Comments Add Comment

निर्मलालाई न्याय माग्दा प्रहरीको ज्यादती, युवकको खुट्टा गुम्यो

२० मंसिर, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित अधिकांश दैनिक पत्रिकाहरु कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तमाथि केन्द्रित भएका छन् । त्यस्तै, एसिया समिट र विवादमा तानिएकी अस्ट्रेलियाकी राजदूत लक्की शेर्पाबारे पनि आजका पत्रिकाहरुले समाचार लेखेका छन् ।

नयाँ पत्रिकाले निर्मला पन्तलाई न्याय माग्दै गरिएका प्रदर्शनका क्रममा भएका ज्यादतीमाथि मुख्य समाचार लेखेको छ । समाचार अनुसार, आन्दोलनमा सहभागी कञ्चनपुरका २० वर्षीय अर्जुन भण्डाराको खुट्टा गुमेको छ । यति मात्रै होइन, प्लस टू सकेर इन्जिनियरिङको तयारी गरिरहेका उनी ४ महिनादेखि अर्धचेत छन् ।

प्रहरी ज्यादती यतिमै सकिन्न । भीमदत्तनगर–१८ जानकीटोलका चेतन भट्टको वायाँ हातमा लागेको गोली झिकिए पनि छर्रा बाँकी रहेको नयाँ पत्रिकाको समाचारमा उल्लेख छ । यही छर्राका कारण ८ कक्षामा अध्ययनरत १४ वर्षीय भट्ट विद्यालय जान सकेका छैनन् ।

‘निर्मलालाई न्याय माग्दा कैयन घाइते भएका छन् । गम्भीर घाइते अरु तीनको स्वास्थ्यमा पनि अझै पूर्ण सुधार भएको छैन’, नयाँ पत्रिकाले समाचारमा लेखेको छ ।

बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका प्रहरीको पछिल्लो अनुसन्धानले देखाएको अर्को खबर पनि नयाँ पत्रिकाले यसैसँग जोडेर लेखेको छ । नयाँ पत्रिकाका अनुसार, यही आशंकामा काठमाडौंमा १ र महेन्द्रनगरमा ३ जना पक्राउ परेका छन् ।

नागरिक दैनिकले निर्मला पन्त हत्या तथा बलात्कारबारे छानबिन गर्न गृह मन्त्रालयले विशेषज्ञ टोली गठनको तयारी गरेको लेखेको छ । प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान व्युरोलाई घटनाको अनुसन्धान गर्ने जिम्मेवारी दिइरहेकै बेला अनुसन्धानमा दक्ष रहेका प्रहरी सहभागी गराइ विशेषज्ञ टोली गठन गर्ने तयारी गरेको नागरिकको समाचारमा उल्लेख छ ।

केन्द्र सरकारले प्रदेशबाट आयोजना तान्न लागेको समाचारलाई पनि नागरिकले आज प्राथमिकताका साथ समेटेको छ । लुटिएको एटीएम कार्डले हिरासत पुर्याएको घटनालाई नागरिकले एंकर समाचार बनाएर छापेको छ ।

विवादास्पद एसिया प्यासिफिक समिट सकियो तर चर्चा सकिएको छैन । कान्तिपुरले आज यसैको चर्चा गर्दै लेखेको छ– एसिया प्यासिफिक समिट गर्न युनिभर्सल पिस फेडेरेसनले वर्षौंअघि देखि प्रयत्न गरेको पाइएको छ ।

यही प्रयोजनका लागि राष्ट्रपति, सबै दलका नेता, प्रधानमन्त्री, मन्त्री, सांसद् तथा उच्च ओहोदाका सरकारी अधिकारीहरुलाई विदेश घुमाउनुका साथै सम्मान र पुरस्कारको नाममा पैसा दिइएको कान्तिपुरको दाबी छ ।

कान्तिपुर लेख्छ– फेडेरेसनको नेपाल शाखाले राष्ट्रपति विद्यादेवी भण्डारीलगायत ४ हजारभन्दा बढीलाई शान्तिदूत भन्दै सम्मान गरिसकेको छ ।’

समाचार अनुसार, साना–ठूला सबै दलका नेतालाई यो संस्थाले विदेश घुमाएको छ । यो संस्थाबाट धेरै विदेश भ्रमणको मौका पाउने भाग्यमानीमा माधव नेपाल दरिएका छन् । उनी युरोप, अमेरिका मात्रै होइन, उत्तर कोरियासमेत जान भ्याए ।

अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि सरकारले छानबिन सुरु गरेको अन्नपूर्णले लेखेको छ ।

‘विवादित राजदूत शेर्पामाथि छानबिन’ शीर्षक दिएर अन्नपूर्णले मानव तस्करी गरेको गम्भीर आरोपमा परराष्ट्रले छानबिन थालेको जनाएको छ । तर, यही समाचारमा राजदूत शेर्पाले मुलुकलाई आँच आउने कुनै पनि काम आफूले नगरेको दाबी गरेकी छन् ।

प्रधानन्यायाधीश बन्न लबिङ सुरु भएको समाचार पनि अन्नपूर्णको पहिलो पृष्ठमा छापिएको छ । प्रधानन्यायाधीशका लागि छनोट भएका सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशी र चोलेन्द्रशमशेर राणा त्यस्तो लबिङमा लागेको समाचारको सार छ ।

राजधानीमा जनप्रतिनिधिको गाडीमोहबारे मुख्य समाचार लेखेको छ भने गोरखापत्रमा राजदूतको सुनुवाइ आइतबार हुने खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment