Comments Add Comment

आइरिनको सहयोगमा सिद्धेश्वर माविमा पुस्तकालय

२० मंसिर, काठमाडौं। नेपाल अन्तर्राष्ट्रिय शिक्षा प्रवर्द्धक प्रतिनिधि समूह (आइरिन)ले स्थापनाको पाँचौ वर्षको अवसरमा बानेश्वरमा रहेको सिद्धेश्वर माविमा पुस्तकालय निर्माण गरेको छ । नवनिर्मित पुस्तकालयको बुधबार उद्घाटन गरियो ।

पुस्तकालय उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा संघीय सांसद प्रकाशमान सिंहले आइरिनले लिएको उद्देश्यको खुलेर प्रशंसा गरे । उनले अहिले विद्यालयका नानीबाबुलाई अध्ययन गर्न वातावरण बनाउनु महत्वपूर्ण भएको र यो अभियानमा आइरिनले सहयोग गरेकाले समुन्नत समाज निर्माणको परिकल्पना हुने विश्वास व्यक्त गरे ।

‘अहिले हाम्रा नानीहरुलाई पढाउनुपर्छ, निजी क्षेत्रले पनि यसमा ध्यान दिएकाले भोलिको हाम्रो समाज अध्ययनशील र समुन्नत हुने विश्वास लिन सकिन्छ,’ सिंहले भने, ‘विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई अध्ययन सहज होस् भन्न हामीले यस्ता कार्यक्रमहरुलाई प्रोत्साहन गर्नुपर्छ ।’

कार्यक्रममा आइरिनका निवर्तमान अध्यक्ष प्रेम पाण्डेले आफूहरु विद्यार्थी नानीहरुलाई पढाउन यस्ता सहयोग वर्षेनी गर्ने प्रतिबद्धता जनाए । उनले विद्यालयमा पुस्तकालय स्थापना गरेर विद्यार्थीहरुलाई पढ्न वातावरण निर्माण गर्न सहयोग गर्ने संस्थाका सबै प्रतिनिधिलाई धन्यवाद पनि दिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रभाकरले आइरिनले आफ्नो विद्यालयमा पुस्तकालय स्थापना गरेर विद्यालयलाई थप गुणस्तरीयतामा लाग्न सहयोग गरेको भन्दै विद्यार्थीहरुमा नियमित अध्ययन गर्ने बानी विकास गर्ने प्रतिबद्धता जनाए ।

उनले आइरिनलबाट पुस्तकालयका लागि आएका पुस्तकहरु विद्यालयका शिक्षक र विद्यार्थी दुवैका लागि उपयोगी हुने बताए ।

आइरिनले पढौं र पढाऔं भन्ने उद्देश्यका साथ वर्षेनी कम्तिमा पनि एउटा सामुदायिक विद्यालयमा पुस्तकालय स्थापना गर्ने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment