स्कूल जान, आउन दिएका थिए । तर, मिडियामा आउने महिला र वालिकामाथि भएका हिंसा र बलात्कारका समाचारहरुले उनीहरु कुनै दिन पनि निर्धक्कसँग बस्न भने सकेका थिएनन् ।

बिहान छोरी स्कूल पुगिन् कि पुगिनन् भन्ने चिन्ता र बेलुका छोरी समयमा फर्किन्छिन् कि फर्किनन् भन्ने पीरले उनीहरुलाई सताइरहन्थ्यो । छोरीको चाहना अगाडि आफ्नो संरक्षण गर्ने दायित्व र जिम्मेवारीलाई दबाउनुपर्ने वाध्यता उनीहरुले खेपिरहेका थिए ।

छोरी एक्लै स्कूल जान थाले पनि उषा र उत्तम चनाखो बनेर छोरी आउने जाने समयको मिनेट-मिनेट हिसाब गर्थे । छोरी फर्किएपछि मात्र उनीहरुको अनुहार चम्किलो देखिन्थ्यो ।

एकान्त बाटो हिँड्नु हुँदैन । बाटोमा कसैसँग बोल्नु हुदैन । उनीहरुले माया गरेझै गरेर दिएको चिज लिनु हुँदैन । उत्तमले छोरीलाई कण्ठ बनाएका थिए ।

‘किन ड्याडी, हामी बाटोमा हिँड्दा पनि डराएर हिँड्नु पर्ने ?’ छोरीको जिज्ञाशा हुन्थ्यो ।

‘एक्लै भएको वेलामा बोल्न र माया गर्न खोज्नेहरु सबै ‘ब्याडम्यान’ हुन् । फकाएर लैजान्छन् । पेट चिरेर कलेजो, मृगौला निकाल्छन् र बेच्छन् । हाम्रो इज्जत लिलाम गर्छन् । जिस्काए भने पनि वास्ता गर्नु हुँदैन ।’ उत्तमको कुरा सुनेर छोरी तर्सिन्थिन् ।

‘लोग्नेमान्छेहरु नि नानी, केही न केही निहुँमा छोरी मान्छेको शरीर छुन खोज्दछन्, एकोहोरो हेर्छन् । बसमा चढ्दा, भिडमा हिँड्दा, एक्लै हिँड्दा, घर, स्कूल र अफिसमा रहँदा हामी चनाखो बन्नुपर्छ । कसैले एक्लै भएका बेलामा पछ्याएजस्तो लाग्यो भने कि पसलभित्र छिर्नु, कि कसैको घरछेउ जानुपर्छ ।’ उषा छोरीलाई रटाइरहन्थिन् ।

‘मम्मी ! माई बडी, माई राईट । म त छुन खोज्ने सर अनि केटा साथीहरुसँग रिसाइदिन्छु ।’ छोरीले आफ्नो अनुभव सुनाइन् ।
‘हो त्यसै गर्नुपर्छ छोरी ।’ उत्तमले थपे ।

‘केटामान्छेहरु सबैलाई सानै उमेरदेखि केटी मान्छेहरुलाई रेस्पेक्ट गर्न सिकाए त हामीलाई जथाभावी जिस्काउथेनन् नि हकी मम्मी Û’ छोरीले गम्भीर तर्क राखिन्

‘सबैको घरमा छोरीबहिनी छन् । आफ्ना छोराहरुलाई सानै उमेरदेखि सभ्य हुन सिकाउनु हरेक बाबुआमाको कर्तव्य नै हो । तर खोई कसले बुझेका छन् ? घटना भैसकेपछि पछुताएर के गर्ने ?’ उषाले दिक्दारी प्रकट गरिन् ।

‘केटीहरुमाथि नराम्रो व्यवहार गर्नेलाई सरकारले पनि गर्नु पर्ने होइन र ड्याडी ?’ छोरी जिज्ञाशा राख्दथिन् ।

‘हो नि । सरकारले बदमासी गर्नेलाई कडा सजायँ दिनुपर्छ ।’ उत्तम छोरीको जिज्ञाशामा सही थाप्ने गर्थे ।

अध्याँरो बाक्लिँदै गयो । आकाश बादलिँदै गयो । हावा चल्यो । गडयाङ गुडुङ गर्दै पानी छिट्याउन थाल्यो । अध्याँरो बढदै जाँदा शंका-उपशंका र डरको पारो पनि चढ्दै गइरहेको थियो । छोरी भने अझै फर्केकी थिइनन् । उषा-उत्तम छटपटाइरहे । बाहिर आँखा तानीतानी हेरिरहे । फोन गर्ने कोसिस गर्दै रहे ।

राति भै सक्यो, दुबै दम्पती एकै पीडामा पिल्सिरहे ।

‘मम्मी !’

छोरीको आबाज सुनेर उषा उत्तम दौडेर ढोकामा पुगे । छोरीलाई देखेर दुवैले लामो सास फेरे ।

‘किन ढीला भयो छोरी ?’ उषा उत्तमले एकसाथ प्रश्न गरे ।

‘पहिले त प्रोग्राम नै ढीला सुरु भयो । ढिलो हिँडेको, बस जाममा पर्‍यो । फोन गर्छु भनेको मोवाइल अफ रहेछ । राति चार्ज गर्न बिर्सेंछु । फोटो खिच्दा खिच्दैमा ब्याट्री सकिएछ । ताराको त मोवाईल नै हरायो, गार्डेनमा खेल्दा । अरु साथीहरु बसको पछाडि बसेका थिए । भीड भएकाले पछाडि जानै सकिनँ । केटाहरुसँग मोवाइल मागेर फोन गर्न मन लागेन । हजुरहरुले केटा मान्छेहरु सबै खराब हुन्छन् पनि भन्नुहुन्थ्यो ।’ छोरीले एकसासमा भनिन् ।

उषा र उत्तम छोरी सकुशल फर्केकोमा प्रशन्न भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment