Comments Add Comment

राजस्थान चुनावः भाजपा दोहोरिएला कि कांग्रेस फर्केला ?

१९ मंसिर, काठमाडौं । भारतको राजस्थानमा नयाँ सरकार छान्ने चुनाव आउन निकै कम समय बाँकी छ । सत्तारुढ भाजपाले फेरि सत्तामा उनीहरु नै फर्किने दाबी गरेका छन् तर, कांग्रेसको नजरमा भने अब भाजपाको बिदाईको बेला आएको छ ।

राजनीतिका जानकारहरुका अनुसार राज्यमा व्यवस्थाविरोधी रुझान धेरै बलियो छ, जसले भाजपाको बाटो रोक्न सक्छ । चुनावी लडाईंमा दुई दलका केही बिद्रोही पनि मैदानमा छन् जसमध्ये चार मन्त्री पनि छन् ।

प्राचिनकालमा यो मरुभुमीयुक्त भूभागले धेरै युद्ध देखेको थियो तर, यो चुनावी युद्ध हो । निर्वाचनको युद्धमा दुई हजारभन्दा धेरै प्रत्यासी मैदानमा उत्रिएका छन् । राष्ट्रिय दलबाहेक यस्ता अनेक दल छन्, जसले आफ्ना उम्मेदवार खडा गरेर चुनावी परिदृश्यलाई रोचक बनाइदिएका छन् ।

स्वतन्त्र उम्मेदवार पनि धेरै छन् । भर्खरै बनेको राष्ट्रिय लोकतान्त्रिक पार्टी र भारत बाहिनी पार्टीले समझदारीमा १२३ उम्मेदवार खडा गरेका छन् । स्वतन्त्र विधायक हनुमान बेनीवालको यो नयाँ पार्टीले केही स्थानमा प्रतिस्पर्धालाई रोमाञ्चक बनाएको छ ।

जानकारहरु यी सबैको चुनावी परिणामबारे कुनै हिसाब लगाउन सकिरहेका छैनन् । बहुजन समाज पार्टीले पनि १९० भन्दा धेरै सिटमा आफ्ना उम्मेदवार उतारेको छ ।

सत्तामा आफ्नो पाँच वर्ष पुरा गरिसकेको भाजपा फेरि सरकार बनाउने दाउमा छ भने कांग्रेस आफ्नो बनवास अन्त्य गर्न चाहनामा डटेर लागेको छ । सुरुवाती चुनावी सर्वेक्षणहरुमा भाजपालाई आफ्नो प्रतिद्वन्द्वी कांग्रेसभन्दा धेरै पछाडि भएको बताइएको थियो ।
तर, अहिले चुनाव प्रचारपछि स्थिति बदलिएको छ भाजपाको । भाजपा प्रवक्ता जितेन्द्र श्रीमाली भन्छन्, ‘हामी जित्छौं ।’
तर कसरी ?
उनी भन्छन्, ‘कांग्रेसले राजनीतिक मुद्दालाई भड्काउने कोसिस गरिरहेको छ तर, पहिले हामीले गौरव यात्रा निकालेर जनता समक्ष सरकारको पाँच वर्षे कामकाजको लेखाजोखा पेश गरेका छौं । त्यसपछि हामीले फेरि लाभार्थी सम्मेलन गर्यौं र आफ्नो सबै उपलब्धीहरुको बारेमा जानकारी दियौं । त्यसैले जनताहरुले फेरि भाजपालाई सत्ता सुम्पन गइरहेका छन् ।’

माहौल बनाउने प्रयास

चुनाव प्रचारप्रसारमा एकातर्फ प्रधानमन्त्री नरेन्द्र मोदी थिए भने अर्कोतर्फ कांग्रेस अध्यक्ष राहुल गान्धी । प्रचारमा कुनै कमी नहोस भनेर दुवै दलका देशभरबाट आएका नेताहरुले ठाउँठाउँमा आमसभाहरु गरे, रोड शोहरु गरे र आफ्नो पक्षमा माहौल बनाउने प्रयास गरे ।

यसमा नेता त सहभागी भए नै केही फिल्मी कलाकारहरु पनि सहभागी थिए । कांग्रेस प्रवक्ता सत्येन्द्र राघव भन्छन्, ‘हामीलाई जुन प्रतिक्रिया प्राप्त भएको छ त्यसले कांग्रेसले भारी बहुमतको साथमा सरकार बनाउने बताउँछ ।’

‘भाजपाले मिडियाको माध्यमबाट अब स्थिती परिवर्तन भएको भन्दै आफ्नो प्रचार गर्न खोजिरहेको छ । तर, धरातलमा यस्तो केही पनि

परिवर्तन भएको छैन,’ उनले थपे ।

जोडतोडको प्रतिस्पर्धा र विद्रोह

राजस्थानको यो चुनावी युद्धमा भाजपा सरकारका चार मन्त्री पार्टीमा विद्रोह गरेर चुनावी मैदानमा होमिएका छन् । भाजपाका अर्का एक संसदिय सचिव र एक विधायक पनि विद्रोह गरेर चुनाव लड्दै छन् ।

कांग्रेसका केही पूर्वमन्त्री र विधायक पनि टिकट नपाएपछि बागी भएका छन् र पार्टीका आधिकारिक प्रत्यासीलाई चुनौती दिइरहेका छन् । तर, जानकारहरुको नजर विधायक बेनीवालको पार्टीतिर पनि गएको छ ।

बेनीवाल प्रभावशाली जाट समुदायका हुन् । उनको पार्टीले पचासभन्दा धेरै उम्मेदवार मैदानमा उतारेको छ । बेनीवालको पार्टीका प्रत्याशीहरुले चुनावी परिणाममा कस्तो असर पार्नेछन् भनेर आँकलन गर्न कठिन भएको छ ।

राजस्थानको चुनावलाई नजिकबाट नियालिरहेका वरिष्ठ पत्रका सन्जय बोहरा भन्छन्, ‘जहाँ पनि चुनावमा रोजगार एक प्रमुख मुद्दा हुन्छ । यहाँ किसानहरु रिसाएका छन् र दलितहरु पनि दुःखी छन् । बेरोजगार, किसान र दलित यी तीन वर्गको आक्रोश सत्तारुढ पार्टीको लागि भारी पर्न सक्छ ।’

‘यो आक्रोश राज्य सरकार विरुद्ध मात्रै होइन केन्द्र सरकार विरुद्ध पनि हो मानिसहरु रोजगारी, जीएसटी र नोटबन्दीलाई लिएर केन्द्र सरकारसँग क्रुुद्ध छन् ।’

बोहरा भन्छन्, ‘हुन त मानिसहरु कांग्रेसप्रति पनि त्यति उत्साहित छैनन्, भाजपा सरकारसँग दुःखी भएकाले मात्रै कांग्रेसलाई ल्याउन चाहन्छन् ।’

पाथेय कण पत्रिकाका सम्पादक केएल चतुर्वेदी भने यस कुरासँग सहमत छैनन् । उनी भन्छन्, ‘भाजपा फेरि पनि सरकारमा फर्किने छ किनभने सरकारले धेरै काम गरेको छ । जनतालाई पनि थाहा छ कि भाजपालाई जिताउनु राष्ट्रको हितमा छ ।’

के व्यवस्था विरोधी रुझानले चुनावी परिणाममा फरक पर्दैन ?

व्यवस्था विरोधी लहर हरेक सरकार विरुद्धमा हुन्छ । पहिले कांग्रेस सरकार विरुद्धमा पनि थियो र पनि उ सफल हुँदै गयो । मध्य प्रदेश र छत्तिसगढमा भाजपाले जितिरहृयो यहाँ पनि भाजपाले नै जित्नेछ ।

परिवर्तन हुँदै गएको मुद्दा

जीतको सपना देखिरहेका यी दुवै पार्टीहरुका नेताहरुले सुरुमा विकासलाई प्रमुख मुद्दा बनाएका थिए । तर, हेर्दाहेर्दै यसमा मन्दिर, जाती र धार्मिक आस्था आएका छन् र यो कुरा गोत्रसम्ममा पनि पुगिसकेको छ ।

भाजपाले मुख्यमन्त्री बसुन्धरा राजे र प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘विकासको डबल इन्जिन’ को रुपमा प्रचार गरेको छ ।

तर के यसले माहौल परिवर्तन हुन्छ ?

जयपुरका वरिष्ठ पत्रकार राजीव जैन भन्छन्, ‘मलाई लाग्दैन कि यथार्थमा केही परिवर्तन भएको छ । यो आफ्ना कार्यकर्ताहरुमा जोश भर्ने भाजपाको शैली हुन सक्छ तर, धरातलमा सरकारको कार्यशैली धेरै निराशाजनक छ ।’

चुनाव त्यो घडी हो जब राजनीतिक पार्टीहरुले हरेक मतदाताको आँखामा सुनौला सपनाहरु सजाइदिन्छन् । विभिन्न वाचा गर्छन्, दाबी गर्छन् । तर, अब मतदाताको औंलाले नै उनीहरुलाई मेसिनमा लगाईएको कुन पार्टीको चिन्ह मनपरेको छ तय गर्नेछ ।

बिबिसी हिन्दीबाट अनुदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment