Comments Add Comment

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजो सम्बन्धी रोगको उपचार सहज

२० मंसिर, धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजो सम्बन्धी रोगको उपचार सहज रुपमा हुने भएको छ ।

स्वीटजरल्याण्डको जेनेभा युनिभर्सिटी हस्पिटलले कलेजो परीक्षणका लागि अति आवश्यक पर्ने उपकरण फाइब्रोस्क्यान मेशिन प्रतिष्ठानलाई उपलब्ध गराएपछि कलेजोको उपचार सहज हुने भएको हो ।

प्रतिष्ठानले पत्रकार सम्मेलनको आयोजना गरी यो कुरा बताएको हो ।

अस्पतालका अनुसार यस उपकरणद्धारा विना वायोप्सी सबै प्रकारका हेपाटाइटिस र अल्कोहोलिक विरामीहरुको कलेजोमा भएको संक्रमणबारे सहजै परीक्षण गर्न सकिन्छ । पहिले अल्ट्रासाउण्ड गरेर वायोप्सी गरेपछि मात्र कलेजोको अनुमानित अवस्थाका आधारमा उपचार हुने गर्दथ्यो ।

तर यो उपकरण प्रयोगमा आए पश्चात्त कलेजोको वास्ताविक अवस्था अर्थात फाब्रोसिस कति छ वा कलेजो कति कडा भएको छ भन्नेबारे यकिन गर्न सकिनेछ ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियारले कलेजोको उपचारमा यो महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । प्रतिष्ठान आफैले यो उपकरण खरिद गर्न लागेको अवस्थामा जेनेभा युनिभर्सिटी अस्पतालले सहयोग गरेपछि प्रतिष्ठानको करिव २ करोड बचत भएको उनले बताए ।

प्रतिष्ठानको ग्यास्ट्रोइन्टेरोलोजी एण्ड हेपाटोलोजी डिभिजनका प्रमुख डा. विक्रम प्रधानले हेपाटाइटिस बी र सी तथा मदिराका सेवनका कारण कलेजोमा घाउँ हुने, वोसो जम्ने तथा फाइब्रोसिसको समस्या भएका विरामीहरुको उपचार अत्यन्तै सहज हुन गएको बताए । ‘अब कलेजो कुन अवस्थामा छ भन्नेसमेत स्पष्ट थाहा पाउन सक्ने भएकाले उपचार प्रभावकारी हुनेछ’, उनले बताए ।

जेनेभावाट प्रतिष्ठान आएका डा. लउरेन्ट स्फरले सुन्दर देश नेपालको महत्वपूर्ण शैक्षिक संस्थासंग सहकार्य गर्न पाउंदा अत्यन्त खुशी लागेको बताउँंदै बिरामीहरुलाई यसबाट धेरै फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

कलेजो फुटेर रक्तस्राव भएको, एसिड खाएर खुम्चेको अन्ननली तथा मलद्धारको समेत सफल उपचार भईरहेको र विगतमा जोखिमपूर्ण तरिकाले छाती तथा पेटवाट कलेजोको नमुना झिक्ने गरेकोमा अब विना जोखिम घांटीको नसावाट झिक्न थालिएको समेत सम्मेलनमा जानकारी गरायो ।

सम्मेलनमा सहायक अस्पताल निर्देशक डा. विकास साह, मेडिसिन विभागका डा. डेनिस पियुस, अस्पताल प्रशासनका सुपरभाइजर प्रकाश श्रेष्ठ, सुचना अधिकृत सुजेन्द्र तामाङ, नर्सिङ कर्मचारी समृद्धि राईलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment