Comments Add Comment

कांग्रेसको आर्थिक नीति: ६५ वर्षपछि बृद्धभत्ता, कम्तिमा एक गिलास दूध

१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीको समग्र आर्थिक नीति सम्बन्धी प्रस्ताव प्रस्तुत भएको छ ।

समिति संयोजक डा. प्रकाशशरण महतले बुधबार केन्द्रीय समितिमा पार्टीको प्रस्तावित आर्थिक नीति पेस गरेका हुन् । गत भदौ ८ गते पार्टीका सह-महामन्त्री महतको संयोजकत्वमा १० सदस्यीय ‘समग्र आर्थिक नीति प्रस्ताव समिति’ गठन भएको थियो ।

पार्टीको आगामी आर्थिक नीति कस्तो हुने भन्ने सन्दर्भमा जिल्ला र प्रदेश तहमा, उद्योगी ब्यावसायी र भातृसंस्थाहरुसँग समेत छलफल गरी समग्र आर्थिक नीति सम्बन्धी प्रस्ताव तयार पारिएको संयोजक महतले जानकारी दिए ।

६५ वर्षपछि बृद्ध भत्ता, कम्तिमा एक-एक गिलास दूध

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकहरुलाई वृद्ध भत्ता दिने घोषणा गरेको थियो । कांग्रेसको प्रस्तावित नयाँ आर्थिक नीतिमा यो विषय उल्लेख गरिएको छ ।

जटिल प्रकारका रोगीहरुलाई उपचार भत्ता दिने नीति पनि अगाडि बढाउने, वर्षमा १२० दिनको रोजगारी सुनिश्चित गर्नुका साथै युवा उद्यमीहरुलाई सहुलियतपूर्ण ऋण दिने जस्ता विषयलाई पनि प्राथमिकतामा राखिएको छ ।

यसैगरी, सबैलाई कम्तिमा एक एक गिलास दूध भन्ने जस्ता नारा नै दिएर आर्थिक नीति प्रस्ताव गरिएको छ । ‘बी.पी. कोइरालाले भने जस्तै- ‘एक एक थोपा दूध हैन, कम्तिमा एक-एक गिलास दूध’ भन्ने अवधारणा अनुरुप उत्पादन वृद्धि र न्यायोचित वितरण लक्षित समुदाय एवं पछाडि परेका वर्ग र समूहमा पुर्‍याउने लक्ष्यतर्फ कांग्रेसको नीतिहरु उन्मुख हुनेछ ‘ महतले पत्रकारहरुसँग भने ।

यस्तै, स्वास्थ्य र शिक्षाको गुणस्तरीय विस्तारका लागि ‘सबैका लागि गुणस्तरीय स्वास्थ्य र सबैको लागि गुणस्तरीय शिक्षा’ को अवधारणालाई कार्यान्वयन गर्ने जस्ता विषय पनि कांग्रेसको प्रस्तावित अहार्थिक नीतिमा उल्लेख छ ।

सरकारी नीतिको आलोचना

केन्द्रीय समितिमा पेस भएको कांग्रेसको प्रस्तावित आर्थिक नीतिले उच्च उत्पादकत्वमा आधारित दिगो र फराकिलो आर्थिक वृद्धि भनेको छ ।
समतामुलक लोककल्याणकारी राज्य, रोजगारमुखी युवा केन्द्रित उद्यमशीलता, सार्थक वित्तीय संघीयता र सदाचारयुक्त आर्थिक सुशासनलाई प्रथमिकतामा राखेर आर्थिक नीति तय गरिएको संयोजक महतले बताए ।

तर संयोजक महतलले सरकारी आर्थिक नीतिको भने आलोचना गरेका छन् । ‘वर्तमान सरकारको आर्थिक नीति र क्रियाकलाप कानुनी प्रक्रियाहरुलाई लत्याउँदै नियन्त्रण, निषेध र संस्थागत भ्रष्टाचारको बाटोमा अघि बढेको छ,’ महतले भने, ‘लगानीकर्ताहरुले असुरक्षित महसुस गरी वैदेशिक लगानीमा ७५ प्रतिशत घटेको, आन्तरिक लगानी बढ्न नसकेको र पूँजी पलायनका संकेत देखिएका छन् ।’

संयोजक महतले बढ्दो व्यापार घाटा, अकासिंदो व्याजदर र उच्च करको मारबाट लगानी निरुत्साहित भएको उल्लेख गर्दै सरकारले भनेको समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य कागजमा सिमित रहने निश्चित रहेको जिकिर गरे ।

वर्तमान सरकारले प्रस्तुत गरेको स्वेत-पत्रले सत्य तथ्यलाई तोडमरोड गरेको आरोप लगाउँदै संयोजक महतले कांग्रेसले अब उच्च उत्पादकत्वमा आधारित दिगो र फराकिलो आर्थिक वृद्धिका लागि व्यापक स्वदेशी र विदेशी लगानी भित्र्याउने बताए । त्यसका लागि लगानी प्रक्रियालाई जिम्मेवारी सहितको विकेन्द्रीकृत एकद्वार प्रणाली लागू गर्ने र आयात प्रतिस्थापन गर्ने उद्योग व्यवसायहरु संरक्षण गर्ने नीति अख्तियार गरिने उनको भनाई छ ।

पेट्रोलियम पदार्थबाट चल्ने सवारी दर्तामा बन्देज

व्यापार घाटा कम गरी स्वदेशी जलविद्युतको उपभोग बढाउन २०३० बाट पेट्रोलियम पदार्थमा आधारित यातायातका साधनको प्रयोग पूर्ण अन्त्य गर्दै घरायसी प्रयोजनमा विद्युत उपभोग बढाउने नीति अख्तियार गर्ने कांग्रेसको प्रस्तावित आर्थिक नीतिमा उल्लेख गरिएको छ ।

उर्जा क्षेत्रमा स्वदेशी विदेशी लगानी आकर्षित गरी राष्ट्रिय आवश्यकता पूर्तिको साथै निर्यात बजारको विविधकरणबाट पाँच वर्षभित्र नेपालको सम्पूर्ण क्षेत्रमा विद्युतिकरण पूरा गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment