Comments Add Comment

प्रधानमन्त्रीको बचाऊ गर्दै सञ्चारमन्त्रीले भने- सेक्स र्‍याकेट चलाएको भनेर पनि लेखियो !

२० मंसिर, काठमाडौं । विवादास्पद एसिया प्यासिफिक समिट र निर्मला पन्त प्रकरणमा लगातार आलोचना खेपिरहेका प्रधानमन्त्री केपी ओलीलाई सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले बचाऊ गरेका छन् ।

केही मिडियाले मिसन नै बनाएर सरकारलाई खेद्नका लागि तथ्यहरु तोडमोड गरिरहेको आरोप लगाउँदै मन्त्री गोकुल बास्कोटाले विहीबारको नियमित पत्रकार सम्मेलनमा पत्रकारमाथि नै प्रश्न गरे- के मिडियाचाहिँ जवाफदेही बन्नुपर्दैन ?

सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले स्वतन्त्र सञ्चारमाध्यमप्रति सरकारको कुनै पूर्वाग्रह नरहेको दाबीसमेत गरे । तर, केही सञ्चारमाध्यम सरकारविरुद्ध मिसन बनाएर लाग्दा भविश्यमा उनीहरुकै विश्वसनीयतामाथि जनताले प्रश्न गर्ने उनले बताए ।

मन्त्री बास्कोटाले भने- ‘हामी भक्तमान प्रकरण पनि सम्झौं, दिलशोभा काण्ड पनि सम्झौं । भक्तमान श्रेष्ठलाई अपहरण गर्ने अहिलेका गृहमन्त्री हुन् भनेर लेखिएकै हो नि । तर, अनुसन्धानबाट उनको अपहरण फिरौतीका लागि रहेछ भन्ने देखियो । दिलशोभा श्रेष्ठमाथि ‘सेक्स र्‍याकेट’ चलाएको भनेर पनि लेखियो । के त्यो मिडियाले कुरा प्रमाणित गर्न सक्यो ? मिडियालेचाहिँ जवाफदेहिता लिनुपर्दैन ?’

युनिभर्सल पिस फेडरेशनका यस्तैखाले सम्मेलनमा यसअघि तत्कालीन प्रधानमन्त्रीहरु कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाहरु पनि सहभागी भएको बताउँदै मन्त्री बास्कोटाले यसपटक केही मिडियाले पूर्वाग्रह साँधेर प्रधानमन्त्री र सरकारको खेदो खनेको आरोप लगाए ।

उनले केही मिडियाले विगतका फोटो छाप्ने क्रममा पनि कम्युनिस्ट नेताहरुका मात्रै छानीछानी ल्याएको आरोपसमेत लगाए । बास्कोटाले भने- त्यही सम्मेलनमा कांग्रेसका नेता प्रदीप गिरी, सुजाता कोइरालाहरु पनि हुनुहुन्थ्यो । तर, मिडियाले देखेन ।’

एसिया प्यासिफिक समिटमा सरकारको सहभागिताको बचाऊ गर्दै मन्त्री बास्कोटाले भने-‘हिजो कुनै पार्टीका नेता वा प्रधानमन्त्री सहभागी हुँदा त्यही सम्मेलन पवित्र हुने, त्यही अवार्ड थाप्दा गिरिजाप्रसाद शान्तिदूत हुने, अनि आज त्यही अवार्ड केपी ओलीले थाप्दा अपवित्र हुने ? केपी ओली अपराधी हुने ? हाम्रा मिडियाले स्थापना गर्न खोजेको भाष्य यही हो ?’

करीव तीन दशक सक्रिय पत्रकारिता गरेका र पत्रकार महासंघको केन्द्रीय नेतृत्वमा समेत रहिसकेका मन्त्री बास्कोटाले आमसञ्चार क्षेत्र पनि जनताप्रति जवाफदेही हुनुपर्ने दोहोर्‍याए । आफूले बोल्दै नबोलेको कुरा केही मिडियाले अतिरञ्जित गरेको भन्दै यसो गर्दा तत्काल अरुलाई पीडा दिएर आनन्द आए पनि भविश्यमा विश्वसनीयता खस्किने उनले बताए ।

प्रधानमन्त्री ओलीले एसिया प्यासिफिक सम्मेलनमा बुद्ध धर्मका बारेमा लामो प्रवचन दिएको र ऋषिमुनीहरुको प्रसंग ल्याउँदै आफ्नो परम्परा नछाड्ने भनेको सन्दर्भ कतिपय मिडियाले लुकाएर अमूक धर्मप्रति घृणा फैलाउन खोजेको आरोपसमेत बास्कोटाले लगाए ।

पटक-पटक दिलशोभा र भक्तमान प्रकरणको सन्दर्भ कोट्याउँदै मन्त्री बास्कोटाले भविश्यमा आफैंलाई लज्जित बनाउने गरी मिसन पत्रकारिता नगर्न चेतावनीसमेत दिए ।

एसिया प्यासिफिक समिटको बचाउमा तर्क गरे पनि मन्त्री बास्कोटा स्वयंले चाँहि यो सम्मेलनमा सहभागिता नजनाई अघोषित रुपमा बहिस्कार गरेका थिए ।

‘प्रधानमन्त्रीले थला पार्छु भनेको होइन’

प्रधानमन्त्री केपी ओलीले टेलिभिजन कार्यक्रममा आफूले जवाफ दिएमा बुद्धिजीवीहरु थला पर्ने भनी दिएको अभिव्यक्तिको पनि मन्त्री बास्कोटाले बचाउ गरे । उनले प्रधानमन्त्रीले बुद्धिजीवीलाई थला पार्ने नभनेको बताए ।

उनले भने- ‘प्रधानमन्त्रीज्यूले थला पार्छु भनेको होइन, तथ्यमा उभिएर बहस गरौं भन्नुभएको हो । हामी सबैले तथ्यमा उभिएर तर्क गरौं । मन परेन भन्दैमा जे पायो त्यही आरोप लगाउने, अनि जवाफदेही त सरकारमात्रै हुनुपर्ने भन्ने त नहोला नि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment